‘गाउँमा सिंह आयो, दरबार उतै छुट्यो’

हरि रोका
सैद्धान्तिक–वैचारिक मापदण्ड नभएको यस घडीमा कस्ता मानिसहरू राजनीतिमा प्रवेश गर्दै छन् भन्ने पूरक प्रश्नमा होटल व्यवसायी महिलाहरूको राय बौद्धिकहरूको भन्दा भिन्न थिएन, ‘जसको कुनै काम छैन, पारिवारिक जिम्मेवारी छैन, त्यस्ताहरू राजनीतिमा देखिन्छन् ।’

हरेक हिसाबले राजनीति दुखिरहेको समय हो यो । पछिल्लो संविधान लागू भएपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा आम नेपालीको जीवनस्तर उकास्न योजनाबद्ध विकासको थालनी हुनेछ भन्ने आशा गरिएको थियो । तर स्पष्ट बहुमत दिएर पठाएको सरकारले प्रणालीलाई नै बदनाम गर्ने गरी अस्थिरता निम्त्यायो ।
संसदीय राजनीतिक परिपाटीमा ‘दलतन्त्र’ लाई सँधै अग्रस्थानमा राखेर हेरिन्छ । उसका सफलता र असफलतालाई आवधिक योजना, संस्थाहरूको विकास तथा घोषणापत्रमा आधारित कार्यक्रमहरूको कार्यान्वयनमार्फत मापन गरिन्छ । अतिरिक्त मूल्यांकनको आधार भने राजनीतिक नेतृत्व तहको नैतिक आचरण, अडान तथा जनताप्रतिको जिम्मेवारीबोध हुन्छ । नेपाली सन्दर्भमा दलहरूले दुवै लोकतान्त्रिक चरित्रलार्ई आत्मसात् गर्ने परिपाटी कुल्चन थालेको धेरै भइसकेको छ ।
नेतृत्व तहले राजनीतिमा नैतिकता तथा जिम्मेवारीबोधलाई बेवास्ता गर्न थालेको पनि धेरै भइसकेको छ । बहालवाला प्रधानमन्त्री खड्गप्रसाद ओली त आफूले भंग गर्न चाहेको संसद् पुनःस्थापनापछि पनि राजीनामा नगरी अरूलाई नै लज्जाबोध हुने गरी पदमा टाँसिइरहेका छन् । उनी र उनका सहकर्मीहरूले मन्त्रिमण्डलमा बसेर जेजे बोलिरहेका छन् र जेजस्ता हर्कतहरू गरिरहेका छन्, त्यसले लोकतन्त्रको धज्जी उडाइरहेको र राजनीति ‘फोहोरी खेल’ नै हो जस्तो भान पारिरहेको छ । लोकतान्त्रिक गणतन्त्रमा हुर्कंदै गरेका किशोरकिशोरी र तन्नेरीहरूलाई राजनीतिबाट विरक्त गराउने माहोल बन्दै गएको अनुभूति हुँदै छ ।
राजनीतिमा विकृतिको सुरुवात
राजनीति तथा राजनीतिशास्त्रमा क्रियाशील व्यक्तिहरूका लागि बर्नार्ड क्रिकको ‘इन डिफेन्स अफ पोलिटिक्स’ पुस्तकले लोकतान्त्रिक परिपाटीमा ठूलो अर्थ राख्ने गरेको छ । क्रिक भन्छन्, ‘कानुन, विज्ञान, इतिहास वा अर्थशास्त्र आदि महत्त्वपूर्ण शास्त्रहरू हुन् । यद्यपि ती सबै शास्त्र राजनीतिका सहयोगी मात्र हुन् । मुलुकको चौतर्फी समस्या हल गर्न ती पोथ्रा तथा तीसँग सम्बन्धित मानिसबाट राजनीतिक समस्या समाधान हुन सक्दैनन् । त्यसका लागि जनतासँग प्रत्यक्ष जोडिने राजनीति नै चाहिन्छ । चाहे त्यो संकीर्णतावाद होस् वा