October 13, 2026, Tuesday
२०८३ आश्विन २८

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश गरेका छन्।

चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई स्प्लिट डिसिजनका आधारमा पराजित गर्दै ढाँट फाइनल पुगेका हुन्।

तीन राउण्डको प्रतिस्पर्धामा पहिलो र तेस्रो जजले ढाँटको पक्षमा २९–२८ अंक दिए भने दोस्रो जजले मर्डोकको पक्षमा २९–२८ अंक दिएका थिए। दुई जजको समर्थन पाएपछि ढाँट विजयी घोषित भए।

अब ढाँटले फाइनलमा र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।

फाइनल जित्ने फाइटरले युएफसीमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।

सेमिफाइनलपछि ढाँटले नेपालमा बाढीका कारण कठिन अवस्था रहेको भन्दै सबैलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन्।

‘अहिले नेपालमा धेरै नै गाह्रो अवस्था भइराखेको छ, बाढीका कारण। कृपया आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुहोला,’ उनले भने।