कांग्रेस-एमाले गठबन्धन भत्किएर सत्ता सहकार्य फेरिएपछि एमालेमा रडाको

काठमाडौं : कांग्रेस–एमाले गठबन्धन भत्किएर एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता सहकार्य बनेसँगै प्रदेश सरकार पुनर्गठनमा रस्साकसीबीच सुरु भएको छ।
सत्ता बाँडफाँटभन्दा ठूलो चुनौती मुख्यमन्त्री चयन बनेको छ। बागमतीदेखि कोशी र लुम्बिनीसम्म एमालेभित्रै चर्को शक्ति संघर्ष देखिएको छ भने नेकपाले नेतृत्व गर्ने प्रदेशहरूमा पनि आकांक्षी नेताहरूबीच प्रतिस्पर्धा तीव्र छ। कर्णालीमा मात्र नयाँ मुख्यमन्त्री नियुक्त भइसकेका छन्, बाँकी प्रदेशमा भने नेतृत्वको टुंगो लगाउन शीर्ष नेतृत्व नै सकसमा परेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीचको सहमतिअनुसार एमालेको भागमा कोशी, बागमती र लुम्बिनी परेका छन्। नेकपाले कर्णाली र सुदूरपश्चिम पाएको छ। गण्डकी र मधेस प्रदेशको भागबन्डा भने टुंगिन बाँकी छ। मधेसमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालीले पाउने सम्भावना छ।
नयाँ सहमतिअनुसार नै कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीबाट मुख्यमन्त्रीमा मंगलबहादुर शाही चयन भइसकेका छन् भने बाँकी ५ वटा प्रदेशमा मुख्यमन्त्रीको बन्ने भन्ने विषयमा रस्साकस्सी भइरहेको छ। यो सहमतिप्रति एमालेकै एकथरी र नेकपाको माधवकुमार नेपाली पक्ष असन्तुष्ट त छँदै छन्, तर मुख्यमन्त्रीको विषयमा एमालेभित्रै ठूलो रडाको मच्चिरहेको छ।
पछिल्लो समय पुनर्गठन पक्षधर र अध्यक्ष केपी शर्मा ओलीबीच हानथाप नै देखिएको छ। बागमती र कोशी प्रदेशमा मारामारको अवस्था छ। बागमती प्रदेशको मुख्यमन्त्रीमा विवाद बढेपछि अध्यक्ष ओलीले दाबेदारहरूलाई आफ्नै निवास गुण्डु बोलाए। मध्यरातसम्म भनाभन र विवाद भयो। मुख्यमन्त्रीका मुख्य दाबेदार रहेका जगन्नाथ थपलिया भने सोही क्रममा ढले। संसदीय दलका नेतासमेत रहेका थपलियालाई नै मुख्यमन्त्री बनाउन अध्यक्ष ओली सहमत थिए। तर, पार्टी सचिव महेश बस्नेत भने भक्तपुरकै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य किरण थापालाई मुख्यमन्त्री बनाउन चाहन्छन्।
थापा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षबाट एकैचोटि फड्को मारेर प्रदेशसभा सदस्य हुँदै पटक–पटक प्रदेशमा मन्त्री भइसकेका छन्। थापालाई सचिव बस्नेतको साथ छ। बस्नेतले थपलियालाई मुख्यमन्त्री बनाउने विषयमा सहमति जुटेपछि त्यसविरुद्ध हस्ताक्षर अभियान नै सञ्चालन गरे। बस्नेतकै दबाबमा थपलियासहितका नेताहरूलाई गुण्डु बोलाएर दाबीबाट पछि हट्न दबाब सिर्जना गरिएको थियो। त्यस अवस्थामा तीव्र विवाद भयो। मुख्यमन्त्री बन्नबाट रोक्नका लागि अनावश्यक दबाब दिएपछि भएको विवादले उग्ररूप लिँदा थपलिया बेहोस नै भए। उनी वीर अस्पतालमा भर्ना भएका छन्।
१ सय १० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायतका ६ दल छन्। बहुमतका लागि ५६ सांसद चाहिन्छ। ३७ सिटसहित कांग्रेस पहिलो दल छ। नेकपाको २७ र एमाले २७ सांसदसहित तेस्रो स्थानमा छ। राप्रपासँग १३ सिट, नेमकिपासँग ३, हाम्रो नेपाली पार्टीसँग २ र सामाजिक लोकतान्त्रिक पार्टीसँग १ सिट रहेको छ।
