‘अग्रगामी मोर्चा’ घोषणा : संविधान संशोधन र सङ्घीयता सुदृढीकरण मुख्य एजेन्डा, कसले के भने ?

काठमाडौँ : सात राजनीतिक दलले संविधान संशोधन, सङ्घीयता सुदृढीकरण, सामाजिक न्याय, र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा एक अवधारणा-पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्।
मोर्चाको प्रस्तावनामा सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, र भौगोलिक अखण्डताको संरक्षणप्रति प्रतिबद्ध लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखिएको छ। राजकीय सत्ताको केन्द्रीकरण र अधिनायकवादी प्रवृत्ति अन्त्य गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र, र सङ्घीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने मोर्चाको प्रतिबद्धता छ।
शनिबार काठमाडौँमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन्।
अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरे।
आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन सङ्कटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको उनले टिप्पणी गरे।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनताको चाहनाअनुसार अग्रगामी मोर्चा गठन भएको बताएका छन्। अध्यक्ष राउतले देश सङ्कटमा परेका बेला यो कदम चालिएको स्पष्ट पारेका हुन्।
जब-जब देशमा सङ्कट आएको छ, तब-तब शक्तिहरू एकीकृत भएको स्मरण गराउँदै उनले २००७ सालअघि वा पछि पनि यसरी नै सङ्गठित भएर अगाडि बढेको उल्लेख गरे। विगतमा आफूहरूबाट भएका गल्तीहरू सुधारेर अगाडि बढ्ने प्रतिबद्धतासहित मोर्चा गठन गरिएको उनले बताए।
मोर्चाको उद्देश्यबारे प्रष्ट पार्दै राउतले भने, ‘मोर्चा सङ्घर्षका लागि बनेको हो, सत्ताका लागि होइन। अधिकारका लागि यो मोर्चा गठन भएको हो, यसले जनताको अभिभावक भएर काम गर्नेछ।’
प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने उद्घोष गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावनाविपरीत र विचारविहीन भएको टिप्पणी गरे। युवाहरूको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको आरोप लगाउँदै ती सपना साकार पार्न नै मोर्चा गठन गरिएको उनले स्पष्ट पारे।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन्। कार्यक्रममा बोल्दै उनले सत्ता र नेतृत्वमा पुग्नका लागि राजनीतिमा अनेक गतिविधि हुने गरेको बताए। राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै उनले सत्ताप्राप्तिका लागि अष्टावक्रझैँ ‘टेढामेढा बाटो’ पार गर्नुपर्ने बताए।
उनले भने, ‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन। राजनीति आफैँमा एउटा डर्टी गेम हो।’ यसमा अष्टावक्रझैँ टेढामेढा बाटाहरू पार गर्दै अनेकौँ चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउने उनले बताए। राजनीतिमा टिकिरहन र अगाडि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने धारणा उनले राखे।
नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन्।
कार्यक्रममा बोल्दै उनले निर्वाचनअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढङ्गले सञ्चालन गर्ने दाबी गरे पनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको बताए।
सरकारले नागरिकमाथि करको भार थोपरेको आरोप पनि उनले लगाए। सरकारले सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्ने गरेको उनको भनाइ छ।
चौधरीले कर तिर्ने नागरिकमाथि करको भार थोपर्नुभन्दा करको दायित्व पूरा नगर्ने पक्षलाई करको दायरामा ल्याउन सुझाव दिए। सरकारप्रति कोही सन्तुष्ट बन्न नसकेको भन्दै गाउँका किसान धान न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनले दाबी गरे। उनका अनुसार चैते धान किसानले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा बिक्री गरे पनि बिचौलियाले त्यही धान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको छ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले देश इतिहासकै सङ्कटपूर्ण अवस्थामा पुगेकाले साझा अभियानका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताए। अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै शर्माले लोकतान्त्रिक समाजलाई आत्मसात् गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मोर्चा बनाइएको प्रस्ट पारे।
विगतका त्रुटिहरूलाई सुधारेर जनताप्रति उत्तरदायी बन्ने प्रतिबद्धता जनाउँदै शर्माले सामाजिक, सांस्कृतिक र आर्थिक विकासका लागि यो मोर्चा गतिशील रहने उल्लेख गरे। समाजमा विद्यमान सबै प्रकारका भेदभाव र छुवाछूत अन्त्य गर्दै सामाजिक न्याय कायम गर्ने लक्ष्य मोर्चाले लिएको उनले बताए।
मोर्चाले स्थानीय तहलाई प्रदेशमातहत ल्याउनका लागि सङ्घर्ष गर्ने रणनीति बनाएको छ। बहिष्करणमा पारिएका समुदायले अझै पनि समानताको अधिकार प्रà


