निर्मला पन्त हत्या प्रकरण : अनुसन्धानमा नयाँ टोली खटियो, डीएनए परीक्षणको ‘च्याप्टर क्लोज’

काठमाडौं : निर्मला पन्तको बलात्कारपछि हत्या भएको आठ वर्ष पूरा हुँदै छ । ०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । तर, प्रहरीले अझैसम्म हत्याको अनुसन्धान सुल्झाउन सकेको छैन ।
हत्या अनुसन्धानका निम्ति प्रहरी प्रधान कार्यालयले पुनः नयाँ समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयमै कार्यरत एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा अनुसन्धान समिति बनाइएको हो । उनी नेतृत्वको टोलीले केही दिनअघिदेखि काम थालिसकेको छ ।
पंगेनी यसअघि निर्मला हत्याको अनुसन्धानमा खटिएका अधिकारी होइनन् । समिति बनाइएलगत्तै अनुसन्धानमा खटिएको एक टोली कञ्चनपुर पुगेको छ । प्रहरी प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेले पंगेनी नेतृत्वको टोलीमा अरू १३ प्रहरी अधिकारी संलग्न रहेका जानकारी दिए ।
नेपाल प्रहरीको इतिहासमा सबैभन्दा बढी खर्च र जनशक्ति परिचालन गरेर अनुसन्धान गरिएको घटना नै निर्मला हत्या प्रकरण हो । प्रहरी प्रधान कार्यालयले बितेका आठ वर्षको अवधिमा निरन्तर अरू टोली अनुसन्धानका निम्ति खटाइएको जनाएको छ ।
नसुल्झिएको निर्मला हत्या अनुसन्धानकै कारण प्रहरी संगठनको छवि धूमिल भएको छ । निर्मला हत्यापछि नेपाल प्रहरीमा आठ आईजीपी फेरिइसकेका छन् । तर, हत्या प्रकरणको अनुुसन्धानले पूर्णता पाएको छैन ।
निर्मलाको हत्या गरिँदा नेपाल प्रहरीको आईजीपी थिए, सर्वेन्द्र खनाल । आफू बहाल रहँदाको समयको घटना उनले सुल्झाउन सकेनन् । उनको अनिवार्य अवकाशपछि नेतृत्वमा आए, आईजीपी ठाकुरप्रसाद ज्ञवाली । उनले पनि घटना सुल्झाउन सकेनन् ।
त्यसयता प्रहरी प्रमुख एवं आईजीपीमा शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह, वसन्त कुवँर, दीपक थापा, चन्द्रकुवेर खापुङ र हाल दानबहादुर कार्की छन् ।
पछिल्लो समय निर्मला हत्याको अनुसन्धान गर्न जाने प्रहरी अधिकारी घटना छानबिनभन्दा पनि समय बिताउन कञ्चनपुर पुग्ने गरेका गुनासो प्रहरी अधिकारी नै गर्छन् ।
निर्मला हत्याको अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालयले हालसम्म काठमाडौंबाट दर्जनौँ प्रहरी अधिकारी कञ्चनपुर पठाइसकेको छ । कञ्चनपुर प्रहरी प्रमुखमा समेत धेरै अधिकारी परिवर्तन भइसके । अरू पनि दर्जनौँ समिति बनाइयो, तर सबै नतिजाविहीन ।
निर्मलाको बलात्कार र हत्या गरिँदा कञ्चनपुर प्रहरी प्रमुखमा एसपी दिल्लीराज बिष्ट थिए । उनी एसएसपी पदबाट अवकाशमा गइसकेका छन् । तत्कालीन एसपी बिष्टकै टोलीले उक्त घटनाको एक महिनापछि भदौ ४ गते भीमदत्त नगरपालिका–१९ का दिलीपसिंह बिष्टलाई पक्राउ गरी अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।
तर, सोही कारण बिष्ट आफैँ कारबाहीको भागीदार बने । निर्मला हत्याको अनुसन्धान गर्न पुगेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन डीएसपी अंगुर जिसी समेत कारबाहीमा परे ।
दिलीप बिष्ट पक्राउको विरोधमा कञ्चनपुर तनावग्रस्त नै बनेको थियो । प्रदर्शन उग्र बन्दा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवा सन्नी खुनाको मृत्यु समेत भएको थियो । पछि निर्मलाको भेजाइनल स्वाबसँग डीएनए नमिलेपछि अदालतको आदेशले दिलीप थुनामुक्त भए ।
