यातायात व्यवस्था कार्यालय: जहाँ घुस विना काम हुँदैन

-सीताराम ओझा
(फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार पारिएको रिपोर्ट)
घटना १
गत बर्षको भदौ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कैलालीका तीनजना कर्मचारीलाई पक्राउ ग–यो । कार्यालयका निमित्त प्रमुख गम्भीर विष्टसहित यातायात कार्यालयका अधिकृत भुवन जोशी र जयराज कारिगरलाई अख्तियारले पक्राउ गरेको थियो । उनीहरुलाई सवारी साधन बिक्री गरी नामसारी गरी दिए वापत सेवाग्राहीसँग लिएको एकलाख ६६ घुस सहित अख्तियारको टोलीले पक्राउ गरेको थियो । असोजमा उनीहरु विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भयो । एक लाख ६६ घुस हजार घुस सहित पक्राउ गरेपनि अख्तियारले १५ हजार सहित पक्राउ गरिएको भन्दै बिगो माग दावी सहित मुद्दा दायर गरेको थियो । असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले भनेका थिए, ‘उनीहरुबाट एक लाख ६६ हजार बरामद गरिएको भएपनि सेवाग्राहीबाट १५ हजार मात्र लिएको देखिदा सोही अनुसार मुद्दा दर्ता गरिएको हो ।’
घटना २
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिकवर्षमा चोरीका आठवटा मोटसाईकल बरामद ग–यो । चोरीमा संलग्न व्यक्ति पनि पक्राउ परे । पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–४का ३५ बर्षीय बहादुर राना, बेतकोट नगरपालिका–६ का ३५ बर्षीय राजकुमार राना, सोही ठाउँका २५ बर्षीय हरेन्द्र राना, ३० बर्षीय सुवेश राना पक्राउ परे ।
यस्तै लालझाडी गाउँपालिका–१ का ४२ बर्षीय रामनिवास राना, शुक्लाफाँटा नगरपालिका–१२ स्थायी घरभई धनगढी उपमहानगरपालिका–३ मिलन चोक का २७ बर्षीय श्याम राना, बेतकोट नरपालिका–६ का २८ बर्षीय रामलाल राना, बेतकोट नगरपालिका–५ का १८ बर्षीय प्रदिप राना, बेतकोट नगरपालिक–५ का २७ बर्षीय लक्ष्मी रानालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले चोरीमा संलग्न गिरोह पक्राउसंगै सवारी साधन चोरी मात्र नभई उनीहरुले कागजात ‘किर्ते’ पनि गर्दै आएको तथ्य फेला पा–यो । त्यसपछि प्रहरीले अनुसन्धानको दायरा यातायात व्यवस्था कार्यालयतर्फ पनि सोझ्यायो ।
‘त्यसपछि हाम्रो अनुसन्धान यातायात कार्यालय तर्फ केन्द्रित भयो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापा क्षेत्रीले भने, ‘धेरै मोटरसाईकल सेती अञ्चलका भएका कारण अनुसन्धान पनि सेती अञ्चलमै केन्द्रीत गरेका थियौँ ।’ अनुसन्धानकै क्रममा मोटरसाईकल चोरी र कागजात किर्तेमा यातायात व्यवस्था कार्यालय कैलालीका कर्मचारीको समेत संलग्नता देखिएको उनले बताए । ‘यातायात व्यवस्था कार्यालय धनगढीमा सहायक कम्प्युटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई पनि पक्राउ गरेका छौं । सरकारी छाप दस्तखत किर्तेमा मुद्धा दर्ता भईसकेको छ,’ उनले भने ।
०००
यि दुई घटना प्रतिनिधि मात्रै हुन । सतहमा आएका यस्ता घटनाजस्तै अनेकौ काण्डहरु यातायात व्यवस्था कार्यालयमा देख्न पाईन्छ । बिचौलिया र कर्मचारीको मिलोमतोमा यातायात व्यवस्था कार्यालयमा अनियमितता मौलाएको छ । जसलाई सेवाग्राहीका अनुभवले पुष्टि गर्छ ।
