July 13, 2026, Monday
२०८३ असार २९

बझाङ जीप दुर्घटना : खराब मौसमले हेलिकोप्टर अवतरण हुन सकेन, सदरमुकाम फर्कियो

धनगढी : बझाङ जिप दुर्घटनाका घाइते उद्धार गर्नका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ ।

केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइते उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेर सदरमुकाम चैनपुर फर्किएको हो ।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो । पहिलोपटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रोपटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन ।

हेलिकोप्टर अवतरण हुन नसकेपछि घाइतेहरुलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याइँदैछ । भाेलि माैसम सफा भएपछि हेलिकोप्टरबाट सुविधायुक्त अस्पताल पठाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी केसरीले बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते छन् । ज्यान गुमाउनेहरूमा केदारस्यूँ– ७ की बिमला धामी, दुर्गाथली– ६ की ६० वर्षीया केलादेवी महत र ६० वर्षीय चक्र महत रहेका छन् ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर घाइते हुनेको संख्या १३ पुगेको छ । अन्य ६ जनाको अवस्था मध्यम रहेको छ ।