पूर्वप्रधानमन्त्रीका स्वकीयदेखि पूर्वमन्त्रीसम्म अख्तियारको अनुसन्धानमा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवसहित पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवामाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
आयोगको अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लामो समय सम्मका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा स्वकीय सचिवका रूपमा काम गरेकी गंगा दाहाल र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका पूर्वसहयोगी समेत रहेका प्रकाश बहादुर देउवा परेका हुन्।
अख्तियारका एक उच्च अधिकारीका अनुसार तीनैजनामाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा उनीहरूको सम्पत्ति, बैंकिङ कारोबार, शेयरलगायत आर्थिक गतिविधिको विवरण संकलन गर्ने काम भइरहेको आयोगको भनाइ छ।
प्रकाशबहादुर देउवा सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले उनीमाथि अख्तियारले प्रत्यक्ष रूपमा अनुसन्धान अघि बढाएको हो। २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित उनी २०७९ माघमा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का स्थायी बासिन्दा प्रकाश र भानु पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन्। प्रकाश हाल अमेरिकामा रहेको र उनको सम्पत्ति विवरण तथा बयान लिने प्रक्रिया अघि बढिरहेको अख्तियार स्रोतले जनाएको छ।
‘उहाँ अमेरिकामा भएको सूचना पाएका छौँ। सम्पत्तिको फारम भराउने र बयान लिने प्रयास भइरहेको छ,’ अख्तियारका एक उच्च अधिकारीले भने।
सम्पत्ति शुद्धीकरण विभागको पत्रपछि अनुसन्धान
भानु देउवा र गंगा दाहालमाथिको अनुसन्धान भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि अघि बढाइएको अख्तियारले जनाएको छ।
करिब एक साताअघि विभागबाट पत्र प्राप्त भएपछि आयोगले उनीहरूको सम्पत्ति विवरण उपलब्ध गराउन सम्बन्धित विभिन्न निकायमा पत्राचार गरेको छ। बैंक खातामार्फत भएका कारोबार, शेयर स्वामित्व तथा अन्य आर्थिक विवरण संकलन भइरहेको आयोगको भनाइ छ।
सम्पत्ति विवरण संकलनपछि सम्बन्धित व्यक्तिलाई सम्पत्तिसम्बन्धी फारम भराउने तथा आवश्यक परे बयान लिने प्रक्रिया अघि बढाइनेछ।
यसले राजनीतिक नेतृत्वको निकटमा रहेर लामो समय सार्वजनिक तथा राजनीतिक पहुँचमा रहेका व्यक्तिहरूको आर्थिक गतिविधिमाथि राज्यका अनुसन्धानकारी निकायको चासो बढेको देखाएको छ।
विद्युतीय राहदानी प्रकरणमा आरजुमाथि पनि अनुसन्धान
पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा जोडिएको विद्युतीय राहदानी छपाइको ठेक्का प्रकरणमा अख्तियारले यसअघि नै अनुसन्धान गरिसकेको छ।
परराष्ट्रमन्त्री रहेका बेला विद्युतीय राहदानी छपाइको ठेक्का स्वीकृत भएको विषयमा आयोगले अनियमितताको आशंका गर्दै अनुसन्धान अघि बढाएको थियो। आयोगको अनुसन्धानअनुसार जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले दुईवटा प्याकेजको ठेक्का ‘मिलेमतो’मा लिएको निष्कर्ष निकालिएको थियो।
यद्यपि, असार ८ गते विशेष अदालतमा मुद्दा दायर गर्दा आरजु राणालाई प्रतिवादी बनाइएको थिएन। विदेशमा रहेकाले उनको बयान हुन नसकेको र यस विषयमा थप अनुसन्धान आवश्यक देखिएको अख्तियारले जनाएको छ।
यसैबीच, आरजुका पूर्वसहयोगीका रूपमा रहेका प्रकाशबहादुर देउवामाथि पनि अनुसन्धान अघि बढेको विषयलाई उक्त प्रकरणसँग जोडेर हेरिएको छ। यद्यपि, प्रकाश देउवा आरजु राणा परराष्ट्रमन्त्री हुँदा उनको सचिवालयमा कार्यरत नरहेको स्रोतहरूले बताएका छन्।
ओलीका स्वकीय पनि अख्तियारको अनुसन्धानमा
अख्तियारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि पनि अनुसन्धान गरिरहेको छ।
आयोगले जेठ अन्तिम सातादेखि बज्राचार्यमाथि अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान अघि बढाएको हो। आयोगले उनलाई सम्पत्ति विवरणसम्बन्धी १३ पृष्ठको फारम भराएर बुझाउन लगाएको छ।
बज्राचार्यको सम्पत्ति विवरणमाथि अनुसन्धान गर्दा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भए भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम विशेष अदालतमा मुद्दा दायर गर्न सकिने कानुनी व्यवस्था छ।
नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा यति समूहअन्तर्गतको थामसेर्कु ट्रेकिङलाई लिजमा दिँदा भएको भनिएको अनियमितताको अनुसन्धानका क्रममा बज्राचार्यको ‘कनेक्सन’ देखिएको सीआईबीको अनुसन्धान निष्कर्ष थियो।
सीआईबीको अनुसन्धानअनुसार राजेश बज्राचार्य र उनकी पत्नी रश्मि शाक्यले यति समूहबाट बालकोटस्थित रोज भिलेज हाउजिङभित्र करिब चार आना जग्गामा बनेको घर घुसबापत लिएको आरोपसमेत लगाइएको थियो। यद्यपि, त्यसबेला सरकारी वकिलको निर्णयबाट बज्राचार्यले उन्मुक्ति पाएका थिए।
२०८२ पुसमा सीआईबीले बज्राचार्यमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्नुपर्ने भन्दै अख्तियारलाई पत्र पठाएको थियो। त्यसपछि अख्तियारले उनको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो।
राजनीतिक पहुँचमा रहेका व्यक्तिमाथि बढ्दो निगरानी
पछिल्लो समय अख्तियारको अनुसन्धानको à¤