‘यातायात कार्यालयमा विना कमिशन काम नै नहुने समस्या रहेको छ,’ कार्यालयमै भेटिएका एक जना सेवाग्राही टेकराज जोशीले भने, ‘सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा, नविकरण, जाँचपास, सवारी साधन दर्ता, नामसारी लगायतका काम बीना कमिशन नहुने समस्या रहेको छ ।’
यता यातायात कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले भने कमिशन विना काम नै नहुने गुनासोमा सत्यता नभएको बताए । ‘धेरै राम्रा काम पनि भएका छन्,’ उनले भने, ‘दुई चार वटा घटना सार्वजनिक हुँदैमा बिना घुस काम नै हुँदैन् भन्ने कुरा होईन ।’ सुदूरपश्चिमका नौ जिल्लामध्ये सवारी चालक अनुमति पत्र वितरण, जाँचपास, नविकरण, नामसारी लगायतका काम कैलाली र कञ्चनपुरमा मात्रै हुने गरेको छ । पहाडी जिल्लामा रहेका सेवा कार्यालय मार्फत सेवा प्रवाह हुन सकेको छैन् ।
कर बुझाउनै मुस्किल
कैलाली गेटाका दिपेन्द्र पाल यातायात व्यवस्था कार्यालयमा कर बुझाउनकै लागि बिहान ९ बजे धनगढी पुगे । सयौंको संख्यामा लाईन लागेका सेवाग्राहीसँगै उनी पनि लाईन बसे । कोरोना त्रासका बिच कर बुझाउन यातायात कार्यालय पुगेका पाल सामाजिक दुरी कायम नगरी लाईनमा बस्न बाध्य भए । बिहान ९ बजे लाईन लागेका पालको पालो दिउँसो चार बजेतिर मात्रै आयो ।
‘छिटो काम होला भनेर बिहानै आएको थिए, समयमा काम नहुँदा समस्या भएको छ । एक दिन पुरै लाईन लागेरै वितेको छ,’ उनले दुखेसो गरे । सरकारलाई कर बुझाउन पनि आपत भएको उनको गुनासो थियो ।
कर बुझाउनकै लागि धनगढी उप–महानगरपालिका–३ का प्रेम पाण्डेय पनि यातायात व्यवस्था कार्यालय कैलालीमा बिहान १० बजे पुगे । कार्यालय खुले बाट नै लाइन बसेका पाण्डेयले पनि एक बजेसम्म कर बुझाउन नपाएको गुनासो सुनाए । उनले भने, ‘सरोकारवाला निकायको बेवास्ताका कारण अव्यवस्थित रुपमा नै कर बुझाउनुपर्ने बाध्यता छ ।’ सरकारलाई कर बुझाउन समेत जनताले सास्ती पाईरहेको उनको गुनासो छ । ‘सरकारलाई कर बुझाउन बिहान ६ बजेदेखि लाइन बस्नु पर्ने यो कस्तो व्यवस्थापन हो ?’ उनले प्रश्न गरे ।
कोरोना प्रभावपछि जारी लकडाउनको अवधिको कर समेत यसै आर्थिक वर्षभित्र बुझाउनुपर्ने भएका कारण केही दिन यता कार्यालयमा भिडभाड बढेको छ । असार मसान्तसम्म कर बुझाउन नसके जरिवाना समेत तिर्नु भएका कारण अहिले भिडभाड बढेको हो । तर सुदूरपश्चिम प्रदेश सरकारकै मातहत रहेको यातायात व्यवस्था कार्यालय कैलालीले सेवा प्रवाहलाई व्यवस्थित बनाउन लापरवाही गरेको गुनासो सेवाग्राहीको छ ।
यता यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले भने असार मसान्तभित्र कर बुझाउनेलाई जरिवाना नलाग्ने भएका कारण भिड बढेको बताए । ‘यो महिनाभित्र यस्तै भिड हुन्छ । हामीले आफ्नो तर्फबाट गर्ने व्यवस्थापन गरिरहेका छौं’ उनले भने ।
आर्थिक वर्षको अन्त्यमा सवारी कर बुझाउनुपर्ने, नविकरण गर्नुपर्ने, सवारी साधन नामसारी गर्नुपर्ने लगायतका विभिन्न कामले सेवाग्राहीहरु यातायात व्यवस्था कार्यालय पुग्ने गरेका छन । तर बैंक काउण्टरको अभाव, व्यवस्थापनमा आनाकानीका कारण सेवाप्रवाहमा ढिलासुस्ती मात्रै भएको छैन । कार्यालयमा लागेको अत्यधिक भिडमाडले कोरोना भाइरसको जोखिम समेत बढेको छ ।
प्रतिकृया दिनुहोस्