अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री देउवाले बढाएको शान

यम विरही

विश्व जलवायु सम्मेलन कोप-२६ मा भाग लिन स्कटल्यान्डको ग्लास्गो सहर पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किसकेका छन्। जलवायु सम्मेलनमा पुग्नु र फर्किनु खासै ठूलो कुरो थिएन। १ नोभेम्बरमा सुरु भएको विश्व नेताहरूको दुईदिने शिखर सम्मेलनमा विश्वका नेताहरूसँग भएको भेटघाट खास महत्त्वको रह्यो। प्रधानमन्त्री देउवा पाँचौँपटक प्रधानमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण थियो। जलवायु सम्मेलनमा देउवाले विश्वका नेताहरू सामु प्रष्ट रूपमा हिमालको विशिष्ट जलवायु जोखिम पहिचान गर्न र जलवायुसम्बन्धी सबै वार्तामा हिमालयको एजेन्डालाई उच्च प्राथमिकता दिन कुरा राख्नु अर्को महत्त्वपूर्ण उपलब्धी हो।
दरिलो सम्बोधन, दुनियाँलाई सन्देश
जलवायुजन्य प्रकोपका कारण बढ्दो हानी नोक्सानी प्रमुख चिन्ताको विषय भएको कुरा देउवाले अन्तर्राष्ट्रिय फोरममा निर्धक्कसाथ राखे। यति मात्र नभई यो विषयलाई वार्ताको एक मात्र एजेन्डा बनाउन र त्यसका लागि थप वित्तीय सहयोगको रूपरेखामा सहमत हुन आह्वान गरिएको सन्दर्भले विश्वको ध्यान खिच्यो। कोप २६ ले वित्तीय, प्राविधिक र क्षमता अभिवृद्धिका स्रोतहरू बढाएर उच्च जोखिमयुक्त देशहरूलाई अनुकूलनका लागि पर्याप्त सहयोग सुनिश्चित गर्नैपर्ने प्रष्ट धारणासमेत राखिएको छ।
अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले पेरिस सम्झौता कार्यान्वयन गर्न दृढ रूपमा प्रतिबद्ध रहेको र यसको प्रमाण नेपालले अर्थतन्त्रको सबै क्षेत्रमा कार्बनमुक्त गर्ने महत्त्वाकांक्षी एनडीसी (नेसनल्ली डिटरमाइन्ड कन्ट्रिब्युसन) योजना पेश गरेको सन्दर्भसमेत विश्वका नेतासमक्ष बताए। उनले प्रचुर मात्रामा जल, जंगल र जैविक विविधताका स्रोतहरू भएका कारण स्वच्छ, हरित र प्रकृति आधारित जलवायु समाधानको बाँडफाँटमा नेपाल यस क्षेत्रकै नेता बन्न सक्ने दरिलो धारणा राखेको जानकारी विश्वका नेताले पाए।
राष्ट्र प्रमुख र सरकार प्रमुखसहित एक सय १७ मुलुकको सहभागिता रहेको सम्मेलनमा प्रधानमन्त्री देउवाले विश्वका नेताहरूलाई हिमालको विशिष्ट जलवायु जोखिम पहिचान गर्न र जलवायुसम्बन्धी सबै वार्तामा हिमालयको एजेन्डालाई उच्च प्राथमिकता दिन आग्रहसमेत गरे।
विश्व नेतासँग अर्थपूर्ण भेटघाट
प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेको र मोदीलाई भ्रमणको निम्तो दिएको कुरासमेत बाहिर आएको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप-२६) अन्तर्गत विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन आएका मोदीका अतिरिक्त बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको प्रत्यक्ष भेटघाटले नेपालको शाख अन्तर्राष्ट्रिय रूपमा उँचो पारेको छ। महाशक्ति राष्ट्रका नेताहरूसँग कुममा कुम जोडेर अनि कुइनो ठोक्काएर गाँसिएको मित्रताले नेपालको शान बढाएको मात्र छैन, दिगो सम्बन्ध गाँस्न ‘माइल्ड स्टोन’का रूपमा इतिहासमा अंकित हुने विश्वास छ।
