बझाङको उरै नाकाबाट खुलेआम तस्करी

बझाङ, कार्तिक २६  (ई-रैवार) 

चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्प प्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्रिन सकेका छैनन् । तिब्बतसँग जोडिएको बझाङको उरै नाकाबाट चीनतर्फ जडीबुटी र वन्यजन्तुको तस्करी भने कोरोनाले पनि रोक्न सकेन ।

उसो त चीन सरकारले कोरोना महामारीका कारण गत जनवरीदेखि नै उरै नाका सिल गरेको छ । हुम्ला, दार्चुला र बझाङका बासिन्दालाई तिब्बत प्रवेशमा निकै कडाइ गरिएको छ । व्यापार व्यवसाय र मजदुरीका लागि तिब्बतको ताक्लाकोटमा रहेका नेपाली गत वर्षदेखि नै फर्कन पाएका छैनन् ।

जडीबुटी र वन्यजन्तुका अंगहरू अवैध रूपमा तिब्बत ओसार्न भने कुनै रोकटोक छैन । ‘वैशाख–जेठतिर अलिअलि गए पनि असारदेखि ठूलो मात्रामा जडीबुटी उरै नाकाबाट पास भएको छ,’ जडीबुटी व्यवसायी समेत रहेका साइपाल–४ धुलीका पासाङ लामाले भने, ‘यार्चागुम्बु, वन लसुन, सतुवा, कटुकी, रातो च्याउजस्ता जडीबुटीको ओसारपसार अहिले पनि भइरहेको छ ।’ लामाका अनुसार ताक्लाकोटमा रहेका नेपालीले त्यहाँका व्यापारीहरूसँग सेटिङ मिलाउँछन् र नेपालमा रहेका तस्करले जडीबुटी सीमासम्म पुर्‍याइदिन्छन् ।

दुई वर्षअघिसम्म तस्करहरूले नेपालको सीमाबाट दुई दिन पैदल दूरीमा रहेको चीनको पुराङ काउन्टीमा रहेको लुक्पु (बझाङीले कठान भन्छन्) सम्म जडीबुटी, वन्यजन्तुका अंगलगायत सामान पुर्‍याउने गरेका थिए । चीन सरकारले गत वर्ष नेपाल–चीन सीमामा पर्ने उरै नाकासम्म सडक पुर्‍याएपछि भने सीमामै कारोबार हुन थालेको धुलीका साम्देन लामाले बताए ।

‘यताबाट भेडा, खच्चड, चौंरी र भरियालाई बोकाएर जडीबुटी र वन्यजन्तुका अंग उरैसम्म पुर्‍याउँछन् । उताका व्यापारीहरू गाडी ल्याएर सीमासम्म आउँछन् । त्यतैबाट कारोबार गरेर फर्किन्छन्,’ उनले भने ।

यो वर्ष उरै नाकाबाट एक क्विन्टलभन्दा बढी यार्चागुम्बु मात्रै तस्करी भएको स्थानीयको अनुमान छ । ‘पहिला यताको यार्चा चैनपुरबाट पुर्जी लिएर काठमाडौं लगिन्थ्यो,’ साइपालकै टासी लामाले भने, ‘अहिले जिल्लाका अरू ठाउँमा संकलन गरेको यार्चा पनि उरैबाट चीन पुर्‍याए । सबै गरेर एक क्विन्टलभन्दा बढी यार्चा उता (चीन) लगे होला ।’

तस्करहरूले जिल्लाका सबै ठाउँको यार्चा खरिद गरेर साइपाल गाउँपालिकाको बाटो हुँदै सीमासम्म पुर्‍याएको उनले बताए । कोरोना महामारी फैलिन सक्ने भन्दै यस वर्ष बझाङमा यार्चा तथा अन्य जडीबुटी संकलनमा रोक लगाइएको थियो । तर स्थानीय प्रशासनले पाटन जान लगाएको प्रतिबन्ध उल्लंघन गर्दै यहाँका संकलकले जेठबाट यार्चा बटुलेका थिए ।

