महाधिवेशनबारे कांग्रेस अनिर्णित : नेतृत्व र पदाधिकारीको योग्यतामाथि नै प्रश्न

काठमाडौँ : बारम्बार बैठक स्थगित गरेर निर्णय गर्न नसकेपछि कांग्रेसका केन्द्रीय नेतृत्व र पदाधिकारीको योग्यतामाथि नै प्रश्न उठ्न थालेको छ। विधानले तोकेको समयमा महाधिवेशन गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदा-हुँदै पनि केन्द्रीय कार्यसमिति महिनौँदेखि एउटै निर्णय गर्न सकिरहेको छैन।
बिहीबार दिउँसो १ बजेलाई बोलाएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘थप छलफल आवश्यक परेको’ भन्दै शनिवार सम्मका लागि स्थगित गरेका छन्। यो स्थगित चौथो पटक हो। कात्तिक २७ मा पदाधिकारी तथा सदस्यहरूले धारणा राखिसकेपछि पनि निर्णय गर्न नसक्नुले केन्द्रीय कार्यसमितिको अक्षमता र अयोग्यतामाथि पार्टीका नेता तथा कार्यकर्ताहरूले सार्वजनिक रूपमा नै प्रश्न उठाउन थालेका छन्।
पार्टी विधान अनुसार हरेक चार वर्षमा महाधिवेशन अनिवार्य गर्नुपर्छ। १४ औँ महाधिवेशन २०७८ मंसिरमा सकिएको थियो। अर्थात् २०८३ मंसिर मसान्तभित्र १५ औँ महाधिवेशन गरिसक्नुपर्थ्यो। तर, आज मंसिर ४ गते भइसक्यो, अझै तालिकाको विषयमा कांग्रेसभित्र चर्को विवाद बनेको छ।
विधानले विशेष कारण देखाएर एक वर्ष कार्यकाल बढाउन सक्ने व्यवस्था गरे पनि जेन(जी आन्दोलनको पृष्ठभूमिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २१ फागुनमा घोषित निर्वाचन अगाडि नियमित वा विशेष जे गरे पनि महाधिवेशन सम्पन्न गराउनुपर्ने अडान लिएका छन्। तर, विधानअनुसार मंसिरभित्र कार्यकाल सकिँदापनि संस्थापन पक्षका पूर्व पदाधिकारीहरू भने वैशाख अगाडि कुनै पनि हालतमा महाधिवेशनको तालिका ल्याउन सहमत छैनन्।
उनीहरू वैशाखमा महाधिवेशनको तालिका ल्याउनुपर्ने पक्षमा छन्। तर, महामन्त्री द्वय २१ फागुनमा तोकिएको निर्वाचन वैशाखमा सर्न सक्ने र त्यसपछि फेरि निर्वाचनका बहानामा अर्को ६ महिना मिति सार्न चलखेल हुने आशंका गरेका छन्। केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी तथा सदस्यहरूले धारणा राख्ने क्रम कात्तिक २७ मै सकिएको थियो। महाधिवेशनको विषयमा बैठकले गर्ने निर्णयमा दुई पक्ष नै अडानबाट टसमस नहुँदा कांग्रेस अनिर्णयको भूमरीमा फसिरहेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले केही सर्तसहित पुस मसान्तभित्रै १५ औँ महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अघि सारे पनि त्यसलाई महामन्त्री र विशेष महाधिवेशनका पक्षधर नेताहरूले महाधिवेशन गराउने नियत नभएको भन्दै स्वीकार गरेका छैनन्। महाधिवेशन हुने सुनिश्चित आधारसहितको तालिका आउनुपर्ने उनीहरूको माग छ।
संस्थापन पक्षभित्र सात पूर्व पदाधिकारीले फागुन २१ गतेको निर्वाचन अगाडि कुनै पनि प्रकारको महाधिवेशन नगर्ने अडान लिएका छन्। उनीहरूले महामन्त्री र आफूहरूको प्रस्तावलाई केन्द्रीय कार्यसमितिमा लगेर बहुमत–अल्पमतका आधारमा भोटिङ गराउनुपर्ने दबाब कार्यवाहक खडकालाई दिएका छन्। तर, खडकाले बहुमत–अल्पमतमा निर्णय गराउन नचाहेकाले बैठक सारेका हुन्।
