सुदूरपश्चिममा आज २ बर्षीय बालक सहित ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ९ पुग्यो

धनगढी, साउन २ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज ९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ६ र डडेल्धुरा प्रयोगशालामा तीन गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।
डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा आज डडेल्धुरा, बझाङ र डोटीका १–१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा १ महिला र ५ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का १०, १९ र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन । उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का २ बर्षीय बालक र २५ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। आज ९ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म सबैभन्दा बढि कैलालीमा ९ सय ४७, अछाममा ६ सय ४५, बाजुरामा ६ सय १६, डोटीमा ५ सय ७९, कञ्चनपुरमा ४ सय ६२, डडेल्धुरामा २ सय ९३, बैतडीमा २ सय ७६, बझाङमा १ सय ७१ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमित मध्ये १ हजार ६ सय बढि डिस्चार्ज भईसकेका छन भने ८ जनाको मृत्यु भईसकेको छ ।
शुक्रबार नेपालमा १ सय १ जनामा कोरोना संक्रमण भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ४ हजार ६ सय ८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २सय ८५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । मुलुकभर ५ हजार ८ सय ७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् भने २२ हजार ७ सय ५६ जना क्वारेन्टिनमा रहेका छन् ।





प्रतिकृया दिनुहोस्