२ नोभेम्बरमा बेलायती रक्षामन्त्री बेन वालेससँग भएको भेटमा ब्रिटिस गोर्खा सैनिकको गुनासो र हितका साथै नेपाललाई कोरोनाविरुद्धको खोपमा बेलायती सहयोगबारे छलफल हुनुले पनि सौहाद्र्रता बढेको संकेतका रूपमा बुझ्न सकिन्छ। स्कटल्यान्डका फस्ट मिनिस्टरले सीमित राज्य र सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरेको समारोहमा सहभागी भएका बेला बेलायतका रक्षामन्त्री बेन वालेससँग देउवाको साइडलाइन बैठक भएको थियो। त्यस अवसरमा श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षे र मंगोलियाका राष्ट्रपति उखना खुरेलसुख्दसँग पनि द्विपक्षीय भेटवार्ता हुनुले अन्तर्राष्ट्रिय सम्बन्धको आयाम थप वृद्धि भएको छ।
यस अतिरिक्त विश्व बैंक समूहका प्रबन्ध निर्देशक मारी पांगेस्टुसँग भएको अर्को भेटमा नेपाललाई हरित विकास, जलवायुजन्य असर र कोभिड-१९ रोकथाममा सहयोग गर्नेलगायत विषयमा छलफल भएकोसमेत जानकारीमा आएको छ। अन्तर्राष्ट्रिय समुद्री संगठनका महासचिव किटैक लिमसँगको शिष्टाचार भेटमा समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा कुरा हुनुले विशेष महत्त्व राख्छ। अमेरिकी राष्ट्रपति बाइडेन, बेलायतका प्रधानमन्त्री जोनसन र भारतीय प्रधानमन्त्री मोदीसँगको प्रत्यक्ष भेटघाटले अन्तर्राष्ट्रिय तहमा नेपालको प्रतिष्ठा बढाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय औपचारिक संवादले त सरकारका विषयमा रहेका अनेक शंका उपशंका हटाएर जनमानसमा विश्वासको वातावरण बनेको छ। दुई छिमेकी मुलुकको आपसी सम्बन्धलाई अझै दरिलो पार्ने अपेक्षा छ। प्रधानमन्त्री देउवाले मोदीलाई र मोदीले देउवालाई भ्रमणको निम्तो दिनुले अवश्य नै आपसी सदभावका साथमा नयाँ सम्बन्धको रक्तसञ्चार गराएको छ।
महाशक्ति राष्ट्रका नेतासँगको सामिप्य
प्रधानमन्त्री देउवा र विश्वका नेताहरूको सामिप्यले पक्कै पनि नेपाललाई विश्वसामु चिनाउने र बुझ्ने दिशामा सकारात्मक सन्देश दिएको छ। उक्त भेटले भविष्यमा विश्व समुदायबाट नेपालको राजनीतिक र आर्थिक विकासमा बहुआयामिक सम्बन्ध कायम गर्दै सहयोग पुर्याउन मद्दत मिल्ने अपेक्षा गर्न सकिन्छ। यो भेटले नेपालको दीर्घकालीन शान्ति, सुरक्षा र राष्ट्रहितमा सदभावको विकासमा महत्त्वपूर्ण आयाम थप्ने छ।
अर्को अर्थमा असंलग्न नीतिअन्तर्गत राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउँदै शोषण, प्रभुत्वमुक्त र न्यायमा आधारित सुसम्बन्ध कायम राख्न मद्दत पुग्ने विश्वास छ। अन्तर्राष्ट्रिय राजनीतिमा अन्य राष्ट्रहरूलाई प्रभावित पार्न सक्ने क्षमता पनि एक प्रकारको शक्ति आर्जन नै हो, जसले एकअर्काबीच समन्वय, समझदारी र सहयोगको भावना वृद्धी गराउँछ।
प्रधानमन्त्री देउवा र अन्तर्राष्ट्रिय नेताहरूको भेटलाई राष्ट्रिय हित अभिवृद्धि गर्ने कूटनीतिक माध्यमका रूपमा पनि लिन सकिन्छ। यो भ्रमण इज्जत र प्रतिष्ठा बढाउँदै विश्व समुदायमाझ नेपालको नाम उँचो राख्न सफल भएको छ। स्वाभाविक रूपमा अन्तर्राष्ट्रियस्तरमा पहुँच बढेको छ। विश्व समुदायका शीर्ष नेताहरूको भेटघाटले राष्ट्रिय हित रक्षाको प्रबर्द्धन हुने आशा जगाएको छ। पारस्परिक आदानप्रदानको नीतिलाई कूटनीतिक माध्यमबाट अघि बढाएर सदभावनाको स्थापना हुने आशा बढेको छ।
यथार्थ सत्य के हो भने प्रत्येक मुलुकले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने सवालमा राष्ट्रिय हितलाई केन्द्रमा राखे


