महाधिवेशनको मुद्दामा कांग्रेसको संस्थापन र इतरपक्षबीच मतभेद

काठमाडौँ : मंसिरभित्रै नियमित कि विशेष महाधिवेशन भन्ने मुद्दाले कांग्रेसमा संस्थापन र इतरपक्षबीच ध्रुवीकरण बढ्दै गएको छ । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापनपक्षीय सदस्यहरूले विशेष महाधिवेशनको औचित्य नभएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति कडा आलोचना गरेका छन् ।
२१ फागुनमा निर्वाचन हुने घोषणा भइसकेको अवस्थामा मंसिरभित्रै नियमित महाधिवेशन हुन नसक्ने तर्क संस्थापन पक्षको छ । वैशाखभन्दा अगाडि नै नियमित महाधिवेशनसमेत सम्भव नभएको तर्क उनीहरूले राखेका छन् । कार्यवाहक सभापति खड्काले बैठकको सुरुवातमै नियमित महाधिवेशनको समय भएकाले विशेष महाधिवेशन गरिराख्न नपर्ने भनाइ राखेका थिए । कार्यवाहकको जिम्मेवारी पाएलगत्तै खड्काले बुधबार संस्थापन पक्षका पदाधिकारी तथा सदस्यहरूको भेला राखेर सुझाव लिएका थिए ।
‘महाधिवेशन प्रतिनिधिहरूले मंसिरभित्र नियमित महाधिवेशन होस्, नत्र विशेष महाधिवेशन गरिनुपर्छ भनेर निवेदन दिनुभएको छ,’ खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यसलाई लिएर पार्टीभित्र तिक्तताको स्थिति आउन हुन्न । विशेष महाधिवेशन गर्न नपर्ने गरी नियमित महाधिवेशनकै कार्यतालिकाको तयारीमा जुट्नुपर्छ ।’ उनले कहिले र कुन मितिमा नियमित महाधिवेशन गर्ने भन्नेबारे प्रस्ट पारेनन् ।
नियमित नभएमा विशेष महाधिवेशन गराउन भनेर हस्ताक्षर अभियान थालिएकाप्रति मौन रहेका नेता शेखर कोइरालाले बिहीबारको बैठकमा भने महामन्त्रीहरूको यो अभियानलाई साथ दिएका छन् । त्यसका बाबजुद कोइरालाले देशभर पार्टीलाई नयाँ जीवन दिन र ताजगीपन ल्याउन मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने पूर्ववत् अडानै राखे ।
‘महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनु हुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ,’ कोइरालाले भने, ‘विशेष महाधिवेशनको सन्दर्भमा उठेका र कांग्रेसभित्रबाट साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियान कांग्रेसमै ऊर्जा भर्न हो भन्ने म बुझ्छु ।’
महामन्त्री थापाले बैठकमा छलफलका लागि १० वटा एजेन्डा राख्दै गर्दा मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने प्राथमिकता अघि सारेका छन् । केन्द्रीय कार्यसमितिले मंसिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका दिन नसकेमा मात्रै विशेष महाधिवेशनको विकल्पमा जानुपर्ने भनाइ महामन्त्रीद्वय थापा र शर्माले पटक–पटक सार्वजनिक गर्दै आएका छन् ।
विशेष महाधिवेशनको माग राखेर बुधबार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित निवेदन दर्ता गरिएको छ । खड्कालाई कार्यवाहकको जिम्मेवारी दिँदै गर्दा सभापति देउवाले विधानले तोकेको समयभित्रै महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थापाले बैठकमा स्मरण गराए । क्रियाशील सदस्यता नवीकरणको काम धेरैजसो सकिएको र लिन चाहनेलाई नयाँ सदस्यता खुला गरेर पनि मंसिरमा महाधिवेशन गर्न सकिने भनाइ उनको थियो ।