अनुसन्धानको सुई अझै दिलीपतिरै
दिलीपसिंह बिष्टलाई पक्राउ गर्दा कारबाही भोग्नुपरेका प्रहरी अधिकारीले हत्याको सूई अझै उनीमाथि नै सोझिएको जिकिर गर्दै आएका छन् ।
तत्कालीन एसपी बिष्टले केही दिनअघि सार्वजनिक रूपमा नै निर्मला हत्या प्रकरणमा अझै दिलीपमाथि अनुसन्धान गरिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । दिलीप पक्राउपछि कञ्चनपुरका पत्रकार खेम भण्डारीले घटनालाई गिजोल्दा अनुसन्धान नै प्रभावित भएको उनको जिकिर छ ।
निर्मला हत्या प्रकरणसँग सम्बन्धित समाचारका कारण व्यक्तिको चरित्रहत्या भएको भन्दै कञ्चनपुर जिल्ला अदालतले पत्रकार भण्डारीलाई दोषी ठहर गरेको थियो । हाल भण्डारी कैद भुक्तान गरिरहेका छन् ।
तत्कालीन एसपी दिल्लीराजका छोरा किरण बिष्टको निवेदनका कारण भण्डारी जेल पुगेका हुन् । भण्डारीलाई एक महिना सात दिन जेल सजाय र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिएको थियो ।
निर्मलाकी आमा दुर्गादेवी पन्तले समेत सुरुमा उनको हत्यामा दिलीपको संलग्नता हुन सक्दैन भनेकी थिइन् । पछि निर्मलाको हत्यामा दिलीपकै संलग्नता रहेको भन्दै उनी आफैँले किटानी जाहेरी समेत दिएकी छन् ।
डीएनएले गिजोलेको थियो अनुसन्धान
निर्मला हत्या अनुसन्धानमा सबैभन्दा गिजोलिएको विषय थियो, डीएनए परीक्षण । डीएनए परीक्षणको ‘च्याप्टर क्लोज’ हुँदा पनि प्रहरी अपराधीसम्म पुग्न सकेको छैन ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख रहेका डीएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले निर्मला हत्याका अभियुक्त डीएनएबाट पत्ता नलाग्ने स्पष्ट पार्दै गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।
डीएनएको नमुना परीक्षणबारे छानबिन गर्न बनाइएको उक्त समितिले निर्मलाको भेजाइनल स्वाबको संकलनमा केही त्रुटि भएको निष्कर्षसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको थियो ।
डीएनएबाहेक दिलीपले निर्मला हत्या घटनाबारे दिएको बयान सबै मिल्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताउँदै आएका छन् ।
निर्मला हत्या प्रकरणमा प्रहरीले २०० भन्दा बढी व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गरेको थियो । सयौँ व्यक्तिको डीएनए परीक्षण गरिएको थियो ।
अब कसरी गरिन्छ अनुसन्धान ?
एसएसपी कृष्ण पंगेनी नेतृत्वको समितिले पनि हालसम्म प्राप्त सूचना र प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइने जनाएको छ । यो समितिमा निर्मला हत्या घटना अनुसन्धान गरेका प्रहरी निरीक्षकदेखि एसपी समेत छन् ।
निर्मला हत्या प्रकरणको अनुसन्धानमा नयाँ सूचना प्राप्त गर्ने उद्देश्यले प्रहरीले ‘कोभर्ट’ शैली अपनाएको थियो । तर, प्रहरीले सोचजस्तो सूचना पाएन । सुरुआती चरणमै घटना गिजोलिँदा अनुसन्धानको दिशा मोडिएको प्रहरी अधिकारी जिकिर गर्छन् ।
हालको टोलीले डीएनए परीक्षणबाहेक अरू प्रमाणजन्य आधारमा अनुसन्धान केन्द्रित गरेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, “डीएनए नै अन्तिम सत्य हो, पहिला त्यही विधि अपनाउने भन्ने थियो । तर, डीएनए संकलनका क्रममा त्रुटि भएको खुलेपछि हामी अब त्यतातिरभन्दा पनि अन्य प्रमाणलाई आधार बनाएर अनुसन्धान गर्छौं ।”
बाह्रखरीबाट





प्रतिकृया दिनुहोस्