January 1, 2026, Thursday
२०८२ पुष १७

समानुपातिकको बन्दसूची बुझाउने आज अन्तिम दिन: ५ दलले बुझाए, उम्मेदवार छान्न अन्तिम गृहकार्यमा अन्य दल

काठमाडौँ : फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसमम्म ५ वटा दलले समानुपातिकतर्फ बन्दसूची बुझाएका छन् ।

हालसम्म नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले बन्द सूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ ।

नेमकिपा र राष्ट्रिय जनमोर्चाले १ सय १० जनाकै सूची बुझाएका छन् भने नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२ र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० जनाको सूची आयोगमा बुझाएका छन् ।

Parties in race to submit closed lists for proportional representation, 5 parties have already submitted them

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार गर्ने अन्तिम गृहकार्यमा राजनीतिक दलहरू लागेका छन् । निर्वाचन आयोगले बन्दसूची बुझाउने समय आइतबार र सोमबारका लागि तोकेको भए पनि अधिकांश दलले दोस्रो दिन आज मात्रै बुझाउने अन्तिम तयारीमा छन् ।

कांग्रेसले समानुपातिक उम्मेदवार छान्न भूगोल र जनसंख्याका आधारमा प्रदेशलाई कोटा निर्धारण गरेर छलफल गरिरहेको छ । केन्द्रीय सदस्य बलबहादुर केसीका अनुसार क्षेत्रीय समिति हुँदै सिफारिस गरिएका नामको संख्या करिब १८ सय छ । निर्वाचनमा भाग लिने दलले समानुपातिक प्रणालीतर्फ न्यूनतम ११ र अधिकतम ११० उम्मेदवारको सूची बुझाउनुपर्छ । सूचीमा कम्तीमा ५० प्रतिशत महिला हुनुपर्छ ।

कांग्रेसले समानुपातिकमा सबै जिल्लाको प्रतिनिधित्व गराउने तयारी गरेको छ । २०६४ सालयता समानुपातिकतर्फ अवसर पाएकालाई यस पटक नदोहोर्‍याउने मापदण्ड तय गरिएको छ । समानुपातिक प्रतिनिधित्वको व्यवस्था नेताहरूले दुरुपयोग गरेको आरोप लागेका कारण कांग्रेसले यस पटक समानुपातिकमा नदोहोर्‍याउने निर्णय गरेको हो । प्रदेशका सांसद, प्रदेशसभाको समानुपातिक सूचीमा नाम भएका उम्मेदवार र स्थानीय तहका पदाधिकारीलाई पनि कांग्रेसले उम्मेदवार नबनाउने भएको छ ।

कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रबाट समानुपातिक समावेशिताका आधारमा कम्तीमा एक महिलासहित तीन जनाको नाम पठाउन निर्देशन गरेको थियो । तर जिल्लाले आकांक्षी सबैको सूची केन्द्रमा पठाइदिएकाले छनोटमा कठिनाइ परिरहेको नेताहरूले बताएका छन् । पहिले समानुपातिकमा अवसर पाएकालाई नदोहोर्‍याउने मापदण्ड तय भएपछि आकांक्षीको संख्या केही घटेको छ । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार कार्यसम्पादन समितिमा रहेका सम्बन्धित प्रदेशका नेता र प्रदेश कार्यसमिति सभापतिले छलफल गरेर उम्मेदवारको नाम टुंग्याउनेछन् ।

एमाले केन्द्रीय सचिवालय बैठकले समानुपातिक उम्मेदवारको सूची टुंग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । आइतबारको सचिवालय बैठकमा प्रस्तावित नाममा छलफल भए पनि अन्तिम निर्णय गर्ने जिम्मा ओलीलाई दिइएको सचिव राजन भट्टराईले जानकारी दिए । ‘अध्यक्षले ११० नाम प्रस्ताव प्रस्तुत गर्नुभयो । त्यसमा साथीहरूको राय आएको छ,’ उनले भने, ‘सोमबार अध्यक्षले टुंग्याएपछि निर्वाचन आयोगमा सूची बुझाउँछौं ।’

