संवाद र दबाबबीच कांग्रेस : विभाजन टार्न दुवै पक्ष सक्रिय, भित्रभित्रै नयाँ पार्टीको तयारी

काठमाडौं : नेपाली कांग्रेस विभाजनको डिलमा पुगेका बेला पार्टी सभापति गगन थापाले संस्थापन इतर पक्षका शीर्ष नेताहरूसँग निर्णायक संवादको तयारी थालेका छन्। अर्कातर्फ, संस्थापन इतर पक्षले भने राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै समानान्तर रूपमा एकताका लागि दबाब कायम राखेको छ। यसले कांग्रेसभित्र अहिले संवाद र विभाजनको तयारी दुवै एकसाथ अघि बढिरहेको चित्र देखाएको छ।
सभापति थापाले कार्यदलमार्फत समाधान खोज्ने प्रयास प्रभावकारी नभएको निष्कर्ष निकाल्दै अब प्रत्यक्ष रूपमा डा. शेखर कोइराला र निवर्तमान उपसभापति पूर्णबहादुर खड्कासँग वार्ता गर्ने तयारी गरेका छन्। थापा निकट स्रोतका अनुसार दुवै नेताको समय मिल्नेबित्तिकै एक–दुई दिनभित्र भेटवार्ता हुने सम्भावना छ।
सभापति थापा पार्टीभित्रको मतभेद अन्त्य गर्न व्यक्तिगत रूपमा अग्रसर भएका छन्। पार्टीका महामन्त्री गुरुराज घिमिरेले भने, ‘१४औं महाधिवेशनको कार्यसमिति मर्ज गर्ने विषयबाहेक अन्य सबै एजेन्डामा लचिलो बन्न सभापति तयार हुनुहुन्छ। १५औं महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, क्रियाशील सदस्यता व्यवस्थापन समिति, विधान संशोधन समितिलगायतका संरचनामा इतर पक्षलाई समेट्ने विषयमा पार्टीमा कसैलाई आपत्ति छैन। समेटेरै लैजाने तयारीमा हामी छौं।’ आवश्यक परे क्रियाशील सदस्यता विवाद समाधान गर्न छुट्टै छानबिन समिति गठन गर्नसमेत नेतृत्व तयार रहेको उनको भनाइ छ।
यद्यपि संस्थापन इतर पक्षले वार्ताको पर्खाइ नगरी राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाएको छ। साउन १६ गते पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई राष्ट्रिय भेलाको संयोजक तोक्दै ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। इतर पक्षका नेताहरूका अनुसार कार्यदल तहको छलफलले समाधान नदिने भएकाले शीर्ष नेताबीच प्रत्यक्ष राजनीतिक सहमति आवश्यक छ। संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले एकताको आशा अझै रहेको बताउँदै भने, ‘पार्टी एकता पूर्णरूपमा सभापति थापाको निर्णयमा निर्भर छ। हामी एक हुनै चाहन्छौं, हाम्रो टुक्रिने उद्देश्य नै होइन।’
यसैबीच कांग्रेसभित्र पार्टी विभाजन रोक्न विभिन्न तहबाट एकताको दबाब पनि बढ्दै गएको छ। निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले विशेष महाधिवेशनबाट बाहिर रहेका १ सय ११ जना निवर्तमान केन्द्रीय सदस्यमध्ये ३५ जना आफूहरू केन्द्रीय सदस्य नबनेर भए पनि पार्टी एकताको पक्षमा उभिएको बताएका छन्।
महरकै नेतृत्वमा पार्टीका अन्य युवाहरू मिलेर ‘देश र कांग्रेस जोड्ने अभियान’ अगाडि बढाएका छन्। महर भन्छन्, ‘पार्टीमा सबैलाई जोड्ने र पार्टीसँगै देश जोड्ने हाम्रो अभियान हो। यसमा पार्टीका सबै साथीहरू जोडिन सक्नुहुन्छ।’
महामन्त्री घिमिरेले शीर्ष तहमा निरन्तर सम्पर्क र संवाद जारी रहेको जानकारी दिएका छन्। उनले भने, ‘आठ–नौ दिनभित्र एउटा निष्कर्ष आउँछ। पूर्णबहादुर दाइ अस्वस्थ हुनुहुन्छ भन्ने खबर आएकाले अलिकति ढिला जस्तो भएको हो। तर शीर्ष तहमा निरन्तर छलफल भइरहेको छ।’
