कांग्रेस महाधिवेशन : आज गगन थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै, निर्वाचन प्रक्रिया अघि बढ्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज सोमबारदेखि बन्दसत्र तथा केन्द्रीय कार्यसमिति निर्वाचन प्रक्रिया अघि बढ्दैछ। आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएपछि आजदेखि बन्दसत्र र निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुन लागेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान १० बजे केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ। बैठक सकिएलगत्तै बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा सभापति गगनकुमार थापाले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोणसहित कांग्रेसको आगामी वैचारिक, राजनीतिक, संगठनात्मक तथा राष्ट्रिय कार्यदिशा प्रस्तुत गर्ने तयारी गरेका छन्। प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक यात्राको समीक्षा, वर्तमान राष्ट्रिय परिवेश, पार्टीको पहिचान र राष्ट्रिय दायित्व, वैचारिक नवीकरण तथा ‘समुन्नत नेपाल’ निर्माणको अवधारणा समेटिएको छ।

प्रतिवेदनमा पछिल्ला दुई दशकको राजनीतिक अभ्यास, निर्वाचनमा भएका पराजय, सत्ता–केन्द्रित राजनीतिक अभ्यास तथा संगठनात्मक कमजोरीबारे आत्मसमीक्षा गरिएको छ। युवा पुस्तासँग पार्टीको बढ्दो दूरी, बदलिँदो सामाजिक मनोविज्ञान, पुस्ताबीचको अन्तर, अर्थतन्त्र, बसाइँसराइ तथा विश्वमा भइरहेको तीव्र परिवर्तनलाई पनि वर्तमान चुनौतीका रूपमा प्रस्तुत गरिएको छ।

थापाले लोकतन्त्रप्रतिको आलोचना विस्तारै लोकतन्त्रकै अस्वीकारतर्फ जान सक्ने जोखिम तथा लोकरिझ्याइँले जनअसन्तोषलाई गलत राजनीतिक निष्कर्षतर्फ लैजान सक्ने अवस्थाप्रति पनि सचेत गराएका छन्। यस्तो अवस्थामा कांग्रेसले लोकतन्त्रको पक्षमा आफ्नो ऐतिहासिक तथा समकालीन दायित्व स्पष्ट रूपमा निर्वाह गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने दल नभई निर्वाचनबीच पनि समाजमा निरन्तर उपस्थित रहने राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरेको छ। जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै नागरिकका गुनासा सुन्ने, प्रमाणमा आधारित निष्कर्ष निकाल्ने र समाधान प्रस्तुत गर्ने राजनीतिक पद्धति विकास गर्नुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ।

त्यस्तै, राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई २१औँ शताब्दीको बदलिँदो परिवेशअनुकूल पुनर्व्याख्या गर्दै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासँग जोडिएको छ। राष्ट्रियतालाई स्वाधीनता र सामूहिक स्वशासन, लोकतन्त्रलाई सार्वजनिक शक्तिमाथि नागरिकको स्वामित्व तथा लोकतान्त्रिक समाजवादलाई राजनीतिकसँगै सामाजिक–आर्थिक स्वतन्त्रतासँग जोडेर व्याख्या गरिएको छ।

संगठनात्मक सुधारतर्फ सदस्यता, नागरिक सहभागिता, आन्तरिक लोकतन्त्र, पुस्तागत परिवर्तन, समावेशिता तथा नेतृत्व निर्माणलाई प्राथमिकतामा राखिएको छ। जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड, पार्टीको वित्तीय पारदर्शिता तथा सार्वजनिक लेखापरीक्षणलाई पनि सुधारका महत्वपूर्ण विषयका रूपमा अघि सारिएको छ।

आज मतदाता नामावली, भोलि मनोनयन

महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। त्यसपछि साँझ ५ देखि ६ः३० बजेसम्म दाबी–विरोध, ६ः३० देखि ७ः३० बजेसम्म दाबी–विरोधमाथि छानबिन र राति ८ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

उम्मेदवार मनोनयन दर्ता भने भोलि मंगलबार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। सोही दिन उम्मेदवारको प्रथम नामावली प्रकाशन, दाबी–विरोध, छानबिन र दोस्रो नामावली प्रकाशनको प्रक्रिया पूरा गरिनेछ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता वा संशोधन गर्न सकिनेछ। बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन प्रचार–प्रसारका लागि समय छुट्याइएको छ।

असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। निर्वाचन समितिका अनुसार मतदानका लागि काठमाडौंमा तीनवटा मतदान केन्द्र तोकिएका छन्। बागमती प्रदेशका लागि राष्ट्रिय सभा गृह, कोशी, मधेश, कर्णाली, सुदूरपश्चिम तथा भ्रातृ–शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका लागि खुलामञ्च तथा गण्डकी र लुम्बिनी प्रदेशका लागि कमलादीस्थित प्रज्ञा भवनमा मतदान केन्द्र रहनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु गरिनेछ।

notice-page1_CZeJHE3uRF.webp