वर्षाले कांग्रेस महाधिवेशनको बन्दसत्र प्रभावित, दिउँसो ४ बजेसम्म सर्यो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारदेखि जारी बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ। महाधिवेशन प्रतिनिधिहरू बन्दसत्रस्थल पुग्ने बाटो जलमग्न भएपछि आजको बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि सारिएको छ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य एवं नीति प्रशिक्षण तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यका अनुसार वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू तितरबितर भएकाले बन्दसत्रको समय सारिएको हो।
बन्दसत्रमा महाधिवेशनका क्रममा प्रस्तुत चारवटा प्रतिवेदनमाथि छलफल भइरहेको छ। सभापति गगन थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव’, उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
ती प्रतिवेदनमाथि सोमबारदेखि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन्। आज सभापति थापाले सम्बोधन गरेपछि प्रतिवेदन पारित गर्ने कार्यसूची छ। त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाउने र बिहीबार हुने मतदानको तयारी गर्ने कांग्रेसको कार्यतालिका छ।
१९ पदाधिकारीका लागि ७९ उम्मेदवार
कांग्रेसको विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी रहने व्यवस्था छ। त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने भएकाले निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन्। निर्वाचन समितिका अनुसार ती १९ पदका लागि ७९ जनाको उम्मेदवारी परेको छ।
सभापति पदमा गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी उम्मेदवार छन्।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। महिला उपसभापति पदमा पनि पुष्पा भुसालको मात्र उम्मेदवारी परेको छ।
खुला उपसभापतिका दुई पदका लागि गोविन्द भट्टराई, डा. चन्द्रकान्त भण्डारी, प्रा. डा. चन्द्रमोहन यादव, दीपक गिरी, देवराज चालिसे, धनराज गुरुङ, मधु आचार्य, डा. मिनेन्द्रप्रसाद रिजाल र सुरेन्द्रराज पाण्डे उम्मेदवार छन्।
समावेशी उपसभापति पदमा जीवन परियार, फरमुल्लाह मन्सुर, विनोदकुमार चौधरी, रञ्जित कर्ण र सीता गुरुङको उम्मेदवारी परेको छ।
महामन्त्रीमा १० जना
तीन महामन्त्री पदमध्ये दुई खुला र एक महिला महामन्त्री पदका लागि उम्मेदवारी परेको छ।
खुला महामन्त्रीका लागि अमरसिंह पुन, उदयशम्शेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्याय उम्मेदवार छन्।
महिला महामन्त्री पदमा डा. डिला सङ्ग्रौला पन्त, महालक्ष्मी उपाध्याय (डिना) र रीता खनालको उम्मेदवारी परेको छ।
सहमहामन्त्रीमा विभिन्न क्लस्टरमा प्रतिस्पर्धा
सहमहामन्त्रीका विभिन्न क्लस्टरमा पनि उम्मेदवारी परेको छ। महिला सहमहामन्त्रीका लागि नानु बाँस्तोला र प्रतिमा गौतम उम्मेदवार छन्।
खुला सहमहामन्त्रीका दुई पदका लागि अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्र कँडेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुङ्गाना उम्मेदवार छन्।
आदिवासी जनजातितर्फ ओमबहादुर घर्तीमगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमान सिंह मास्के र बहादुरसिंह लामा तथा दलिततर्फ नरेन्द्र पासवान, प्रकाश रसाइली स्नेही, मानबहादुर नेपाली र लक्ष्मी परियार उम्मेदवार छन्।
मधेसीतर्फ अजयकुमार चौरासिया, अभिषेकप्रताप शाह, किरण यादव, नागिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ताकुमारी यादव र रामपल्टन शाहको उम्मेदवारी परेको छ।
खस–आर्यतर्फ जगदीश्वरनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत तथा थारूतर्फ तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी उम्मेदवार छन्। मुस्लिमतर्फ अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. फिरदोस आलमले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमा दाबी–विरोधका लागि आज बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकेको थियो। त्यसपछि उम्मेदवारको अन्तिम नामावली र निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ।
कांग्रेसले यसपटक बन्दसत्र सबैका लागि खुला गरेको छ। १८ असोजदेखि सुरु भएको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार मतदान गर्ने कार्यतालिका छ।



प्रतिकृया दिनुहोस्