कांग्रेस नेता डा. गोविन्दराज भट्टराई भने पार्टी विभाजन हुने सम्भावना नरहेको बताउँछन्। ‘पार्टी फुटाउने चाहना कसैमा देखिँदैन। इतर पक्षको पनि अर्थपूर्ण सहभागिताका लागि दबाब सिर्जना गर्ने प्रयास मात्रै हो, जुन स्वाभाविक पनि हो,’ भट्टराईले भने, ‘पार्टीमा लामो समय योगदान गरेका साथीहरू हुनुहुन्छ, उहाँहरूको माग पार्टीमा समेटियोस् भन्ने नै देखिन्छ।’ शेखर कोइरालाको प्रसंगमा उनले थपे, ‘दाइले पार्टी छाड्ने कुरा कल्पनाबाहिरको हो भन्नुहुन्छ। बरु दोधारमा रहेका कार्यकर्तालाई सम्झाइ–बुझाइ गर्दै पार्टी नछाड्न आग्रह गरिरहनुभएको छ।’
यद्यपि इतर पक्षका एक शीर्ष नेताले संस्थापन पक्षमा पुराना नेताप्रति उपेक्षाको भावना बढेको आरोप लगाए। ‘अब यी पुराना मान्छेलाई ल्याएर के हुन्छ भन्ने मानसिकताले सम्बन्ध बिगारेको छ,’ उनले भने, ‘सम्बन्ध पारिवारिक होस् कि राजनीतिक, त्यहाँ अहम् (इगो) छिरेपछि कुनै अर्थ रहँदैन।’
अर्का नेता रामहरि खतिवडाले राष्ट्रिय भेलाको संयोजकमा शशांक कोइरालालाई अगाडि सार्नुको पछाडि कुनै शंका गर्न नमिल्ने बताए। ‘पूर्णबहादुर खड्काले यसअघिको सम्मेलनमा प्रकाशमान सिंहजीलाई अगाडि सार्नुभयो, त्यसैगरी अहिले शशांकजीलाई भेलाको संयोजकत्वको जिम्मेवारी दिनुभयो। यो उहाँको महानता हो,’ खतिवडाले भने, ‘यसले पार्टी फुटाउन नचाहेको पनि बुझाउँछ। फुटाउन चाहेको भए उहाँ आफ्नै संयोजकत्वमा भेला बोलाउनुहुन्थ्यो।’
कांग्रेसभित्रको विवाद चर्किरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र इतर समूह अझै निर्णायक मोडमा पुगिसकेका छैनन्। नेताहरूका अनुसार सबै गतिविधि देउवाकै जानकारीमा भइरहेका भए पनि साउन २९ गतेको भेलामा उनी सहभागी हुने वा नहुने भन्ने अभै टुंगो लागेको छैन।
देउवा पक्षले सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसला पुनरावलोकनका लागि निवेदन दिएको छ। यद्यपि, साउन २९ को भेलापछि बन्द सत्रबाटै नयाँ पार्टी घोषणा गर्ने तयारी भइरहेको दाबी केही नेताहरूले गरिरहेका छन्।
पार्टीको नाम भने अझै तय भएको छैन। छलफलमा ‘नेपाली कांग्रेस मूलधार’, ‘अग्रगामी कांग्रेस’ र ‘नेपाली राष्ट्रिय कांग्रेस’ जस्ता नामका विषयमा चर्चा भएको इतरका एक नेताले बताए। ‘नाम त कति जुर्छन् जुर्छन्, तर इतरका पनि ९० प्रतिशत साथीहरू पार्टी फुटको पक्षमा हुनुहुन्न। सभापति गगन थापाजीले एकपटक बसेर सल्लाह गर्नुभयो र कुरा सुन्नुभयो भने सबै जना एकै ठाउँमा आउनुहुन्छ,’ उनले भने।
सरकार निन्द्रामा : कांग्रेस
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जनजीविका, सुशासन, सुरक्षा, अर्थतन्त्र, कूटनीति तथा संसद् सञ्चालनलगायत १५ वटा विषय उठाउँदै सरकारलाई निन्द्राबाट ब्युँझन आग्रह गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले खाना पकाउने ग्यासको अभाव, खेतीपातीको मुख्य सिजनमा मलको संकट, बढ्दो महँगी तथा जनताका दैनिक समस्याप्रति सरकार उदासीन बनेको आरोप लगाए। ‘जनताले नारा होइन, परिणा


