संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गर्दै सांसदहरू, के भने प्रचण्डले ?

काठमाडौं : प्रतिपक्षी सांसदहरूले सुनसरीको देवानगन्जमा भएको घटनाबारे सरकार जबाफदेही हुनुपर्छ भन्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), श्रम संस्कृति पार्टी लगायत सबै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थिति माग गरेका हुन्।

देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको यति ठूलो घटनामा प्रधानमन्त्री र गृहमन्त्री दुवै उपस्थित भएर संसदलाई जानकारी गराउनुपर्नेमा १४ दिनपछि बसेको बैठकमा उनीहरू दुवै गयल भएकोमा प्रतिपक्षी सांसदहरूले आपत्ति जनाए।

विगतमा भएका यस्तै घटनामा प्रधानमन्त्री र गृहमन्त्रीलाई जबाफदेही बनाउँदै राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले अहिलेको घटनामा राजीनामा दिनुपर्छ कि पर्दैन भनेर सांसदहरूले प्रश्न पनि गरे।

सुनसरी लगायत पूर्वी नेपालका जिल्लाहरूमा शान्ति सुव्यवस्था, अमन चैन र सामाजिक सद्भाव कायम गर्न ठोस योजना ल्याउनुपर्नेमा त्यसमा पनि सरकार चुकेको उनीहरूले बताए। एकता र सद्भावको सन्देश प्रवाह गरेर समाधान खोज्नुपर्ने यो मुद्दालाई सरकारले सुरक्षाकर्मी परिचालन गरेर मात्र समाधान गर्न खोजेको भन्दै उनीहरूले खेद प्रकट गरे।

अहिलेको संवेदनशील घडीमा प्रधानमन्त्री शाहले संसदमा उपस्थित भएर आगामी योजनाबारे छलफल गर्ने र प्रतिपक्षी दलहरूलाई विश्वासमा लिने हो भने सरकारलाई साथ दिन सबै तयार रहेको पनि सांसदहरूले बताए।

संसदमा के भने प्रचण्डले ? (सम्बोधनको पूर्णपाठ)

सम्माननीय सभामुख महोदय,

लामो समय म सदनमा उपस्थित हुन सकिनँ। केही समय स्वास्थ्यमा आएको सामान्य समस्या र केही समय विदेश भ्रमणका कारण यस्तो हुन पुग्यो। संसद्मा मेरो अनुपस्थितिसम्बन्धी प्रकाशित सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आगामी दिनमा यस्तो हुनेछैन भन्ने कुरा म यस सम्मानित सदनमा आत्मसात् गर्न चाहन्छु। 

 यहाँ लामो वक्तव्य दिने उद्देश्यले आएको त होइन, तर देशमा पछिल्लो समय घटेका घटनाक्रम र सदनमा चलिरहेका बहसका सन्दर्भमा केही गम्भीर विषयमा ध्यानाकर्षण गराउन आवश्यक ठानेर उपस्थित भएको छु।

अन्य माननीय सदस्यहरूले जस्तै म पनि सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद चर्किएर भएको दुःखद घटनाप्रति गम्भीर छु। यसले कतै ठुलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र छाएको छ। 

म उक्त घटनामा ज्यान गुमाउने ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यस समग्र घटनामा सुरक्षा निकायको भूमिका कस्तो रह्यो? के त्यहाँ त्यो स्तरको गोली चलाउनैपर्ने अवस्था थियो वा थिएन? समस्या समाधानका अन्य विकल्पमा कति पहल गरियो? यी सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपिल गर्दछु।

अहिले देशको समग्र राजनीतिक परिस्थिति त्यति सहज छैन। सदनमा हामीले पक्कै पनि तर्क-वितर्क गरेका छौँ, आ-आफ्ना मत राखेका छौँ, यो स्वाभाविक हो। तर, गत निर्वाचनमा जनताले जसरी आफ्नो अभिमत प्रकट गरेका थिए, यसबिचमा सरकारका क्रियाकलापले जनताको त्यो अपेक्षालाई सम्बोधन गर्न सकेका छैनन्। बरु, दिन-प्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता बढेको छ।

