१११ जनामध्ये हामी ३५ जना केन्द्रीय सदस्य बस्दैनौं, पार्टी मिलाऔं- नैनसिंह महर


काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका तर विशेष महाधिवेशनबाट आएको कार्यसमितिभन्दा बाहिर रहेका १११ जनामध्ये ३५ जना केन्द्रीय सदस्य नबनेर पार्टी एकताका लागि तयार रहेको बताएका छन्।

उनले यो कुरा आज पार्टीभित्रका संस्थापन र इतर पक्ष मिलाउन भन्दै साउन २० मा एकता भेला आयोजना गर्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भनेका हुन्।

कांग्रेसमा गत पुसमा विशेष महाधिवेशन भएर गगन थापा नेतृत्वमा कार्यसमिति आएको थियो। उक्त महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन। संस्थापनइतर पक्षले विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा १४ औं महाधिवेशनका १११ जना केन्द्रीय सदस्य समाहित गराउन माग गरिरहेको छ।

त्यसतर्फ लक्ष्य गर्दै महरले भने, ‘हामी ३५ जना केन्द्रीय सदस्य नबसेर बरू पार्टी एकताका पक्षमा उभिन्छौं, बाँकीलाई सभापतिजीले मिलाउनुस्।’

कसैको स्वार्थका कारण कांग्रेस पार्टी फुट्न नहुने पनि उनले बताए। ‘त्यसैले हामीले देश र कांग्रेस जोड्ने नयाँ अभियान सुरूवात गरेका छौं, देशभरका प्रतिनिधिहरूसहित साउन २० मा काठमाडौंको सुकेधारामा एकता भेला गर्छौं, संस्थापन र इतर पक्षका नेताहरूलाई एकै मञ्चमा ल्याउने हाम्रो प्रयास हो।’

उनले पार्टी एकतामा दबाब दिन अनसनदेखि वडा र टोलसम्म हस्ताक्षरलगायत दबाब अभियान सञ्चालन गरिने पनि बताए। ‘कसैको स्वार्थले पार्टी फुट्न दिन हुँदैन। हामी सिंगो कांग्रेसका पक्षमा छौं,’ उनले भने, ‘अहिले हामीलाई कुनै पद चाहिएन तर पार्टी मिल्नुपर्छ। यो पार्टीमा सबैको योगदान छ। हामी ३५ जना केन्द्रीय सदस्य बस्दैनौं, बाँकीलाई मिलाएर सभापतिजीले लैजानुपर्छ।’

उनले पार्टी एकताका पक्षमा संस्थापन र इतर दुवै पक्ष देखिएको पनि बताए। ‘देशभरका ९९.९ प्रतिशत शुभचिन्तक र क्रियाशीलहरू पनि एकीकृत कांग्रेसकै पक्षमा छन्,’ उनले भने। 

उनले क्रियाशील अद्यावधिक र १४ औंका केन्द्रीय सदस्यलाई विशेषबाट आएको कार्यसमितिमा राख्ने कुरा इगोको विषय बनाउन नहुने पनि बताए। तर भागबन्डा भने गर्न नहुने उनको भनाइ छ। महाधिवेशन आउन दुई महिना रहेकोले महाधिवेशन वातावरण बनाउनुपर्ने तर्फ सबैले जोड दिनुपर्ने उनले बताए।

‘दुवै पक्ष मिल्नुपर्छ भन्नेमा हामी छौं, मिल्दिनँ भन्दैनन्, मिलेको पनि देखिँदैन,’ उनले भने, ‘हामीले पटक पटक ध्यानाकर्षण गराएका छौं, दुवै पक्ष एकताका लागि तयार पनि देखिन्छन्। फुटको डिलमा पुगेको कांग्रेसमा सबै विचार समूहलाई एकै ठाउँमा राखेर साउन २० गते कार्यक्रम गर्दैछौं।’

पत्रकार सम्मेलनमा महरले जारी गरेको वक्तव्य

आदरणीय सञ्चारकर्मी मित्रहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू,
यहाँहरूको गरिमामय उपस्थितिप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
आज हामी ,नेपाली कांग्रेसको मात्र होइन, लोकतान्त्रिक नेपालको भविष्यसँग जोडिएको एउटा गम्भीर विषय लिएर यहाँ उपस्थित भएका छौं।
लामो समय देखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठनलाई कमजोर बनाएको छ। आज पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको छ।
नेपालको राजनीतिक इतिहासले एउटा सत्य पटक–पटक प्रमाणित गरेको छ ,जब नेपाली कांग्रेस कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ; जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण बन्छ। त्यसैले कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय होइन, यो लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो।
दुर्भाग्यवश, यतिबेला देश अनेकौं चुनौतीबाट गुज्रिरहेको छ। सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नेपाली नागरिकहरूले ज्यान गुमाएका छन्, अर्बौं मूल्य बराबरको धनसम्पत्तिमा क्षति पुगेको छ र नेपाली समाजको सद्भावमाथि चोट पुगेको छ। आर्थिक मन्दी, बेरोजगारी, युवाको पलायन, सुशासनको संकट र जनजीविकाका प्रश्न दिनप्रतिदिन गम्भीर बन्दै गएका छन्।
यस्ता राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको जनगुनासो बढिरहेको छ। अर्कोतर्फ, जनताको आवाज बुलन्द गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि पनि चिन्ताको विषय बनेको छ।
यही परिस्थितिलाई आत्मसात् गर्दै हामीले “देश र कांग्रेस जोड्ने अभियान” सुरु गरेका छौं। हाम्रो विश्वास छ’एकताबद्ध कांग्रेसले मात्र जनताको विश्वास पुनः जित्न सक्छ’लोकतन्त्रको प्रभावकारी रक्षा गर्न सक्छ र देशलाई सही राजनीतिक दिशामा अघि बढाउन सक्छ।
यसै उद्देश्यका साथ आगामी २०८३ साल साउन २० गते बिहान ११:०० बजे, मिराकल पार्टी प्यालेस, सुकेधारा, काठमाडौंमा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न तह, वर्ग र समुदायबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी पार्टी भित्रको आन्तरिक एकता थप मजबुत पार्न “राष्ट्रिय एकता भेला आयोजना गरिएको छ।”
यो अभियान कुनै व्यक्ति, कुनै गुट वा कुनै पदका लागि होइन। यो अभियान एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपालको साझा संकल्प हो। उक्त भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र अभियानको आगामी कार्ययोजना सार्वजनिक गरिनेछ।
हामी नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक, लोकतन्त्रप्रेमी नागरिक तथा सञ्चारमाध्यमहरूलाई यस ऐतिहासिक अभियानमा साथ, सहयोग र सकारात्मक सहभागिताका लागि हार्दिक आह्वान गर्दछौं।
हाम्रो विश्वास स्पष्ट छ:
“कांग्रेस जुट्यो भने लोकतन्त्र बलियो हुन्छ।
लोकतन्त्र बलियो भयो भने नेपाल बलियो हुन्छ।”
धन्यवाद।
जयनेपाल ।।

आयोजक

देश र कांग्रेस जोडने ,अभियान