April 18, 2026, Saturday
२०८३ बैशाख ५

कर्मचारीको एकता, इमान्दारीता र निष्ठाले मात्रै समस्या समाधान हुन्छ : महासचिव रावल

दिपायल । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय महासचिव जनक बहादुर रावलले कर्मचारीहरुको एकता, इमान्दारीता र निष्ठाले मात्रै समस्या समाधान हुने बताएका छन् । कर्मचारी युनियन सुदूरपश्चिम प्रदेशले दिपायलमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अहिले कर्मचारीका धेरै समस्या छन् । तिन तहका सरकारले मनमानी ऐन कानुन निर्माण गरिहेका छन् यसका लागि कर्मचारीहरुको एकता, इमान्दारीता र निष्ठाले मात्रै समस्या समाधान हुने बताउँदै महासचिव रावलले कर्मचारीहरुको सेवा सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, कर्मचारीहरुको अधिकार, सरुवा बढुवा, सेवा सुविधाका विषयमा राज्य गम्भीर हुनुपर्ने र स्पष्ट ऐनमा उल्लेख भए अनुसार कार्यन्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहले शुभकामना आदान प्रदान कार्यक्रममा निजामती कर्मचारीहरुको सरुवामा राज्यले न्याय गर्न नसकेको बताएका छन् । वर्षौं देखि सरुवा रोकिएका राष्ट्रसेवक कर्मचारीहरुको पाएक पर्ने ठाउँमा सरुवा गर्न राज्य तदारुक हुनु पर्ने उनले बताए ।

कर्मचारीहरुको सरुवा र दरबन्दी मिलान पाएक पर्ने ठाउँमा हुनु पर्नेमा जोड दिदै उनले भने,“आफ्नो गृह जिल्ला, गृह प्रदेश बाहिरका अन्य जिल्ला र प्रदेशबाट नाम निकालेर सेवा प्रवेश गरेका कर्मचारीहरुले कर्मथलोमै जीवनको महत्वपूर्ण सेवाअवधि विताउनु पर्ने बाध्यता छ ।”

सभापति सिंहले भने,“निश्चित समय पार गरिसकेपछि पाएक परेको ठाउँमा सरुवाभई जानसक्ने व्यवस्था मिलाउन सक्नु पथ्र्यो तर राज्यले त्यो गर्न सकेको छैन । कतिपय राष्ट्रसेवक कर्मचारीहरुले सेवा अवधिभर जीवनको महत्वपूर्ण समय गृह जिल्ला, गृह प्रदेश बाहिर विताउनु परेको छ । कतिपय कर्मचारीको त परिवार, बालबालिकाको समेतको जीवन सेवाक्षेत्रमै वित्ने गरेको छ । राज्यले यसमा गम्भीर हुन जरुरी छ ।”

कर्मचारी यो देशको स्थायी सरकार हो, राज्यको महत्वपूर्ण मेरुडण्ड हो,“सभापति सिंहले भने,“देशलाई, राज्यलाई माथि उठाउने, राज्यका संयन्त्रहरु सञ्चालन गर्ने, संघीयता बचाउने र कार्यन्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी कर्मचारीमा छ । आवश्यकता अनुसार कर्मचारीका समस्या समाधान हुनु पर्दछ र देशलाई माथि उठाउने सवालमा कर्मचारी र तीनै तहका सरकारवीच सुमधुर सम्बन्ध र समन्वय हुन आवश्यक छ ।

नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्म बहादुर देउवाले कर्मचारीहरुको पेशागत हकहित र सेवा प्रवाहलाई मध्यनजर गर्दै विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।

कर्मचारी युनियनले कर्मचारीहरुको वृद्धिविकास, पेशागत हकहित, नियमानुसारको सरुवा, बढुवा, निजामती सेवा ऐन लगायतका विषयमा वकालत गर्दै आएको देउवाले बताए ।

ट्रेड आन्दोलनलाई सशक्त बनाएर कर्मचारीका समस्या समाधानका लागि राज्यलाई घचघचाउने खालका विभिन्न कार्यक्रमहरु तय भएका छन्,“उनले भने,“यस अघिको सुदूरपश्चिम प्रदेश सरकारले हतारमा ल्याएको प्रदेश निजामती सेवा ऐनमा सुधार गर्न विभिन्न पक्षसँग छलफल भएको छ । ”

पहिलो चरणमा हाम्रै दवावमा ख्यारेज भएको ऐन संसोधन सहित ल्याउने कार्यमा प्रदेस सरकारसँग हाम्रो समन्वय भइरहेको बताउँदै अध्यक्ष देउवाले भने,“ जसका लागि हामीले सुझाव सल्लाह संकलन गरिरहेका छौं । कर्मचारीको हितमा हुने गरेर त्यो ऐन पारित हुनेमा हामी विश्वस्त छौं ।”

स्थानीय तहमा कार्यरत कर्मचारीहरुको समस्या समाधानका लागि पनि हाम्रो पहल जारी छ, उनले भने,“ स्थानीय कर्मचारी सेवा ऐनको ड्राफ्ट तयार हुँदैछ, विज्ञहरुबाट तयार भएको सो ऐनमा बृहत छलफल र सुझाव संकलन सहित कार्यान्वयनमा ल्याइयो भने कर्मचारीहरुका समस्या समाधान हुने छन् ।”

कार्यक्रममा १३ जना निजामती कर्मचारीहरुलाई सम्मान गरिएको छ । निजामती सेवामा रहदा राष्ट्र र नागरिक हित तथा निजामती कर्मचारी युनियनको आदर्श, उद्येश्य प्राप्ति, ट्रेड आन्दोलनमा महत्वपूर्ण योगदान पु–याउने पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।

नेपाल निजामती कर्मचारी युनियनका पूर्व केन्द्रीय सदस्य हिक्मत सिंह चोपडा, निवर्तमान केन्द्रीय सदस्य परमानन्द भट्टलाई दोसल्ला, प्रमाणपत्र सहित सम्मान गरिएको हो । त्यस्तै, निजामती कर्मचारी युनियन डोटीका पूर्व अध्यक्षहरु हिक्मत बोगटी, शेर बहादुर बोगटीलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै पूर्व महाधिवेशन प्रतिनिधि अनन्त कठायत, महेन्द्र विक्रम शाह, कमल सिंह विष्ट अछामका पूर्व जिल्ला अध्यक्ष सरद बहादुर ढुंगाना, पूर्व क्रियाशिल सदस्यहरु महेन्द्र बहादुर खड्का, कर्ण बहादुर सिंह, गोपाल सिंह भण्डारीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै उच्च अदालतका रिस्तेदार नर बहादुर नेगी र निजामती कर्मचारी युनियन डोटीका उपाध्यक्ष दीर्घ सिंह हमाललाई पनि सम्मान गरिएको थियो ।