कात्तिक २८ गते सिंगापुरबाट फर्के लगत्तै केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा शीर्ष नेताहरूसँगको छलफलमा व्यस्त रहेका सभापति शेरबहादुर देउवाले आफ्ना समूहलाई महाधिवेशनको मुद्दामा एउटै ठाउँमा ल्याउन सकेका छैनन्।
संस्थापन पक्षभित्रै एउटा समूह वैशाख अगाडि कुनै पनि हालतमा महाधिवेशन गर्न नहुने पक्षमा छ। अर्को २५ केन्द्रीय सदस्यहरूको समूह निर्वाचन अगाडि नै महाधिवेशन हुनुपर्ने अडानमा छ। कतिपय सदस्यहरू विशेष महाधिवेशनको सामना गरेर जानुपर्ने पक्षमा छन्। थरी थरीका विचार भएका संस्थापन पक्षका नेताहरूलाई मनाएर देउवा र कार्यवाहक सभापति खड्का दुवैले निकास दिन सकिरहेका छैनन्।
देउवाले बुधबार केही सहयोगीमार्फत पुस मसान्तभित्रको कार्य तालिकामा सहमति जुटाउने प्रयास गरेका थिए। उनले महामन्त्री थापाले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेको पुस १६–१९ को कार्य तालिका वा मसान्तभित्रको अर्को कार्य तालिका ल्याउन तयार भएको बताए पनि त्यसका पछाडि केही सर्तहरू राखेर प्रस्तुत गरेपछि महामन्त्रीहरू सशङ्कित भएका हुन्।
देउवा निकट नेताहरूले यस्तो कार्य तालिकासँगै विशेष महाधिवेशनको माग राखेर असोज २८ गते केन्द्रीय कार्यालयमा दर्ता भएको निवेदन फिर्ता गर्नुपर्ने, निर्वाचन समिति र क्रियाशील सदस्य छानबिन गर्न बनाइने समितिमा संस्थापन पक्षकै संयोजकसहित बहुमत सदस्य हुनुपर्ने सर्त अघि सारेका थिए। यस्तो सर्त राखिनुको पछाडि तालिका ल्याउने तर महाधिवेशन नगर्ने नियत देखिएको भन्दै ५४ प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै दिएको निवेदन फिर्ता नहुने अडान लिएका छन्।
महामन्त्री थापानिकट केन्द्रीय सदस्य प्रतिमा गौतमले विभिन्न सर्त राखेर प्रस्ताव गरिएको कार्य तालिकाले महाधिवेशन गराउने नियत नभएको बताइन्। ‘सुरूमा महाधिवेशन गराउन नसकिने गरी विभिन्न सर्त राखेर ल्याइने कार्य तालिकामा सहमति हुन सकेको छैन,’ उनले भनिन्, ‘नियमित भन्दाभन्दै दुई महिना बितिसकेको छ। अब निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न नसकिने अवस्था भइसकेकाले विशेष महाधिवेशन नै बोलाउनुपर्छ भन्नेमा महामन्त्रीहरू हुनुहुन्छ।’
यता विशेष महाधिवेशन पक्षधर नेताहरूले बारम्बार बैठक स्थगित गरेर केन्द्रीय कार्यसमितिले आफ्नो अयोग्यता प्रदर्शन गरेको बताएका छन्। युवा नेता गुरुराज घिमिरेले विधानमा भएको व्यवस्था अनुसारको महाधिवेशनको माग गर्दा महिनौँ समयसम्म अनिर्णयको बन्दी बनाइएको र केन्द्रीय कार्यसमितिको अयोग्यतामाथि प्रश्न उठेको बताए।
‘महाधिवेशन नगर्ने गरी ल्याइने कार्य तालिका हामीलाई मनासिब छैन। हामीलाई महाधिवेशन चाहिएको हो। तोकिएको समयभित्र महाधिवेशन हुने आधारसहित आए ठिकै छ, नत्र विशेष महाधिवेशनमै जानुपर्छ,’ उनले भने, ‘कार्य तालिका हेर्न–पढ्नका लागि हामीलाई चाहिएको होइन। निर्वाचन अगाडि नीति र नेतृत्व परिवर्तन गरेर आम नागरिकबीच कांग्रेस सच्चिएको सन्देश लिएर जाने मार्ग खोजेका हौँ।’
कान्तिपुरबाट



प्रतिकृया दिनुहोस्