सुनसरी, मोरङलगायतका स्थानमा देखिएको परिस्थितिका सन्दर्भमा म यो सम्मानित सदनमार्फत आम नेपाली जनतालाई अपिल गर्न चाहन्छु– हाम्रो ऐतिहासिक विरासत र परम्परा भनेकै सामाजिक सद्भाव कायम राख्नु र राष्ट्रिय एकताप्रति समर्पित हुनु हो। जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि संवाद र सहकार्यमार्फत जतिसुकै ठुलो द्वन्द्वलाई पनि समाधानको बाटोमा लैजान सक्ने हाम्रो गौरवशाली संस्कृति छ। 

त्यसैले, हाम्रो त्यो परम्परालाई स्मरण गर्दै देखापर्न खोजेका समस्यालाई संवाद र सहकार्यबाटै समाधान गर्न म आग्रह गर्दछु। साथै, आम जनताको एकतामाथि घुसपैठ गरी परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति र शक्तिलाई एकजुट भएर परास्त गर्न पनि म अपिल गर्दछु।

हिजो मात्रै ढिलै गरी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभयो। त्यसका लागि हामी सबैले उहाँ र उहाँको पार्टीलाई धन्यवाद दियौँ। तर, हामीले त्यहाँ एउटा गम्भीर चिन्ता पनि व्यक्त गर्‍यौँ। 

यस्तो असहज परिस्थितिमा संविधानतः, कानुनतः र व्यवहारतः सबैभन्दा बढी नेतृत्वदायी भूमिका प्रधानमन्त्रीले नै खेल्नुपर्ने हुन्थ्यो। यस्तो संवेदनशील र महत्त्वपूर्ण बैठकमा प्रधानमन्त्री र विभागीय मन्त्रीका रूपमा रिपोर्टिङ गर्नुपर्ने गृहमन्त्रीकै अनुपस्थिति हुनु हामी सबैका निम्ति चिन्ताको विषय हो।

तैपनि, सरकारको नेतृत्व गर्ने पार्टीको तर्फबाट हिजो जुन पहल भयो, त्यसलाई हामीले सकारात्मक रूपमै लिएका छौँ। हामी सबैले सामूहिक रूपमा सामाजिक सद्भाव कायम गर्न र हाम्रो गौरवशाली परम्परालाई अगाडि बढाउन अपिल गरेका छौँ। 

मैले त्यतिबेला पनि भनेको थिएँ– देशमा भएको निकै ठुलो जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा हामीले संवाद र सहकार्यलाई नै अन्तिम उपायका रूपमा प्रयोग गर्‍यौँ। त्यसबाट हामीले नेपालमा मात्र होइन, विश्वसामु नै एउटा ऐतिहासिक उदाहरण प्रस्तुत गर्‍यौँ। हाम्रो सफल शान्ति प्रक्रिया एउटा परिवर्तनकारी शक्तिका रूपमा स्थापित भएको छ, जसमा हामी सबैले गौरव गर्नुपर्छ।

त्यसपछिका घटनाक्रममा पनि देशमा जतिबेला गम्भीर राजनीतिक सङ्कट देखा परे, ती गाँठो फुकाउन सत्तापक्ष र प्रतिपक्षले जहिले पनि संवाद र सहकार्यकै बाटो रोजेका छन्। म आज यस सम्मानित सदनमा स्मरण गराउन चाहन्छु– संविधान निर्माणका बेला देखा परेका सङ्कट हुन् वा तराई-मधेस, पहाड र हिमालमा चर्किन खोजेको द्वन्द्वको स्थिति होस्, हामीले सहकार्यबाटै निकास निकालेका हौँ। 

म दोस्रोपटक प्रधानमन्त्री à