तराईदेखि हिमालसम्म : यी हुन् दशैं बिदामा घुम्न सकिने ८ गन्तव्य

काठमाडौं । नेपालीहरुका लागि सबैभन्दा लामो बिदा दशैंमा हुने गर्छ। दशैं बिदामा साथीभाइ, परिवारसँग घुम्ने रमाइलो गर्ने सबैको चाहना हुन्छ। तर कहाँ घुम्ने भन्नेबारे भने सबैलाई जानकारी नहुन सक्छ। 

करिब एक साताको दशैं बिदामा दूधकुण्ड ताल, कन्चनजंगा बेस क्याम्प, लाङटाङ, अन्नपूर्ण, लगायतका ठाउँ उपयुक्त गन्तव्य हुन सक्ने नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसनका प्रतिनिधि छिरिङ दोर्जे शेर्पा बताउँछन्। उनका अनुसार दशैं बिदामा यीमध्ये कुनै एक गन्तव्यमा सजिलै घुमघाम गर्न सकिन्छ। 

दूधकुण्ड ताल
सोलुखुम्बुको टाक्सिन्दुमा विशाल नुम्बुर र कार्यालुङ हिमालको काखमा रहेको छ दूधकुण्ड ताल। यी दुवै हिमालबाट आएको पानी जमेर बनेको यो ताल समुद्री सतहदेखि झण्डै ४ हजार ७ सय मिटरको उचाइमा छ। यहाँ रमणीय विशाल तालदेखि नजिकै नुम्बुर र कार्यालुङ हिमालको अवलोकन गर्न सकिन्छ।

सदरमुकाम सल्लेरीबाट झण्डै २० कोसको दूरीमा रहेको यो स्थानसम्म आइपुग्न पैदल यात्रा नै गर्नुपर्छ। भौगोलिक रुपमा अत्यन्तै विकट भए पनि प्राकृतिक सुन्दरताको खानी छ। दूधकुण्ड ताल मात्र नभएर भूतपोखरी, गंगा जमुना ताल, आँखेपोखरी र महाकुण्डको मनोरम दृष्यावलोकन गर्न सकिन्छ। यो तालको यात्रा गर्न ५/७ दिन छुट्याउनु पर्छ।

कसरी जाने?
काठमाडौं कोटेश्वरदेखि बस,जिप तथा मोटरसाइकलको प्रयोग गरी सडकमार्गबाट करिब १० घण्टामा सल्लेरी पुगिन्छ। हवाई मार्गबाट जाँदा भने त्रिभुवन विमानस्थलबाट झण्डै ४५ मिनेटको उडानमा नै सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा पुगिन्छ। 

त्यस्तै काँगेल विमानस्थल पनि नजिकै रहेको हुँदा यहाँबाट पनि सजिलै सदरमुकाम सल्लेरीसम्म पुग्न सकिन्छ। सदरमुकाम सल्लेरीबाट रिङमुसम्म सडक छ। पैदल हिँड्दा भने फाप्लु, चिवाङ, फेरा हुँदै झण्डै ४ घण्टामा रिङमु पुग्न सकिन्छ। गाडीबाट हो भने १ घण्टामा पुगिन्छ। रिङमुसम्म अत्यन्तै राम्रो बाटो तथा बास बस्नका लागि विदेशी तथा स्वदेशी पर्यटकका लागि उपयुक्त हुने खालका लज तथा होटलहरु प्रशस्तै पाइन्छन्।

रिङमुबाट नाम्चेतर्फ जाने बाटो छोडेर दूधकुण्डतर्फ जाने बाटोतर्फ लाग्नुपर्छ। रिङमुबाट सरकारीपाटी हुँदै बाटो अघि बढाउनु पर्छ। त्यहाँको घना जंगलमा सुनपाती, लेकाली फूलको मिठो बासना र चराचुरुङ्गीको आवाजले यात्रालाई झनै आनन्ददायी बनाउने गर्छ। झण्डै ३ घण्टा उकालो  हिँडेपछि कामीडाँडा पुगिन्छ। कामीडाँडामा पुग्दा ४/५ बजेको भए बास बस्दा उपयुक्त हुन्छ। कामीडाँडाबाट यात्रा गर्दा जोङले खोला, गामटाङ हुँदै सहस्रबेनीमा पुगेर बास बस्न पर्छ। भोलिपल्ट बिहान दूधकुण्डको यात्रा तय गर्नुपर्छ। सहस्रबेनीबाट दूधकुण्डसम्म ३ घण्टा हिँडेपछि पुगिन्छ। 

कन्चनजंगा बेस क्याम्प
विश्वको तेस्रो अग्लो हिमालका नामले परिचित छ कन्चनजंगा। जसको उचाइ रहेको छ ८ हजार ५५६ मिटर। विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) भन्दा २६२ मिटरमात्रै होचो छ यो  कञ्चनजंगा। र, विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) भन्दा कञ्चनजंगा २५ मिटरमात्रै होचो छ। जसको मनमोहन दृश्य अति नजिकबाट नियाल्न बेस क्याम्प पुग्नुपर्ने हुन्छ। काठमाडौंबाट ८–१० दिनसम्ममा कञ्चनजंघाको दुवै बेसक्याम्प पुगिन्छ। 

