धनगढीमा फेरि गुञ्जिँदैछ गुरही असरेना, १७ वर्षदेखि जोगिँदै थारू संस्कृतिको मौलिक धरोहर

धनगढी : साँझ पर्दै गर्दा धनगढीको गुरही चोकमा बालबालिकाको चहलपहल बढ्छ। कसैको हातमा परम्परागत सोंटा हुन्छ, कसैले घरमै बनाएको गुरही बोकेको हुन्छ। घुँघरीको झंकारसँगै सामूहिक रूपमा गाइने गुरही असरेनाले वातावरणलाई सांस्कृतिक रौनकताले भरिदिन्छ।
थारू समुदायको यही मौलिक सांस्कृतिक परम्परालाई निरन्तरता दिन धनगढीमा यस वर्ष पनि ‘गुरही असरेना कार्यक्रम २०८३’ आयोजना हुने भएको छ।
गुरही चोकस्थित मूल आयोजक समितिले पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै गुरही पर्व केवल एउटा सांस्कृतिक उत्सव नभई थारू समुदायको इतिहास, प्रकृतिसँगको सम्बन्ध र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सामुदायिक जीवनशैलीको अभिन्न हिस्सा भएको जनाएको छ।
समितिका संयोजक सानु चौधरीका अनुसार गुरही थारू समुदायको मौलिक सांस्कृतिक पर्व हो। प्रकृति, कृषि र मानव जीवनबीचको अन्तरसम्बन्धलाई प्रतिबिम्बित गर्ने यस पर्वमा गुरही अर्थात् ‘ड्रागनफ्लाई’प्रति सम्मान व्यक्त गर्ने परम्परा छ।
कृषिमा हानिकारक किराको नियन्त्रणमा भूमिका खेल्ने भएकाले गुरहीलाई किसानको साथीका रूपमा सम्मान गर्ने गरिएको आयोजकको भनाइ छ। यस अर्थमा गुरही पर्व मनोरञ्जन र परम्परामा मात्र सीमित नभई प्रकृति र कृषि जीवनप्रतिको थारू समुदायको बुझाइ र सम्मानसँग पनि जोडिएको छ।
बालबालिकाबाट सुरु हुन्छ संस्कृतिको यात्रा
गुरही पर्वको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक हो, बालबालिकाको सहभागिता। बालबालिकाले घरमै तयार पारेका गुरही तथा घुँघरी बोकेर गुरही असरेना गाउने, परम्परागत सोंटा लिएर सहभागी हुने र सामूहिक रूपमा प्रसाद वितरण गर्ने परम्परा छ।
आयोजकका अनुसार यही सहभागिताले एउटा पुस्ताबाट अर्को पुस्तामा संस्कृति हस्तान्तरण गर्ने काम गरिरहेको छ। आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका बीच नयाँ पुस्तालाई आफ्नै भाषा, संस्कार, परम्परा र सामुदायिक पहिचानसँग जोड्ने माध्यमका रूपमा पनि गुरही असरेनालाई लिइएको छ।
यस वर्षको कार्यक्रमलाई ‘थारू समुदायको मौलिक संस्कृति संरक्षण, प्रवर्द्धन तथा सामाजिक एकताको अभियान’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको हो।
कार्यक्रममार्फत गुरही पर्वको संरक्षण, प्रवर्द्धन तथा दस्तावेजीकरणसँगै सांस्कृतिक हस्तान्तरण, सांस्कृतिक पर्यटनको विकास, स्थानीय कला तथा संस्कृतिको प्रवर्द्धन, महिला तथा युवाको सहभागिता अभिवृद्धि र सामाजिक सद्भाव सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ।
१७ वर्षदेखि निरन्तर परम्परा
धनगढीको गुरही चोकमा गुरही असरेना आयोजना हुन थालेको १७ वर्ष पुगेको छ। वर्षौंको निरन्तरताले गुरही चोकलाई अहिले थारू समुदायको सांस्कृतिक पहिचान र सामूहिक उत्सवको एउटा महत्वपूर्ण स्थलका रूपमा स्थापित गरेको आयोजकको भनाइ छ।
यस वर्ष कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सांस्कृतिक कार्यक्रमसँगै रक्तदान, सरसफाइ तथा विभिन्न सामाजिक गतिविधि समेटिएका छन्।
कार्यक्रमअन्तर्गत २०८३ साउन ३१ गते बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म वातचित घरको संयोजनमा बृहत् रक्तदान कार्यक्रम हुनेछ। सोही दिन साँझ ४ बजेदेखि ६ः३० बजेसम्म गुरही चोक आसपास मूल आयोजक समिति, युवा सञ्जाललगायतको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिनेछ।
भदौ १ गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म मुख्य गुरही असरेना कार्यक्रम हुनेछ। दिउँसो ३ देखि ४ बजेसम्म औपचारिक कार्यक्रम, ४ देखि ६ बजेसम्म सांस्कृतिक प्रस्तुति तथा साँझ ६ः३० देखि ७ बजेसम्म गुरही समापन र सरसफाइ कार्यक्रम गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा थारू लेखक संघ धनगढी, थारू कल्याणकारिणी सभा नगर समिति धनगढी, वातचित घर, थारू महिला सभा, थारू विद्यार्थी समाज, थारू नागरिक समाज, गुरही मूर्ति निर्माण समिति, राष्ट्रिय वातचित घर, थारू कलाकार मञ्च, सखी मञ्च कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, थारू पत्रकार संघ, थारू महिला सञ्जाल, नगर भलमन्सा समिति धनगढी, हिरार साहित्यिक बगाल, थारू छात्रावास धनगढी, आदिवासी जनजाति युवा महासंघलगायत विभिन्न संघसंस्थाको सहकार्य रहने जनाइएको छ।
गुरही असरेनाको निरन्तरता थारू समुदायका लागि एउटा पर्वको निरन्तरता मात्र होइन, आफ्नो मौलिक पहिचान, प्रकृतिप्रतिको सम्मान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक स्मृतिलाई जीवित राख्ने अभियान पनि बनेको छ।





प्रतिकृया दिनुहोस्