उदारवाद, समाजवाद होस् या साम्यवाद वा राष्ट्रवाद, राजनीतिले नै समाधानको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’ आन्दोलन, युद्ध र अनेक राजनीतिक उकाली–ओरालीका भुक्तभोगीहरूका अनुभव केलाउँदा पनि लाग्छ— राजनीतिले नै आन्दोलन र क्रान्तिको मोर्चामा झन्डा बोक्दै बलिदान दिनसमेत सिकाउँछ । ठुल्ठूला शहंशाह वा तानाशाहलाई भुइँमा खसाल्छ । हिजोसम्म नचिनिएको व्यक्ति सत्ताको भर्याङ चढ्छ । भिन्नाभिन्नै सोच र भिन्न मत भएका बीच कार्यगत एकता गराउँछ । अप्ठेरोमा बाँच्न, सहअस्तित्व कायम गर्न, र सँगसँगै उन्नति र प्रगतिमा लाग्न प्रेरित गर्छ ।
संसद् विघटनको जघन्य राजनीतिक घटनापछि हामी केही साथी राजनीतिक तथा सामाजिक अनुभूति साट्ने हेतुले पूर्वी पहाडको यात्रामा निस्कियौं । खोटाङबाट सुरु हाम्रो यात्राको पहिलो चरण पुष्पलाल मध्यपहाडी राजमार्गले छोएका जिल्लाहरू भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम र पाँचथरसम्म पुगेर टुंग्यायौं । चौध दिन लामो यात्रामा हामीले औपचारिक–अनौपचारिक रूपमा झन्डै दुई हजार मानिससँग अन्तरक्रिया गर्यौं । हामीसँग संवाद सुरु गर्न केही थान प्रश्न थिए । पछि हामीमाथि पनि प्रश्नहरू सोझिए ।
किनकि हामी पनि इतिहासमा क्रियाशील राजनीतिक थियौं र अनेक घटनाक्रमका साक्षी पनि । पहिलो जनआन्दोलनपछि बहुदलीय व्यवस्थाअन्तर्गत अनेक निर्वाचनमा दलीय प्रतिनिधि छानेका अनुभवी मतदाताहरूबाट हामी अर्थ–राजनीतिक, सामाजिक तथा सांस्कृतिक अनुभूति र जीवन पद्धतिमा क्रमशः देखिएका परिवर्तनबारे सुन्न चाहन्थ्यौं । वर्तमानमा बल्झिरहेका कतिपय राजनीतिक समस्याहरूको हलबारे अर्ग्यानिक राय–सुझाव लिन चाहन्थ्यौं । हाम्रा प्रश्न विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक र सांस्कृतिक प्रणालीसँगै जोडिएका थिए । हाल खोजिएका राजनीतिक निदानका अन्य विकल्पबारे सुन्ने ध्याउन्न थियो हाम्रो । शिरमा त क्रिकले भनेझैं राजनीति हुने नै भयो ।
आवरणमा नलेखिए पनि वर्तमान संविधान ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’ हो । नेपाली राजनीतिक प्रणाली मुख्यतः संसदीय प्रणाली नै हो जहाँ निर्वाचित प्रधानमन्त्री नै सर्वशक्तिमान रहने व्यवस्था गरिएको छ । राष्ट्रपतिको भूमिका संवैधानिक मात्र हो । यस्तो संवैधानिक प्रावधान, सहज बहुमत हुँदाहुँदै पनि राजनीतिले स्थिरता प्राप्त गर्न किन सम्भव भएन ? प्रवृत्तिका रूपमा यो विकसित हुनु भनेको राजनीतिक संकट मात्र हो या प्रणालीगत ? कुराकानीका