कसरी जाने ?
काठमाडौंबाट भद्रपुरसम्म जहाजमार्फत जान सकिन्छ। अथवा, बिर्तामोडसम्मको गाडीमा पनि जान सकिन्छ। बिर्तामोडबाट जिपमा ताप्लेजुङको फुङ्लिङसम्म जान सकिन्छ। त्यहाँबाट थिवासम्म फेरि गाडी परिवर्तन गर्नुपर्छ। आफ्नै रिजर्भ सवारी हुँदा सहज हुन्छ। अर्को बाटो ताप्लेजुङमा रहेको सुकेटार विमास्थल तथा सदरमुकाम फुङलिङदेखि हाङद्रुङसम्म गाडीमा जान सकिन्छ।

ताप्लेजुङ सदरमुकामदेखि नै उत्तरी बेस क्याम्पसम्म रहेका आठ वटा क्याम्पमा पैदलै यात्रा गर्नु पदर्छ। उत्तरी बेस क्याम्प पुगिसकेपछि घुन्सा झरेर दक्षिणी बेसक्याम्प जान सकिन्छ। त्यहाँ पुगेपछि कन्चनजंगाको काखैमा बसेर मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

लाङटाङ 
लाङटाङ दशैं बिदामा यात्राका लागि उपयुक्त गन्तव्य हो। जुन संघीय राजधानी काठमाडौंबाट नजिकै र  छोटो समयमा पुगिन्छ। गोसाइकुण्ड र लाङटाङ हिमालको रमणीय दृष्यावलोकन गर्न सकिन्छ।

एक हजार सात सय १० वर्ग किलोमिटरमा फैलएिको लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ मानिने रातो हाब्रे लगायत ४६ जात स्तनधारी र तीन सय १५ थरीका पंक्षी पाइन्छन्। धार्मिकस्थल गोसाइकुण्ड र क्याञ्जिङ उपत्यका लाङटाङका प्रमुख आकर्षण हुन्। क्यान्जिङ उपत्यका समुद्री सतहबाट ४ हजार मिटरको उचाइमा रहेको छ। यही उपत्यकामा लाङटाङ खोलाको उद्गमस्थल रहेको छ।

कसरी जाने?
काठमाडौंबाट एक सय २० किलोमिटर बसमा यात्रा गरेपछि रसुवाको स्याफ्रुबेसी पुगिन्छ। त्यहाँबाट सुरु हुन्छ, लाङटाङको पदयात्रा। स्याफ्रुबेसीबाट झोलुङ्गे पुल तरेर लाङटाङ खोलाको किनार हुँदै कटुसको सुगन्ध र गुराँसका रंगीबिरंगी जंगलको दृष्यापान गर्दै यात्रा गर्न सकिन्छ। यहाँ सुविधासम्पन्न लजहरु पनि छन्। साढे दुई दिनको यात्रामा खाम्जङि, शेर्पा गाउँ, रिम्चे, लामा होटेल, घोडा तबेला, लाङटाङ गाउँ हुँदै पदयात्राको अन्तमि गन्तब्य क्यान्जिङ पुगिन्छ। 

क्यान्जिङबाट दुई घण्टा उकालो लागेपछि क्याञ्जिङ री पुगिन्छ। रीबाट आँखै अगाडि लाङटाङ हिमाल देखिन्छ। सात हजार दुई सय २७ मिटर अग्लो लाङटाङसँगै ६ हजार मिटरभन्दा अग्ला चाङ्बु र युब्रा हिमाल पनि देखन्छिन्। दुई हिमालको बीचबाट बग्ने लरिुङ हमिनदी र त्यसबाट बनेको ताल छन्। यस्तै उत्तरपूर्वमा देखिने ५५ सय मिटर अग्लो याल्ला पिक, दक्षिण पश्चिममा देखिने सेर्गो री, काङजा हिमाल तथा दक्षिणमा काग्रा हिमालका कारण क्यान्जिङ री, लाङटाङ छुटाउनै नहुने गन्तव्य हुन्।

अन्नपूर्ण
विश्वको चर्चित पदमार्गमध्ये एक हो, अन्नपूर्ण पदमार्ग। विश्वका उत्कृष्ट दश पदमार्ग भित्र पर्ने भएकोले यो पदमार्ग विश्वभर परिचित छ। यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ। यो क्षेत्रमा पदयात्रा गर्दा सबै स्थानमा टी–हाउस भएकोले पनि अन्य पदमार्ग जस्तो पैदल यात्रीलाई समस्या हुँदैन। ठाउँ–ठाउँमा थकाइ मार्न र चिया–कफीको तलतल मेटाउन सबैजसो स्थानमा सुविधासम्पन्न होटल तथा लजहरु छन्। यस कारण पदयात्राका क्रममा खान र बस्न सहज हुन्छ। 

अन्नपूर्ण हिमालको काखैमा बसेर अननपूर्ण साउथ, अन्नपूर्ण थर्ड, माछापुच्छ्रे, टेन पिक आदि हिमशिखरको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। यहाँ पुग्न ५/७ दिनको समय छुट्याउनु पर्छ।

कसरी पुग्ने ?
लमजुङको बेसीशहरलाई अन्नपूर्ण पदमार्गको प्रवेशद्वार भनिन्छ। बेसीशहर हुँदै खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोरङपास हुँदै मनाङ पुगेपछि अन