गत वर्ष करिब २ सय किलो यार्चाको ६० लाख राजस्व उठाएको डिभिजन वन कार्यालयले यस वर्ष यार्चाका नाममा कत्ति पनि राजस्व संकलन गरेको छैन । जिल्लामा जडीबुटी संकलन गर्न प्रतिबन्ध लगाएकाले संकलित सबै अवैध भएको वन कार्यालयको भनाइ छ ।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख कर्णबहादुर खातीले उरै नाका भएर यार्चालगायतका जडीबुटी अवैध तरिकाले चीन निकासी गरिएको खबर पाएको बताए । ‘हामीले यो वर्ष कसैलाई पनि कुनै जडीबुटीको छोड पुर्जी दिएका छैनौं । तर संकलन भएको यार्चालगायत जडीबुटी उरै भएर चीन लगिएको भन्ने सुनिएको छ,’ उनले भने, ‘विकट भूगोल र हामीसँग सीमित जनशक्ति भएकाले केही गर्न सकेका छैनौं ।’

उनले आफूले जडीबुटी व्यवसायीसँग बुझेअनुसार एक क्विन्टल नभएर ५० किलो हाराहारी यार्चा चीन लगिएको हुन सक्ने बताए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ९डीसीसीएमसी० ले गत चैतमा संक्रमणको जोखिम हुने भन्दै यार्चालगायत जडीबुटी संकलन बन्द गर्ने निर्णय गरेको थियो । निर्णय उल्लंघन गरे कडा कारबाही गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र पालिकाहरूले रेडियोहरूबाट सूचना प्रसारण गरेका थिए ।

तर लुकीछिपी संकलन गरिन थालेको खबर पाएपछि डिभिजन वन कार्यालयले प्रहरी पठाएर केहीलाई पक्राउ गरेको थियो । तर, संकलकहरूले यार्चा टिप्न नपाए जीविका नै जोखिममा पर्ने भन्दै जनप्रतिनिधिलाई दबाब दिएका थिए ।

स्थानीयको दबाबपछि सुर्मा गाउँपालिकाले संकलन खुला गर्ने लिखित निर्णय गरेको थियो । साइपाल, छबिसपाथीभेरा, दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकाले मौखिक निर्णयका भरमा संकलकलाई लेक जान अनुमति दिए । त्यसपछि प्रशासनले हस्तक्षेप गरेन ।

सरकारले प्रतिबन्ध लगाएकै अवस्थामा संकलन भएको यार्चा जिल्ला बाहिर निकासीका लागि अनुमति दिन नसकिने डिभिजन वन कार्यालय बझाङले जनाएपछि व्यापारीहरूले अवैध बाटो रोजेको जडीबुटी व्यापारीसमेत रहेका बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।

‘जिल्लाले पुर्जी दिँदैनौं भनेर रोकेपछि व्यापारीहरूले संकलन गरेको यार्चा अवैध तरिकाले गएको हो,’ उनले भने ‘यो राज्यको लापरबाही हो । यसले राजस्व मात्रै गुमेको छैन, गैरकानुनी काम गर्नेहरूलाई पनि प्रश्रय मिलेको छ ।’

आखेटोपहारको खुलेआम व्यापार

उरै नाका भएर यार्चा मात्र होइन, अन्य बहुमूल्य जडीबुटी र जनावरका आखेटोपहार ओसारपसार पनि धमाधम भइरहेको छ । ‘यो सिजन (असार–मंसिर) वनलसुन, रातो च्याउ, जटामसी र कटुकीलगायत जडीबुटी पनि ठूलो परिमाणमा ओसारपसार भइरहेको छ,’ साइपाल–४ का वडाध्यक्ष जयसिंह रोकायाले भने । उनले नेपाल र चीनको सीमा स्तम्भ रहेको उरै भन्ज्याङबाट करिब ३० मिनेट ओरालो झरेपछि पुगिने चीनको पुराङ काउन्टीअन्तर्गत पर्ने ठाडोढुंगासम्म नेपालीले सामान पुर्‍याउने र त्यहाँबाट चिनियाँ व्यापारीले गाडीमा हालेर ती सामान लैजाने गरेको बताए ।