संस्थापनपक्षीय सदस्यहरूले भने देश संकटमा परेका बेलामा सबैलाई एकीकृत गरेर अघि बढ्नुपर्नेमा आफू नेतृत्वमा आउने हतारो देखाएर विशेष महाधिवेशनका लागि हस्ताक्षर गराएको भन्दै आक्रोश पोखेका थिए । केन्द्रीय सदस्य गुरु बरालले हस्ताक्षरको नाममा वडा तहसम्म नै अग्रगमन पक्षधर कि यथास्थितिवादी भन्दै नेता–कार्यकर्ताबीच विभाजन गराउने काम भएको धारणा राखेका थिए । ‘तीन वर्षसम्म काम गर्न नसक्ने र अहिले मंसिरमै फेरि नियमित महाधिवेशन गर्न सक्छौं भनेर कसरी पत्याउने ?’ उनले भने । बरालले पार्टीभित्र बृहत् एकताका लागि दुई महामन्त्रीलाई एकताको वक्तव्य दिनसमेत आग्रह गरे ।
अर्का केन्द्रीय सदस्य मोहन बस्नेतले मुलुक संकटपूर्ण घडीमा रहेका बेला पार्टी सभापति हुन हस्ताक्षर गराउने भन्दै कडा आक्रोश पोखेका थिए । उनले विशेष महाधिवेशन गराउन नसकिने बताए । केन्द्रीय सदस्यहरू देवेन्द्रराज कँडेल र शिव हुमगाईंले समेत फागुनमा हुने निर्वाचनको व्यवस्थापन गर्ने कि महाधिवेशन गराउने भन्दै मंसिरभित्रै नियमित महाधिवेशन हुन नसक्ने भनाइ राखेका थिए ।
केन्द्रीय सदस्य राजीव कोइरालाले भने हस्ताक्षर अभियानले पार्टी विभाजन नहुने तर्क अघि सारे । उनले मुलुकमा दलहरू नै छैनन् कि भन्नेजस्तो अवस्थामा कांग्रेसमा भएको यो अभियानले पार्टीलाई सकारात्मक सन्देश दिएको तर्क गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका लागि कांग्रेसलगायत राजनीतिक दलसँग अनौपचारिक संवाद बढाइरहेका बेला कांग्रेसमा निर्वाचनको पक्षमा बलियो मत प्रकट भएको छ । कांग्रेसका अधिकांश नेताले फेरि ओलीसँग सहकार्य गरेर संसद् पुनःस्थापनाको पक्षमा नजाने प्रस्ट सन्देश दिएका छन् । मंगलबारको बैठकमा कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा पुनःस्थापनाको प्रसंगसमेत उल्लेख नगरी मुलुकलाई संवैधानिक बाटोमा फर्काउन निर्वाचनमा जानुको विकल्प नभएको धारणा राखेका थिए ।
बिहीबारको बैठकमा कार्यवाहक सभापति खड्का र नेता कोइरालाले निर्वाचनबाहेक अर्को बाटो नभएको धारणा राखेका छन् । ‘सरकारले शान्तिसुरक्षा दिन सकेको छैन, चुनावी वातावरण बनाएको छैन । तर हामी चुनावबाट भाग्दैनौं,’ खड्काको भनाइ थियो, ‘निर्वाचनबाट संविधानलाई ट्र्याकमा ल्याउन सकिन्छ ।’
कोइरालाले निर्धारित मितिमा निर्वाचनको माहोल बनाउन कांग्रेसले अभियान नै चलाउनुपर्ने बताएका छन् । निर्वाचनले मात्रै भविष्यमुखी दिशानिर्देश गर्ने उनको धारणा थियो । निर्वाचनलाई भयरहित बनाउन सरकारले लुटिएका हतियारहरू सरकारको नियन्त्रणमा आउनुपर्ने र त्यसक्रममा जेलबाट भागेका अपराधीहरूलाई पुनः सरकारले नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्न नहुने कोइरालाले बताए । कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्