एमालेले गएको निर्वाचनमा समानुपातिक सूचीमा परिसकेका उम्मेदवार नदोहोर्‍याउने नीति लिएको छ । समानुपातिक सूचीमा सचिव पद्मा अर्याललाई महिला ‘क्लस्टर’ को एक नम्बरमा प्रस्ताव गरिएको छ । खस आर्यको एक नम्बरमा पूर्वउपाध्यक्ष गुरु बरालको नाम राखेको छ । नेताहरू शान्ता चौधरी, नीरु पाल, टुका हमाललगायतको नाम पनि सिफारिस गरेको छ । जेन–जी समूहबाट नीता घतानीको नाम पनि राखिएको छ । प्रदेश र जिल्ला कमिटीको सिफारिसका आधारमा एमालेले उम्मेदवार तय गर्न लागेको हो ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले पनि समानुपातिक उम्मेदवारको नाम टुंग्याउन गृहकार्य गरिरहेका छन् । तत्कालीन माओवादी, एकीकृत समाजवादीसहित १५ घटकका व्यक्ति समेटेर उनीहरूले समानुपातिक उम्मेदवारको सूची तयार पार्नेछन् ।

नेकपाका नेता वर्षमान पुनले एकताको भावना समेट्ने गरी उम्मेदवारको सूची तयार गरिने बताए । नेकपाले जेन–जी र महिला अनिवार्य सिफारिस गर्न मातहत समितिलाई निर्देशन दिएको थियो ।

जसपा नेपालका नेता मनीष सुमनले जनजाति, मधेश, दलित आन्दोलनबाट आएका व्यक्तिलाई समानुपातिक उम्मेदवार बनाइने जानकारी दिए । ‘पार्टी संसदीय बोर्डले सूचीलाई अन्तिम रूप दिएपछि निर्वाचन आयोगमा बुझाउँछौं,’ उनले भने । जनमत पार्टीका महासचिव चन्दन सिंहले हिमाल, पहाड, तराई–मधेश समेटेर युवा, पढेलेखेका व्यक्तिलाई समानुपातिकमा उम्मेदवार बनाइने जानकारी दिए । नागरिक उन्मुक्ति पार्टी नेपाललगायत दल पनि समानुपातिक उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा छन् ।

उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने तयारी गरेको छ । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँगको वार्तामा सहमति नजुटेपछि एक्लै बन्दसूची बुझाउने तयारीमा कुलमान घिसिङ लागेका हुन् ।

आगामी दिनमा रास्वपासँग एकता संवादको बाटो खुला राखेर समानुपातिक बन्दसूची बुझाउने तयारी भइरहेको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए ।

रास्वपा र शाहसँगको छलफल गरेर समानुपातिक सूची तयार पार्ने समय अभाव भएकाले अहिले एक्लै समानुपातिक सूची बुझाउन लागिएको थापाले बताए ।

‘रास्वपासँग छलफल चलिरहेको छ । तर समानुपातिक बन्दसूची उहाँहरूसँगै बसेर तयार पार्नका लागि समय भएन । संवादलाई निरन्तरता रहने गरी समानुपातिक बन्दसूची एक्लै बुझाउने तयारी गरेका छौं,’ थापाले भने, ‘बन्दसूचीका लागि आफ्नो तयारी गरिरहेका छौं । समानुपातिक सूची आयोगले तोकेको समयभित्र बुझाउने तयारीमा छौं ।’

आइतबार साँझ पनि रवि लामिछाने, बालेन्द्र शाह र मन्त्री घिसिङबीच छलफल भएको थियो । तर सहमति नभएपछि रास्वपासँगै बन्दसूची बुझाउने सम्भावना सकिएको हो ।

राजनीतिक दलहरूले समानुपातिक सूचीमा दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत समेट्नुपर्नेछ ।