बागमती प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठ संसदीय दलको नेताको हैसियतमा थपलिया नै मुख्यमन्त्री हुने बताउँछन्। ‘केन्द्रबाट कुनै नयाँ निर्णय आएर परिवर्तन भए मात्रै हो, नत्र थपलिया नै मुख्यमन्त्री हो,’ उनले भने। अर्का मुख्यमन्त्रीका दाबेदार भनिएका थापा जुनियर नेता भएको पनि उनको टिप्पणी छ। उनले थपलिया गुण्डुको छलफलमा ‘स्ट्रेस’ले बेहोस भएको पनि बताए। ‘छलफलका क्रममा ‘स्ट्रेस’ भयो र उहाँ बेहोस हुनुभयो, अहिले आराम गरिरहनुभएको छ,’ उनले भने।
पार्टीभित्र केही आकांक्षी भए पनि त्यसको व्यवस्थापन हुने श्रेष्ठको दाबी छ। ‘एक–दुई जना आकांक्षी हुनुहुन्छ, त्यसको व्यवस्थापन भइहाल्छ,’ उनले भने। नेकपासँगको सहमतिअनुसार एमालेबाटै बागमतीको मुख्यमन्त्री हुने उनले बताए। तर, बहुमतका लागि केही सिट कम रहेकाले राप्रपासँगको सहकार्यको प्रयास पनि भइरहेको उनले जनाए। ‘राप्रपाको समर्थन आउनेबित्तिकै हामी सरकार बनाउँछौं,’ उनले भने।
एमाले सचिव महेश बस्नेतले भने थपलिया बेहोस भएर ढलेको भन्दा पनि आफ्नो धारणा राख्ने क्रममा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता मात्र देखिएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा उहाँ केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको अवस्थालाई तोडमोड गरेर प्रचार गरिएको हो। यसलाई अनावश्यक रूपमा अतिरञ्जित नगर्न र यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न सबैमा हार्दिक अनुरोध गर्दछु।’
अर्का नेता केशव पोखरेललाई मुख्यमन्त्री बनाउन निवर्तमान वरिष्ठ नेता ईश्वर पोखरेलले प्रयास गरेका छन्। हाल बागमती प्रदेशमा कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री छन्। अल्पमतमा परिसकेका बानियाँ सरकार जोगाउने अन्तिम प्रयासमा लागिरहेका छन्। उनले मंगलबार नै हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्री बनाएका छन्।
कोशीमा रडाको
कोशी प्रदेशमा हाल एमालेकै नेतृत्वमा सरकार छ। मुख्यमन्त्री छन् पार्टीका सचिव हिक्मत कार्की। उनी कांग्रेससँगको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। तर, अब नेकपासँगको नयाँ गठबन्धनपछि उनलाई विस्थापित गरेर अर्का नेतालाई मुख्यमन्त्री बनाउन पार्टीका अर्का सचिव एवं पूर्वमुख्यमन्त्री शेरधन राई नै सक्रिय भएका छन्। पार्टी पुनर्गठनको पक्षमा लागेको भन्दै कार्कीसँग पछिल्लो समय ओली पनि असन्तुष्ट छन्।
ओलीकै निर्वाचन क्षेत्रका कार्कीलाई हटाएर ताप्लेजुङबाट निर्वाचित तिलकुमार मेन्याङ्बोलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट नयाँ अनुहारका रूपमा मुख्यमन्त्रीका लागि अगाडि सारिएको छ। त्यसका लागि सचिव शेरधन राई खटिएका छन्। उनले मुख्यमन्त्री कार्कीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। कार्कीले सोमबार पार्टी सचिवालयको एउटा बैठक पनि बसाइसकेका छन्। तर, उक्त बैठकले समाधान नदिएपछि अध्यक्ष ओलीले कोशीका नेताहरूलाई काठमाडौं बोलाएर छलफल गरेका छन्।
ओलीले प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीसँग छलफल गरेका हुन्। उनले कार्कीसँग पनि एक्लै भेटेर छलफल गरेका छन्। मुख्यमन्त्री कार्कीले भने पार्टीको आधिकारिक निर्णयपछि मात्रै आफूले मुख्यमन्त्री छाड्ने बताउँदै आएका छन्।
कोशी प्रदेशको सबैभन्दा ठूलो दल एमा


