कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन समारोहमा कुन नेताले के भने ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ। काठमाडौंको ऐतिहासिक खुलामञ्चमा आइतबार आयोजित उद्घाटन समारोहमा कांग्रेसका नेता–कार्यकर्तासँगै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेताहरूले नेपाली कांग्रेसको इतिहास, वर्तमान राजनीतिक अवस्था, नयाँ पुस्ताको नेतृत्व, लोकतान्त्रिक मूल्य–मान्यता तथा आगामी राजनीतिक यात्राबारे आ–आफ्ना धारणा राखे।

समारोहमा कांग्रेस सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, विश्वप्रकाश शर्मा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरी तथा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायतले सम्बोधन गरेका थिए।

कांग्रेस लोकतन्त्र र समुन्नतिको पुल बन्न चाहन्छ : गगन थापा

कांग्रेस सभापति गगन थापाले नेपाली कांग्रेसले अब लोकतन्त्र, समुन्नति, न्याय र नागरिकको विश्वास जोड्ने पुलका रूपमा काम गर्नुपर्ने बताएका छन्।

१५औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले कांग्रेसले विगतको इतिहास र भविष्यको सम्भावनाबीच पुल निर्माण गर्नुपर्ने बताए। उनले कांग्रेसले लोकतन्त्रसँगै विविधता, नागरिकलाई सेवा तथा सम्मान र मुलुकलाई समृद्धितर्फ लैजाने जिम्मेवारी लिनुपर्ने बताए।

‘कांग्रेस डेमोक्रेसी र डाइभर्सिटी चाहन्छ। नागरिकलाई डेलिभरी र डिग्निटी दिन सक्नुपर्छ। कांग्रेसले आवश्यकता र अवस्थाबीच पुल बन्न सक्नुपर्छ,’ उनले भने।

थापाले कांग्रेसले इतिहास र सम्भावनालाई जोड्ने पुलको भूमिका निर्वाह गर्नुपर्ने बताए। उनका अनुसार पार्टीभित्रको विश्वास कमजोर भए त्यसको असर लोकतान्त्रिक व्यवस्थामाथि समेत पर्न सक्छ।

‘इतिहास र सम्भावना जोड्ने पुलको काम कांग्रेसले गर्छ। पुल भत्कियो भने विश्वास भत्किन्छ,’ थापाले भने, ‘आजभन्दा भोलि नेपाल राम्रो हुन्छ कि हुँदैन भन्ने विश्वास चाहिएको छ।’

सभापति थापाले नेपाली राजनीतिमा लामो समयदेखि एउटै अनुहार र उही नेतृत्व दोहोरिइरहने प्रवृत्तिले जनतामा निराशा बढाएको बताए।

उनले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको टिप्पणी गरे। प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति पुनः नेतृत्वमै फर्किन खोज्ने तथा मन्त्री बनेकाहरू पटक–पटक सत्तामा पुग्ने प्रवृत्तिले राजनीतिप्रति जनताको वितृष्णा बढाएको उनको भनाइ थियो।

‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भने। यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता उस्तै हुन् तथा सबै खराब छन् भन्ने सन्देश जनतामा गएको उनको भनाइ थियो।

उनले यही कारण नागरिकमा राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि बढेको र त्यसको अभिव्यक्ति पछिल्लो भदौ २३ र २४ गतेको घटनामा समेत देखिएको बताए।

महाधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति शेरबहादुर देउवा उपस्थित नभए पनि सभापति थापाले उनलाई विशेष रूपमा सम्झिए।

देउवा पक्षले समानान्तर रूपमा महाधिवेशनको तयारी गरिरहेका बेला कांग्रेसको महाधिवेशनमा देउवाको अनुपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

उद्घाटन समारोहको अन्तिमतिर सम्बोधन गर्दै थापाले देउवाका लागि कुर्सी राखिएको र उनीबाटै महाधिवेशन उद्घाटन गराउने अपेक्षा गरिएको बताए।

‘यहाँ हामीले शेरबहादुर दाइका लागि कुर्सी राखेका थियौँ। उहाँले आएर उद्घाटन गर्नुहुन्छ भन्ने अपेक्षा थियो,’ थापाले भने। थापाले देउवालाई सम्मान गर्ने विषय व्यक्तिगत रूपमा उनको नजिक जाने वा प्रशंसा गर्ने विषय मात्र नभएको बताए।

‘शेरबहादुर देउवालाई सम्मान गर्ने भनेको उहाँको ढोकामा कतिपटक सलामी दियो भनेर होइन, उहाँले बनाएको पार्टी कति अग्लो बनायो भनेर हुन्छ,’ उनले भने।

‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ’ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब ‘छोडिदिँदा’ राम्रो हुने सुझाव दिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको नयाँ नेतृत्वले पुरानो नेतृत्वसँगको सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा व्यङ्ग्यात्मक शैलीमा धारणा राखे।

‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु,’ लामिछानेले भने। उनको यो भनाइ कांग्रेसभित्र नयाँ नेतृत्व र पुरानो नेतृत्वबीच देखिएको राजनीतिक दूरीप्रति लक्षित थियो।

लामिछानेले कांग्रेसको लामो राजनीतिक इतिहासलाई उसको सबैभन्दा ठूलो राजनीतिक पुँजीका रूपमा व्याख्या गरे। उनले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा कांग्रेसले खेलेको भूमिकाको सम्मान गर्नुपर्ने बताए।

उनका अनुसार कांग्रेसले आफ्नो विगतबाट पाठ सिक्दै वर्तमान राजनीतिक परिस्थितिअनुसार नयाँ यात्राको सुरुवात गर्न आवश्यक छ।

‘कांग्रेसको इतिहास उसको ठूलो शक्ति हो,’ लामिछानेले भनेका थिए। उनले इतिहासलाई केवल गौरव गर्ने विषयका रूपमा नभई भविष्य निर्माणका लागि सिकाइका रूपमा लिनुपर्ने बताए।

लामिछानेले आफू कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा सत्तापक्षका तर्फबाट उपस्थित भए पनि मञ्चमा आफूलाई ‘एक्लो प्रतिपक्षी’ जस्तो अनुभूति भएको बताए।

उनले आफ्नै राजनीतिक अवस्थालाई व्यङ्ग्यसँग जोड्दै आफू प्रायः एक्लै रहने बानी परेको समेत बताए। ‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ उनले भने।

लामिछानेको उक्त टिप्पणीले समारोहमा उपस्थित राजनीतिक दलका नेताहरूबीचको सत्ता–प्रतिपक्षको समीकरणलाई समेत व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको थियो।

उनले कांग्रेसको लोकतान्त्रिक इतिहासलाई आफूहरूले सम्मान गर्ने तर लोकतन्à