क्रममा हामीले यी प्रश्नलाई सकभर सरल बनाउने प्रयत्न गर्यौं । बहुदलको पुनःस्थापनापछि मतदान गर्दै आएका सबै उमेर समूहका किसान, मजदुर, शिक्षक, प्राध्यापक, विद्यार्थी, पत्रकार, उद्यमी, व्यापारी र बेरोजगारमाथि हामीले प्रश्न तेर्स्यायौं, जो हाम्रो राजनीतिको ऐतिहासिक तख्ता पल्टाउने दस्ता र क्रियाशील हिरो–हिरोइनहरूमध्येकै थिए ।
तीन दशकयता राजनीति कस्ता कमी–कमजोरीबाट गुज्रिरहेको छ ? भाषा, लवज र वर्णन गर्ने तरिका भिन्न भए पनि सारमा जवाफमा एकरूपता देखिन्थ्यो । बहुदलको पुनःस्थापनापछि बहुदललाई संस्थागत गर्ने परिपाटी वा भनौं पद्धति बसाल्नै नसकिएको केही पाका नेताहरूको भनाइ थियो । तर सबैजसोले बहुदलीय व्यवस्थामा दलहरूको राजनीतिक क्रियाकलापमाथि प्रश्न उठाउने परिपाटी नबसालिएकाले समस्या भित्रिएको बताए । हामीले साथीभाइसँग थप स्पष्टीकरण खोज्यौं । चर्चित ‘दाइ,’ ‘दिदी’ वा ‘बा’ कल्चर रातारात हुर्किएको होइन । त्यत्तिकै बैंसालु देखिएको होइन । यो संस्कारको सुरुवात ‘जनताले जानेका छैनन्’ भन्ने बुझाइबाट भयो । जस्तो, पहिला संसद्को निर्वाचनमा माथिबाट उम्मेदवार छनोट गरियो, तलको लोकप्रियतालाई हेरिएन । अनुभवको अभावमा ‘ठीकै होला’ भनेर गरिएको स्वीकृति पछि माथिबाटै छनोट गर्ने अलिखित कानुनमा रूपान्तरित भयो । जनतामा लोकप्रिय प्रतिनिधिलाई उम्मेदवार छनोट परिपाटी हराउँदै गयो । जित्नलाई खर्च गर्ने पुरानो परिपाटी पुनः फस्टायो । बिस्तारै राजनीतिक स्वयंसेवी परिचालनका लागि पनि खर्च गर्ने परिपाटी हुर्कियो । जसले खर्च गर्न सक्छ, उसैलाई लायक उम्मेदवारका रूपमा हेर्न थालियो । साँच्चैको राजनीतिक संगठनकर्ता उम्मेदवारको सल्लाहकारको भूमिकामा रमाउनुपर्ने परिस्थिति बन्दै गयो । विपक्षमा वकालत गर्नेहरू किनारामा धकेलिए । यो प्रवृत्ति क्रमशः तलसम्म विस्तारित हुँदै गयो ।
संघीयताका आधारमा निर्वाचन प्रणालीपछि पनि व्यहोरामा सुधार आएन । संघमा, महानगर तथा मालदार ठाउँको उम्मेदवार छनोटमा केन्द्र हाबी भयो । प्रदेशमा इन्चार्ज तथा पदाधिकारीहरू हाबी भए । आँखाले देखिने गरी हाताहाती टिकट बेचबिखनको गुनासो पनि यत्रतत्र सुनियो । पछि त बोल–कबोल र बढाबढ पनि सुनियो । यो रोग फलानो पार्टीमा मात्र छ भन्ने होइन, संस्कारकै रूपमा विकसित भएको छ । आजकल सांस्कृतिक वा राजनीतिक आचरणका आधारमा राजनीतिज्ञ छुट्टिँदैनन् । ब्रान्डका आधारमा पहिचान खुम्चिएको छ । ‘त्याग, तपस्या र बलिदान वा निष्ठाको राजनीति हुन छोडेको लामै पो भो त ।’ झट्ट सुन्à¤


