कांग्रेस इतर पक्षले घोषणा गर्यो राष्ट्रिय भेला, सभापति थापाको कार्यशैली नसच्चिए पार्टी विभाजनमा जाने दिए चेतावनी

काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ । बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका हुन् ।
उनका अनुसार, साउन २९ गते काठमाडौंमा गर्नेगरी राष्ट्रिय भेला तय गरिएको हो । ‘हामीले सातै प्रदेशमा भेला गरिसकेका छौं,’ उनले भने, ‘यो भेलापछि हामी आफ्नो बाटो लिन्छौं ।’
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका नेताहरूले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाको एकलौटी कार्यशैली नसच्चिए पार्टी विभाजनको बाटोमा जाने चेतावनी दिए ।
बीपीको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा शीर्ष नेताहरूले सामूहिक असन्तुष्टि व्यक्त गर्दै सभापति थापाले सबै पक्षलाई समेटेर अगाडि नबढाए कांग्रेसको अस्तित्व संकटमा पर्ने र अन्ततः पार्टी फुट्ने बताएका हुन् ।
कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको भविष्य र एकताको सम्पूर्ण साँचो सभापति थापाकै हातमा रहेको बताए । ‘गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) ले नचाहँदासम्म विगतमा फुटेको नेपाली कांग्रेस एक भएको थिएन, अहिले गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन । मैले सभापतिजीलाई भेटमै भनेको छु- पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा तपाईंको हातमा छ । आज मिलाउने निर्णय तपाईंले गर्ने हो, त्यो बुझ्नुहोला,’ खड्काले भने ।
खड्काले नियमित १४औँ महाधिवेशन र विशेष महाधिवेशनका संरचनालाई नजोडी पार्टी एक हुन नसक्ने बताए । ‘नियमित महाधिवेशन र विशेष महाधिवेशन जोड्नुस् गगनजी, त्यो जोड्नुभयो भने कांग्रेस एक हुन्छ । १५औँ महाधिवेशन निष्पक्ष र स्वतन्त्र हुन्छ भन्ने ग्यारेन्टी गर्नुस्, कांग्रेस एक हुन्छ,’ खड्काले भने, ‘केन्द्रीय समितिलाई जोड्नुस् भनेका हौँ, के सबैलाई एकै ठाउँमा राख्नुस् भन्दा पद मागेको हो ? हामीले यसअघि नै सबै पदहरू पाइसकेका छौँ, हामीलाई पद चाहिएको छैन । हामी अन्तिम क्षणसम्म सहमतिका लागि लागिरहन्छौँ, तर सम्मान त्यागेर समर्पण गर्न सकिन्न, बरु मर्न तयार हुन्छौँ ।’
पार्टीभित्र बढ्दै गएको निरंकुशताप्रति चिन्ता व्यक्त गर्दै अर्का नेता डा. शेखर कोइरालाले कांग्रेस आफैँ निरंकुशताको अन्त्यका लागि जन्मिएको भए पनि अहिले पार्टीभित्रै निरंकुश प्रवृत्ति देखिन थालेको आरोप लगाए । ‘अहिले पार्टीमै निरंकुशता जन्मिन लागेको छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ,’ डा. कोइरालाले भने । उनले सभापति गगन थापाले विशेष महाधिवेशनमा सामाजिक लोकतन्त्रको कुरा गरेकोमा असन्तुष्टि व्यक्त गरे ।
उनले कांग्रेसको आदर्श र सिद्धान्त बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद भएको बताउँदै भने, ‘कांग्रेसको आदर्श बीपीले प्रतिपादन गरेको विचार प्रजातान्त्रिक समाजवाद हो, के कांग्रेसले यो विचार छोडेको हो ?’
