दलहरूले समानुपातिकबाट निर्वाचित हुनेको सुचि आयोगमा बुझाए, को को परे ?

काठमाडौँ : समानुपातिक मतमा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका राजनीतिक दलहरूले उमेदवारको सूची बुझाएका छन् ।
रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले समानुपातिकबाट निर्वाचित हुनेको नाम निर्वाचन आयोगमा बुझाएका हुन् ।
समानुपातिक मतमा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका राजनीतिक दलहरूले आइतबार सूची बुझाएका हुन् ।
समानुपातिकतर्फको १ सय १० सिटमा रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएका छन् ।
निर्वाचन आयोगले सिट तोकेरै समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारको नाम तीन दिनभित्र पठाउन बिहीबार दलहरूलाई पत्र लेखेको थियो ।
दलबाट प्राप्त सूचीमा समावेशी समूहअनुसार नाम मिले/नमिलेको सोमबारदेखि रुजु गरिने आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘सूचीमा नमिलेको पाइए मिलाएर ल्याउन सम्बन्धित दललाई फेरि पत्राचार गर्छौं,’ उनले भने, ‘त्यसपछि मात्रै निर्वाचित हुने सांसदहरूको सूची प्रकाशन हुन्छ ।’
सूची प्रकाशनपछि निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ । समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्यको टुंगो लागिसकेपछि प्रतिवेदन तयार गरेर निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाउनेछ । त्यसपछि रास्वपालाई सरकार बनाउने बाटो खुल्छ । ‘एक साताभित्रै राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने लक्ष्य राखेका छौं,’ आयोगका प्रवक्ता भट्टराईले भने ।
प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० (६) मा ‘दलले प्राप्त गरेको सिट संख्याका आधारमा दलित (१३.८ प्रतिशत), आदिवासी जनजाति (२८.७ प्रतिशत), खस–आर्य (३१.२ प्रतिशत), मधेशी (१५.३ प्रतिशत), थारू (६.६ प्रतिशत) र मुस्लिम (४.४ प्रतिशत) को प्रतिनिधित्व हुने गरी बन्दसूचीमा समावेश भएको क्रमअनुसार’ दलहरूले आयोगमा सूची बुझाउनुपर्ने व्यवस्था छ । छनोट गरिएका नाममा कम्तीमा ४.३ प्रतिशत व्यक्ति पिछडिएको क्षेत्रबाट हुनुपर्छ । संघीय संसद्मा सम्बन्धित दलबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व हुने गरी समेत समानुपातिक कोटाबाटै मिलाउनुपर्छ ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाको समानुपातिकबाट समेत गरी १ सय ८२ सिट छ । त्यसको एक तिहाइ अर्थात् ६१ जना महिला हुनुपर्छ । राष्ट्रिय सभामा रास्वपाको प्रतिनिधित्व छैन । रास्वपामा प्रत्यक्षबाट निर्वाचित महिलाको संख्या १३ छ । त्यसैले समानुपातिकबाट कम्तीमा ४८ महिला हुने गरी रास्वपाले आदिवासी जनजातिबाट १६, खस–आर्यबाट १८, थारूबाट ४, दलितबाट ८, मधेशीबाट ९, मुस्लिमबाट २ जनाको प्रतिनिधित्व गराउनुपर्छ ।
रास्वपाले समानुपातिक प्रणालीतर्फ निर्वाचित हुने उम्मेदवारको नाम सचिवालय बैठकबाट टुंगो लगाएको हो । सचिवालय बैठकअघि समानुपातिकबाट क–कसलाई सांसद बनाउने भन्ने विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच छलफल भएको थियो । बैठकको निर्णयपछि महामन्त्री कबिन्द्र बुर्लाकोटीले निर्वाचन आयोगमा सूची बुझाएका थिए ।