ठाडो ढुंगामा पाल टाँगेर जडीबुटी, वन्यजन्तुको अखेटोपहार र रक्त चन्दनलगायतका प्रतिबन्धित वस्तु भण्डार गर्ने व्यवस्था गरिएको र असारदेखि मंसिरसम्म तिब्बतको सीमावर्ती बजार ताक्लाकोट ओसार्ने गरिएको स्थानीयले बताए ।

यो सिजनमा बझाङको साइपाल गाउँपालिकादेखि चीनको ताक्लाकोटसम्म जाने बाटोमा ओहोरदोहोर गर्नेहरू प्रशस्त भेटिन्छन् । उनीहरूलाई लक्ष्य गरेर यही बाटोमा तीन दर्जनभन्दा बढी अस्थायी होटल खुलेका छन् । बझाङ, दार्चुला, हुम्ला, मुगु र कालिकोटसम्मका सर्वसाधारण व्यापारीका रातो च्याउलगायतका प्रतिबन्धित जडीबुटी बोकेर हिँडिरहेका हुन्छन् । साइपाल गाउँपालिकाकै मानबहादुर बोहराले भने, ‘सीमा वरिपरि ठाउँठाउँमा अस्थायी टहरा नै खडा गरेर तस्करहरूले खुलेआम कारोबार गरिरहेका हुन्छन् । त्यहाँ कसैको पनि डर हुँदैन ।’

असारदेखि मंसिरसम्म खुला हिमाली पाटनमा प्रतिबन्धित जडिबुटी सुकाएको, अस्थायी टहराहरूमा बोराका बोरा जडीबुटी तिब्बत लैजाने तयारीमा राखिएको र जडीबुटी तथा अन्य प्रतिबन्धित सामान लिएर दिउँसै निर्धक्क हिँडिरहेका खच्चर, भेडा, भरिया र तस्करीमा संलग्न व्यक्तिको ताँती भेटिने गरेको उनले बताए । ‘जडीबुटी, कस्तुरीको बिना, बाघको छाला र हड्डी, बहुमूल्य पथ्थर, रक्तचन्दन सबै यही बाटो भएर आउँछन्,’ करिब ९ वर्षसम्म तिब्बतको लुपुस्थित चिनियाँ सीमा सुरक्षा पोस्ट नजिक होटल गरेर बसेका हुम्लाका बहादुर लामाले भने ।

बोहराका अनुसार जडीबुटीमा बढीजसो रातो च्याउ, पाँच औंले, कटुकी, सतुवा, जटामसी, वनलसुन यो बाटो भएर तिब्बत लगिने गरेको छ । तिब्बततर्फ बढी निकासी हुने सतुवा, कटुकी, वनलसुनको अव्यवस्थित संकलन भएकाले लोप हुने अवस्थामा पुगेको भन्दै बझाङमा दुई वर्षका लागि संकलनमा रोक लगाइएको छ । पाँच औंले विश्वमै लोपोन्मुख प्रजातिमा रहेकाले यसको संकलनमा सरकारले नै प्रतिबन्ध लगाएको छ ।

रक्त चन्दनको ट्रान्जिट

बझाङ प्रहरीले २०६८ चैतमा चीनको तिब्बततर्फ लैजाँदै गरेको अवस्थामा रिठापाटाको बारिलबाट करिब ३५ क्विन्टल रक्त चन्दनसहित ८६ जना भरियालाई पक्राउ गर्‍यो । ती सबै भरिया बाजुराका थिए । त्यही वर्ष असोजमा १ सय ५० भन्दा बढी भरिया लगाएर करिब ५० क्विन्टल रक्तचन्दन तिब्बत पुर्‍याएको घटना सार्वजनिक भएको थियो ।

बझाङका भरियाबाट खुलासा भएको उक्त रक्तचन्द