July 31, 2026, Friday
२०८३ श्रावण १५

सप्तरीमा सर्वपक्षीय बैठक : धार्मिक सद्भाव र शान्ति कायम राख्न गरे प्रतिबद्धता, कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा

राजविराज : सप्तरीमा बिहीबारको सर्वपक्षीय बैठकमा छिमेकी जिल्ला सुनसरीमा भएको घटनापछि उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै धार्मिक सद्भाव, शान्ति–सुरक्षा र अमनचयन कायम राख्न सबैले आ–आफ्ना तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको अध्यक्षतामा बसेको बैठकबाट घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै गोली लागेर घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

जनप्रतिनिधिसमेतको सहभागिता रहेको बैठकले जिल्लाभित्र आपसी सद्भाव, शान्ति सुरक्षा र अमनचयन कायम राख्ने सबैको साझा दायित्व भएकोले जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका नागरिकहरुबीच आपसी एकता, सद्भाव र सहिष्णुता कायम राख्न स्थानीय तहमा समेत सद्भाव र्‍यालीको आयोजना गर्ने निर्णय भएको छ ।

सुनसरी घटनालाई पारदर्शी र निष्पक्षरुपमा छानबिन गरी दोषीउपर कारबाही, पीडित पक्षलाई क्षतिपूर्ति र घाइतेको उपचारका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने बैठकबाट निर्णय भएको हो ।

बैठकमा घटनाको सन्दर्भलाई लिएर सामाजिक सञ्जालहरुमार्फत भ्रामक अफवाह फैलाउने, एक अर्काको धर्म, आस्था, संस्कृति वा समुदायप्रति लक्षित अराजक गतिविधि गर्ने, घृणा फैलाउने गरी अभिव्यक्ति दिने र अमर्यादित टीकाटिप्पणी गरी सामाजिक सद्भाव विथोल्न खोज्नेजस्ता गतिविधि हुन नदिन सबै पक्षले आ–आफ्ना तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

क्याम्पस प्रमुख, प्रधानाध्यापक, शिक्षक र अभिभावकले आ–आफ्ना विद्यार्थी र सन्तानलाई आपसी सद्भाव, शान्ति र अमनचयन तथा बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको सुन्दर पहिचानलाई कायम राख्न सम्झाइ–बुझाइ गर्ने तथा आन्दोलनमा बालबालिकाको प्रयोगलाई पूर्णरुपमा नियन्त्रण गर्ने सबै पक्षले प्रतिबद्धता जनाएका हुन् ।

कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा

सुनसरीको देवानगञ्जमा भएको घटनापछि बिभिन्न जिल्लामा प्रदर्शन हुन चर्किएपछि बिहीबार सुनसरी, धनुषा र सिरहामा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । 

सिरहाको गोलबजार र लहान क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो गोलबजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो  । लहानमा पनि तनाव बढेपछि अपरान्हदेखि त्यहाँ पनि कर्फ्यु जारी गरिएकाे छ । 

जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण गर्दै पूर्व-पश्चिम राजमार्गको गोलबजार नगरपालिका-३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा ४ को क्याम्पस वरिपरिको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ ।

साँझ ४ बजेदेखि लहान नगरपालिकाको पूर्व-पश्चिम राजमार्गको पूर्व तर्फ बलान खोलासम्म, पश्चिम तर्फ सरस्वती खोला(बाटिका होटल पश्चिम)सम्म, उत्तर तर्फ खुट्टी खोलासम्म, दक्षिण तर्फ पूर्व-पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म वरिपरीको क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

कर्फ्यु लगाइएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन, प्रदर्शन गर्न, सभा, बैठक नाराबाजी गर्न नपाइने प्रशासनको सूचनामा छ । आदेशको उल्लंघन गरी कुनै गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ।

गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु कार्यान्वयन गराउन नेपाली सेना खटिएको थियो। गोलबजारमा बिहीबार बिहानैदेखि तनाव भएपछि जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन गोलबजारमा प्रहरीले २० राउन्डबढी अश्रुग्यास प्रहार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले तीन वटा पालिकामा कर्फ्यु आदेश जारी गरेको छ । जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ ।सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहीबार बिहानैदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी गरेको हो ।

उत्तरमा लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया-७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्व- बेलौनी रोड-एमक्यू स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म कर्फ्यु आदेश जारी भएको छ । दक्षिणमा नगराईन नगरपालिकादेखि नगराईन चोकसम्म र पश्चिम- सिनुरजोडा-सोहनी-मनिमण्डप-नेपाल नर्सरी-इस्कोन जनकपुर-दुधमती पुल, बेला, कादरी मस्जिद कर्फ्यु आदेश जारी गरिएको छ । 

सुनसरीका १० स्थानीय तहमा म‌ंगलबार रातिदेखिको कर्फ्यु आदेश बिहीबार पनि कायम छ। जिल्ला प्रशासन कार्यालयले मङ्गलबार राति ९ बजेदेखि जारी गरेको कर्फ्यु आदेश आज दिनभर लागू रहने जनाएको छ। सुरक्षाको अवस्था क्रमशः सहज बन्दै गए पनि मृतकका परिवारसँग सहमति हुन नसकेका कारण कर्फ्युलाई निरन्तरता दिइएको जनाइएको छ।

दिउँसो ४ बजे जिल्ला प्रशासनले मृतकका परिवारसँग थप छलफल भइरहेको छ। घटनापछि विगत पाँच दिनदेखि प्रशासन र मृतक परिवारबीच प्रभावकारी समन्वय हुन नसक्दा मृतकको शव अझै अस्पतालमै राखिएको छ। मृतकका परिवारले मृतकलाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान कायम राखेका छन्। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।  

वीरगन्जमा निषेधाज्ञा 
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको मुख्य तथा संवेदनशील क्षेत्रमा शुक्रबार बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सम्भावित तनाव र शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार निषेधाज्ञाको आदेश जारी गरेका हुन्।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

आदेशअनुसार तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सामूहिक गतिविधि गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

निषेधाज्ञा लागू गरिएको क्षेत्रको सीमा पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ। प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन, अफवाहमा नलाग्न तथा शान्ति–सुरक्षा कायम राख्न सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ।

धनुषाको ३ पालिकामा कर्फ्यु आदेश

जिल्ला प्रशासन कार्यालय धनुषाले ३ वटा पालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।

जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहीबार बिहानैदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी गरेको हो ।

कर्फ्यु आदेश जारी भएका स्थान

उत्तर- लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया-७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म ।

पुर्व- बेलौनी रोड-एम.क्यू. स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म ।

दक्षिण- नगराईन नगरपालिकादेखि नगराईन चोकसम्म ।

पश्चिम- सिनुरजोडा-सोहनी-मनिमण्डप-नेपाल नर्सरी-इस्कोन जनकपुर-दुधमती पुल, बेला, कादरी मस्जिद ।

कान्तिपुरबाट