सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई राजीनामा दिन एमाले-नेकपाले गरे आग्रह, जबाफमा मुख्यमन्त्रीले के भने ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न एमाले र नेकपाले आग्रह गरेका छन्। मुख्यमन्त्री शाह गत साउन ३१ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन्।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुवै दलका सांसदहरूले संयुक्त रूपमा भेटेर नयाँ सत्ता समीकरणअनुसार नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन आग्रह गरेका हुन्।
एमाले र नेकपाबीच तीनबुँदे सहमति भएपछि सुदूरपश्चिम प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको छ। तर मुख्यमन्त्री शाहले राजीनामा नदिएपछि सरकार गठनका सबै प्रक्रिया अवरुद्ध भएका छन्।
मुख्यमन्त्री शाहसंगको भेटमा नेकपाका उपनेता प्रकाश रावलले एमालेसँग मिलेर सरकार बनाउने सबै विषय टुंगोमा पुगिसकेको भन्दै मार्गप्रशस्त गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए। ‘हाम्रोबीच कुनै खटपट छैन। नयाँ गठबन्धन राम्रोसँग अघि बढिरहेको छ। त्यसैले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ, ’ उनले मुख्यमन्त्री भने।
सांसद अक्कल रावलले पनि नयाँ समीकरणअनुसार सरकार गठनको तयारी भइरहेको भन्दै मुख्यमन्त्रीलाई बाधक नबन्न सुझाव दिएका थिए। ‘अल्पमतमा परिसक्दा पनि पदमा टाँसिरहनु राम्रो हुँदैन। राजनीतिक ढंगले निर्णय दिनुहोस्, ’ उनले भने ‘कर्मचारीले तलब पाएका छैनन्, बजेट शून्यता छ। बहुमत गुमिसकेपछि पनि सत्ता लम्ब्याउनु राम्रो हुँदैन। ’
नेकपा एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले पनि नेकपाका सांसदहरूले उठाएका विषयसँग सहमति जनाउँदै मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिइन्।
भेटमा सांसदहरूले बोल्दा सुनिरहेका मुख्यमन्त्री शाहले एमाले उपनेतालाई भने प्रतिप्रश्न गरेका थिए। ‘दलका नेता राजेन्द्र रावल किन आउनुभएन? यो प्रस्ताव तपाईंको हो कि तपाईंहरूको संसदीय दलको? ’ मुख्यमन्त्री शाहले सोधे।
उपनेता थापाले पार्टीले निर्णय सार्थक बनाउनु आफूहरूको पनि दायित्व रहेको बताउँदै आफ्नो धारणा व्यक्तिगत नभई पार्टीको नीतिअनुसार रहेको बताएकी थिइन्।
नेकपा संसदीय दलका नेता खगराज भट्टले सबै विषय समेट्दै अहिलेको आवश्यकता मुख्यमन्त्रीको राजीनामा नै भएको औँल्याएका थिए। ‘निर्वाचन लड्दा तपाईंको मुख्यमन्त्रीमा चर्चा नै थिएन। लामो समय प्रदेशको नेतृत्व गर्नुभयो। मलाई त दुई पूर्वप्रधानमन्त्रीले संयुक्तरूपमा मुख्यमन्त्री बनाउछु भन्नू भएको थियो ’ भट्टले विगत स्मरण गराए।
एउटै कार्यकालमा एउटै प्रदेशले तीन–चार जना मुख्यमन्त्री पाउनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वको आवश्यकता औँल्याए। ‘यस्तो बेला बहुमत गुमिसकेपछि पनि त्यहाँ बसिरहनु राम्रो होइन। राजनीतिक नैतिकता देखाउनुस्, ’ उनले भनेका थिए ।
जबाफमा मुख्यमन्त्री शाहले तत्काल विश्वासको मत लिने वा राजीनामा दिने दुवै विषयमा स्पष्ट धारणा भने सार्वजनिक गरेनन्। छलफलमा सहभागी सांसदहरूका अनुसार शाहले कांग्रेस नेतृत्वसँगको परामर्श र केन्द्रको राजनीतिक अवस्थाबारे चर्चा गरेका थिए।
‘शेरबहादुर देउवा पनि आउँदै हुनुहुन्छ। भोलि म काठमाडौं जान्छु भन्नुभयो। नयाँ खालको तयारी भइरहेको भन्दै तत्काल राजीनामा दिन आवश्यक नरहेको मुख्यमन्त्री शाहको संकेत थियो ,’ सहभागी एक सांसदले भने।
‘आफ्नो समीकरणमाबारे अझै उहाँमा विश्वास देखियो, ’ छलफलमा सहभागी एक सांसदले भने ‘हामीले राजीनामा दिन आग्रह गरेका थियौं। उहाँले अहिले राजीनामा दिने पक्षमा नरहेको संकेत गर्नु भयो। ’
भेटका क्रममा नेकपा संसदीय दलका नेता खगराज भट्ट, उपनेता प्रकाश रावल, प्रमुख सचेतक खुशीराम चौधरी तथा अक्कल रावल एमाले संसदीय दलकी उपनेता सन्तोष शर्मा थापासहितका सांसदहरू सहभगी रहेका थिए ।
करिब आधा घण्टा चलेको छलफल निष्कर्षविहीन बने पनि नेकपा र एमालेले मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न निरन्तर राजनीतिक दबाब दिने जनाएका छन्। अब मुख्यमन्त्री शाहको आगामी निर्णयसँगै सुदूरपश्चिम प्रदेशको नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने वा विश्वासको मतको प्रक्रियामा जाने भन्ने टुंगो लाग्ने देखिएको छ।



प्रतिकृया दिनुहोस्