October 14, 2026, Wednesday
२०८३ आश्विन २९

सामुदायिक विद्यालयको पूर्वाधारमा साढे ६ अर्ब खर्च गर्दै सरकार, १०९ विद्यालय छनोट

काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ।

विद्यार्थीको उच्च चाप रहेका ती विद्यालयमा आधुनिक भवन निर्माण तथा आवश्यक पूर्वाधार विस्तारका लागि सरकारले बजेट छुट्याएको हो। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

निकासा भएको रकमबाट प्रत्येक विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ। प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएको भवनमा कक्षाकोठासँगै प्रयोगशाला र पुस्तकालयसमेत निर्माण गरिने मन्त्रालयले जनाएको छ।

मन्त्री पोखरेलले विद्यार्थीको चाप बढिरहेका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। उनका अनुसार केही सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढिरहेको छ भने केही विद्यालय भने विद्यार्थी अभावको समस्याबाट गुज्रिरहेका छन्।

‘कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ,’ पोखरेलले भनेका छन्, ‘विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ।’

उनले आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधार गर्दै विद्यालयबीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकासका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।