मध्यराति पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी कार्यालयमा, एसएसपी भन्छन्- ‘पक्राउ होइन, सुरक्षाका लागि ल्याएका हौँ’

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले मध्यराति महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा पुर्याएको छ। प्रहरीले भने जबरालाई पक्राउ नगरिएको र सम्भावित सुरक्षा जोखिमका कारण सुरक्षाका लागि कार्यालयमा ल्याइएको दाबी गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जबराको जीवनमाथि गम्भीर भौतिक आक्रमण हुनसक्ने सूचना आएपछि उनलाई सुरक्षाका लागि कार्यालयमा ल्याइएको हो। खड्काले भने, ‘हामीलाई राति नै उहाँको जीवनमाथि गम्भीर खतरा आएको सूचनापछि सुरक्षा दिने क्रममा हामीले साथमै लिएर आएका हौँ।’
खड्काले जबरा अहिले पनि प्रहरीकै सुरक्षामा रहेको र उनको सुरक्षा जोखिम हटेपछि घर पठाउने वा अन्यत्र सुरक्षित स्थानमा राख्ने निर्णय हुने बताए।
‘उहाँजत्तिको प्रोटोकल भएको व्यक्तिलाई हामीले यत्तिकै पक्राउ गर्ने भन्ने हुँदैन। अहिले पनि सुरक्षाका लागि हामीसँगै हुनुहुन्छ,’ उनले भने, ‘उहाँ सुरक्षित हुने सुनिश्चिततापछि घरमा पठाउने वा अन्यत्र सुरक्षित राख्ने भन्ने कुरा हुन्छ।’
तर, पक्राउ पुर्जीबिनै पूर्वप्रधानन्यायाधीशलाई मध्यराति घरबाट प्रहरी कार्यालयमा लगिएको घटनाले प्रहरीको सुरक्षा दाबीमाथि प्रश्नसमेत उठेको छ। जबराविरुद्ध पक्राउ पुर्जी जारी नभएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार जबरामाथि ‘जेनजी’ समूहबाट भौतिक आक्रमण हुनसक्ने सूचनासमेत आएको थियो। त्यसपछि डीएसपीको कमाण्डमा करिब एक दर्जन सादा पोशाकका प्रहरी महाराजगञ्जस्थित जबराको निवास पुगेका थिए।
राति करिब साढे १२ बजे घर पुगेको प्रहरी टोलीले जबरालाई सुरक्षाका लागि प्रहरी कार्यालय जान आग्रह गरेको थियो। तर, उनले सुरुमा प्रहरीको प्रस्ताव अस्वीकार गरेका थिए। करिब डेढ घण्टासम्म भएको छलफलपछि मात्रै उनलाई प्रहरी कार्यालय ल्याइएको स्रोतको दाबी छ।
राति करिब २ बजे जबरालाई टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुर्याइएको थियो। त्यसपछि उनलाई एसएसपी खड्काकै कार्यकक्षमा राखिएको थियो।
एसएसपी खड्काका अनुसार सुरक्षा थ्रेटसम्बन्धी सूचना ढिलो प्राप्त भएकाले तत्कालै सुरक्षा सुनिश्चित गर्न जबरालाई कार्यालयमा ल्याउनुपरेको हो। ‘मध्यराति नै भौतिक रूपमा आक्रमण हुनेसम्मको सूचना आएपछि सुरक्षाका लागि ल्याइएको हो,’ उनले भने।
तर, पूर्वप्रधानन्यायाधीशजस्तो उच्च संवैधानिक पदमा बसेका व्यक्तिलाई घरमै थप सुरक्षा दिन सकिने विकल्प हुँदाहुँदै प्रहरी कार्यालयमै लैजानुपर्ने अवस्था किन आयो भन्ने प्रश्न अनुत्तरित छ। प्रहरीले भने प्राप्त सूचनाको गम्भीरताका कारण तत्काल सुरक्षा व्यवस्थापन गर्नुपरेको जनाएको छ।
महाअभियोगपछि कानुनी विवादमा जबरा
चोलेन्द्रशमशेर जबरा २०७५ पुसमा प्रधानन्यायाधीश नियुक्त भएका थिए। २०७८ फागुनमा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
गत २४ भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको भन्दै सम्बन्धित रिट खारेज गरेको थियो।
जबराले २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनी पुनरावेदन अदालतका न्यायाधीश तथा विशेष अदालतका सदस्यसमेत भइसकेका थिए।
हालको घटनामा प्रहरीले जबरालाई औपचारिक रूपमा पक्राउ नगरिएको बताएको छ। यद्यपि, उनलाई मध्यराति घरबाट प्रहरी कार्यालयमा लैजानुपरेको सुरक्षा सूचनाको प्रकृति, त्यसको विश्वसनीयता र प्रहरी कार्यालयमै राख्नुपर्ने आवश्यकताबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।



प्रतिकृया दिनुहोस्