रास्वपाका प्रवक्ता मनीष झाले कानुनी व्यवस्थाअनुसार नै सूची तयार गरेर निर्वाचन आयोगमा पठाइएको जानकारी दिए । उनका अनुसार खस–आर्यमा १६ महिला र १ पुरुष गरी १७ जनाको नाम सिफारिस गरिएको छ । थारूमा २ महिला र २ पुरुष, मधेशीमा ७ महिला र २ पुरुष तथा मुस्लिममा ३ महिलाको नाम बुझाइएको छ । दलित ‘क्लस्टर’ बाट ७ महिला र १ पुरुष, आदिवासी जनजातिबाट १३ महिला र ३ पुरुष छानिएका छन् । ‘राजनीतिक र कानुनी रूपमा आयोगले प्रमाणित नगरेसम्म ती नाम हाम्रोतर्फबाट प्रस्तावित मात्र हुनेछन्,’ झाले भने ।
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय गरेर समानुपातिक प्रणालीबाट निर्वाचित हुने १५ महिला र ५ पुरुषको नाम निर्वाचन आयोगमा पठाएको छ । संघीय संसद्का दुवै सदनमा गरेर कांग्रेसबाट ६२ सदस्य हुन्छ । कांग्रेसका सांसद राष्ट्रिय सभामा २४ जना छन्, प्रतिनिधिसभामा प्रत्यक्षबाट १८ जना निर्वाचित भएका छन् । कुल सदस्य संख्या (६२) को ३३ प्रतिशत अर्थात् २१ महिला कांग्रेसले प्रतिनिधित्व गराउनुपर्छ । कांग्रेसबाट प्रत्यक्ष निर्वाचित एक र राष्ट्रिय सभामा पाँच महिला छ । अपुग १५ जना समानुपातिकबाट कांग्रेसले छनोट गरेको हो ।
समानुपातिकतर्फ कांग्रेसले पाउने सिटमा सर्वसम्मतिले नाम टुंगो लगाइएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । एक पटक समानुपातिकतर्फबाट सांसद भइसकेका नाम नदोहोर्याउने नीति लिएका कारण कांग्रेसको सूचीमा नयाँ अनुहारको बाहुल्य छ । खस–आर्यबाट पटक–पटक मन्त्री भएका र समकालीन राजनीतिमा सबैभन्दा बढी चुनाव लडेका अर्जुननरसिंह केसी खस–आर्य ‘क्लस्टर’बाट छानिएका छन् । उनको छनोटलाई लिएर सर्वत्र आलोचना भइरहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूचीमा खस–आर्य समूहको पुरुषतर्फ पहिलो नम्बरमा रहेका ७८ वर्षीय केसी पार्टी सभापति गगन थापाका ससुरा हुन् ।
पुस्तान्तरणको मुद्दा झिकेर तत्कालीन सभापति शेरबहादुर देउवामाथि कटु आलोचना गर्ने केसी आफैंले पालो नछाडेको भन्दै आलोचना भएको छ । विद्यार्थी राजनीतिमा छँदा कांग्रेसमा रहे पनि २०३८ सालमा राष्ट्रिय पञ्चायतमा प्रवेश गरेर केसीले चुनाव लडेका थिए । त्यतिबेलै उनी राज्यमन्त्री पनि भए । २०४३ मा दोस्रो पटक चुनाव लड्दा पराजित भए । २०४५ मा जिल्ला पञ्चायतका सभापति भए । पञ्चायतकालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको नजिक भएर उनले काम गरे । २०४६ पछि उनी कांग्रेसमा फर्किए । २०४८, २०५१, २०७० र २०७९ मा चुनाव जिते । त्यस कालखण्डमा पटक–पटक मन्त्री भए । उनी चुनाव लड्दै आएको नुवाकोट–२ मा यस पटक भाइ जगदीशनरसिंह केसी उम्मेदवार थिए, तर पराजित भए ।
आदिवासी जनजाति समूहबाट समानुपातिक सांसद बन्दै गरेका भीष्मराज आङ्दम्बे पनि पुराना नेता हुन् । पाँचथरका उनी २०७० को संविधानसभा निर्वाचनमा विजयी भएका थिए । उनी २०७४ र २०७९ मा भने पराजित भएका थिए । उनी देउवा नेतृत्वको कार्यसमितिमा सहमहामन्त्री थिए ।
आदिवासी जनजाति समूहअन्तर्गत छनोट गरेका मदनकृष्ण श्रेष्ठ भक्तपुर निवासी हुन् । बन्दसूचीमा आदिवासी जनजाति समूहको १६ औं नम्बरमा रहेका उनलाई अपांगताबाट छनोट गरेको हो । मधेशी समूहबाट छानिएका चन्द्रमोहन यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् । खस–आर्य महिलाबाट प्रतिनिधित्व गर्ने रिना उप्रेती पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती हुन् । एमालेले उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई समानुपातिक सांसदमा सिफारिस गरेको छ । प्रत्यक्षमा प्रतिस्पर्धा गरेका सबै (११) पदाधिकाà