नेता कोइरालाले सभापति थापाले पार्टी एकताको पहल नगरे त्यसपछि आउने अवस्थाको जिम्मेवारी आफैँले लिनुपर्ने चेतावनी पनि दिए । ‘कदमकदाचित सभापतिले पहल गर्नुभएन भने त्यसको सम्पूर्ण जिम्मेवारी उहाँ आफैँले लिनुपर्छ । सभापतिजी, बीपीको विचार सम्झिनुस्, व्यक्तिवादी नबन्नुस्,’ उनले भने ।
पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टी एकताका लागि आफूहरूले राखेका आधारहरूलाई बेवास्ता गरिए नयाँ बाटो रोज्नुपर्ने बाध्यता सिर्जना हुने चेतावनी दिए । ‘हामीले सहमतिका लागि बाहिर ल्याएका एजेन्डालाई एकताको आधार बनाउनुपर्छ, त्योभन्दा तलमाथि हुन सक्दैन,’ निधिले भने, ‘हामीले अत्यन्तै सामान्य माग राखेका छौँ, तर सहमति गर्न किन हिचकिचाइएको ?’
यी माग सभापतिले पूरा गर्न नचाहेमा उनी पार्टीलाई एक राख्न नचाहेको आफूहरूले बुझ्ने निधिको भनाइ थियो । ‘यी माग र आधार पनि नमाने उहाँ पार्टी एक राख्न चाहनुभएको छैन र उहाँ अपरिपक्व देखिनुहुन्छ,’ निधिले भने । सभापति थापामा नेतृत्वमा हुनुपर्ने दूरदर्शिता नदेखिएको टिप्पणी गर्दै उनले आफूहरूले घोषणा गरेको राष्ट्रिय भेलाको मितिसम्म सहमति नभए नयाँ बाटो तय गर्न बाध्य हुने चेतावनी दिए । ‘हामीले घोषणा गरेको राष्ट्रिय भेलासम्म पनि सहमति भएन भने नयाँ बाटो तय गर्न हामी बाध्य हुनेछौँ,’ निधिले भने ।
पूर्वमहामन्त्री शशाङ्क कोइरालाले बीपी कोइरालाको मेलमिलाप र राष्ट्रिय सहिष्णुताको नीतिलाई अक्षरशः पालना गर्दै अघि बढ्नुपर्ने बताए । “बीपी कोइरालाको त्याग र तपस्यालाई हामी कसैले पनि अवमुल्यन गर्नुहुँदैन”, उनले भने, “बीपीको सिद्धान्त र विचारलाई सधैँ जीवन्त राख्नेछौँ र कहिल्यै पनि मर्न दिने छैनौँ ।”
पूर्वमहामन्त्री तथा बीपी पुत्र डा. कोइरालाले पार्टीभित्रको मतभेद र असन्तुष्टिलाई समयमै सम्बोधन गर्दै पार्टी एकतालाई कायम राख्न आग्रह गरे । नेता कोइरालाले बीपीले राजनीतिलाई सत्ताहित भन्दा राष्ट्रहितलाई केन्द्रमा राखेर गरेको राजनीतिलाई सबै कांग्रेसीजनले अनुसरण गर्नुपर्ने बताए ।
नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले कांग्रेसको सामूहिक निर्णयको संस्कृति भत्काएर एकलौटी रूपमा पार्टी चलाएको आरोप लगाए । ‘विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापाले नेपाली कांग्रेस एक्लै चलाउनुभएको छ । कांग्रेसको संस्कार त्यो होइन, सामूहिक रूपमा चलाउनुपर्छ । सबैको विचारलाई जोडेर मन्थन गर्दै अगाडि बढ्नुपर्छ,’ डा. महतले भने । उनले पार्टीमा आफूहरूले बृहत्तर एकता खोजेको र त्यसका लागि १५औँ महाधिवेशन निष्पक्ष हुने वातावरण निर्माण गर्नुपर्ने बताए । ‘१५औँ महाधिवेशन निष्पक्ष हुन र सबैको सम्मानजनक सहभागिता रहन जरुरी छ । त्यसका लागि १४औँ


