बाढी-पहिरोपछि राष्ट्रपति पौडेलको आह्वान : ‘दोषारोपण होइन, राष्ट्रिय एकताका साथ उद्धारमा जुटौँ’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी बाढी–पहिरोपछि उत्पन्न संकटमा राजनीतिक विवाद र दोषारोपणमा नअल्झिन सम्पूर्ण राजनीतिक दल र नागरिकलाई आह्वान गरेका छन्। उनले विपत्तिको यो घडीमा राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्न आग्रह गरेका छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै पौडेलले हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरोका कारण आएको बाढीलाई कहालीलाग्दो प्राकृतिक प्रकोप बताए। उनले ठूलो जनधनको क्षति तथा सडक, पुल र जलविद्युत् आयोजनालगायत पूर्वाधारमा पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।

उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको साहसको प्रशंसा गर्दै उनले कठिन भौगोलिक अवस्थाका बाबजुद बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए।

विस्थापितका लागि खाद्यान्न, स्वच्छ खानेपानी, औषधोपचार र सुरक्षित आश्रय तत्काल सुनिश्चित गर्न आग्रह गर्दै उनले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाको संरक्षणमा विशेष ध्यान दिन निर्देशनात्मक आग्रह गरे। मृतकको पहिचानका लागि डीएनएलगायत वैज्ञानिक विधि अपनाउन पनि उनले सुझाव दिए।

हिमनदी फुट्ने र हिमपहिरो जाने घटनालाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै पौडेलले नेपालजस्ता देशका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग ठोस कदम चाल्न आह्वान गरे। विपत्तिमा ज्यान गुमाएका विदेशी नागरिकप्रति समेत उनले शोक व्यक्त गरे।

पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा नेपालको विद्यमान विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले राष्ट्रिय पुनरुत्थानका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए। ‘यो दोषारोपण गर्ने समय होइन, संकटको सामना गर्न सँगै उभिने समय हो’ भन्ने सन्देशसहित उनले सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।

पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज हामी नेपालीहरू अत्यन्त गहिरो शोक र पीडाबाट गुज्रिरहेको यस कठिन तथा दुःखद क्षणमा म तपाईँहरूमाझ केही भन्न उपस्थित भएको छु । यतिबेला नेपालले कहालीलाग्दो प्राकृतिक प्रकोपको सामना गर्नुपरेको छ । २०८३ भाद्र १० गतेका दिन हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरो खसेर आएको विनाशकारी बाढीले नेपाली जनतामाथि अकल्पनीय पीडा ल्याएको छ । यस विपत्तिले असङ्ख्य मानव जीवन, घरपरिवार र जीविकोपार्जनका आधारहरू बगाउनुका साथै सडक तथा पुलहरूमा व्यापक क्षति पुर्‍याएको छ ।

साथै यसले जलविद्युत् आयोजनालगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा समेत गम्भीर क्षति पुर्‍याएको छ । आज सम्पूर्ण राष्ट्र यस भयावह विपत्तिकोे शोकमा छ । यो विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल होस् भन्ने कामना गर्दछु । विपत्तिमा प्रत्यक्ष रूपमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न सम्पूर्ण व्यक्ति र संस्थाप्रति म उच्च सम्मान व्यक्त गर्दछु । उद्धार कार्यमा संलग्न धेरैले आफ्नो ज्यानको समेत पर्वाह नराखी पीडित तथा प्रभावित नागरिकहरूको उद्धारका लागि अत्यन्त जोखिमपूर्ण क्षेत्रमा प्रवेश गर्नुभएको छ ।

वास्तवमा उहाँहरूको अदम्य साहस, समर्पण र सेवाभाव नेपालको उत्कृष्ट मानवीय भावना र राष्ट्रिय चरित्रको प्रतिनिधित्व गर्दछ भन्ने कुरा म गर्वका साथ यहाँ भन्न चाहन्छु । तर, कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवम् जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन । नेपालमा कार्यरत, पर्यटक, हिमाली क्षेत्रमा पदयात्रामा रहनुभएका वा आध्यात्मिक यात्राका क्रममा नेपालमा रहनुभएका हरेक विदेशी नागरिकहरू, जसले यस विपत्तिमा परी ज्यान गुमाउनुभएको छ; उहाँहरूप्रति पनि हामी भावपूर्ण शोक व्यक्त गर्दछौँ । आफ्ना प्रियजन गुमाउनुभएका सम्पूर्ण परिवारहरूप्रति नेपालका तर्फबाट म हार्दिक समवेदना व्यक्त गर्दछु ।

नेपालले आफ्नो भूमिमा रहेका प्रत्येक व्यक्तिलाई आफ्नै परिवारको सदस्यका रूपमा मान्दछ । प्रभावित नागरिकहरू भएका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगहरूसँग हामी सहकार्य गर्नेछौँ । यस कठिन घडीमा नेपालले सामना गरिरहेको यस विशाल चुनौतीका बीच तत्काल खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरणहरू उपलब्ध गराई द्रुत सहयोग र सहकार्य प्रदान गर्नुहुने हाम्रा छिमेकी मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय समुदायका सम्पूर्ण सदस्यहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

अहिले हामी यति गहिरो पीडामा छौँ; जसलाई कम गर्न सक्ने शब्दहरू हामीसँग छैनन् । परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा विश्वस्त पार्न चाहन्छु । तपाईँहरूले अनुभव गरिरहनुभएको अनिश्चितताको यो क्षणको पीडा सिङ्गो राष्ट्रले नै महसुस गरिरहेको छ । उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्दछ ।

अहिले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकहरूप्रति विशेष ध्यान दिन आवश्यक छ । साथै अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्छ भन्नà¥