October 9, 2026, Friday
२०८३ आश्विन २४

‘दोधारा-चाँदनी पुल देशकै सम्पदा हो, पुनर्निर्माण गरियोस्’ : रमेश लेखक

धनगढी । नेपाली कांग्रेसका नेता रमेश लेखकले महाकाली नदीमाथि रहेको दोधारा–चाँदनी जोड्ने ऐतिहासिक झोलुंगे पुलको पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।

शुक्रबार भत्किएको पुलको अनुगमनमा पुगेका लेखकले पुलको अवस्थाप्रति दुःख व्यक्त गर्दै यथाशीघ्र पुनर्निर्माण र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

लेखकले दोधारा–चाँदनी झोलुंगे पुल कञ्चनपुरको मात्र नभई सिंगो देशको ऐतिहासिक सम्पदा भएको बताए। पुलले यस क्षेत्रलाई नेपालको अन्य भूभागसँग प्रत्यक्ष रूपमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले यसको संरक्षण र पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

उनले विगतमा दोधारा–चाँदनीका बासिन्दालाई नेपालको अन्य भूभागमा आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गरे। महाकाली नदीमाथि पुल निर्माण भएपछि स्थानीयको आवागमन सहज हुनुका साथै यस क्षेत्रको देशका अन्य भागसँगको सम्पर्क स्थापित गर्न महत्त्वपूर्ण योगदान पुगेको उनको भनाइ छ।

२०५६ सालमा कञ्चनपुरबाट पहिलो पटक निर्वाचित भएपछि तत्कालीन प्रतिनिधिसभामा महाकाली नदीमाथि झोलुंगे पुल निर्माण गरी दोधारा–चाँदनीलाई जोड्नुपर्ने प्रस्ताव राखेको लेखकले बताए। त्यतिबेला कतिपयले लामो दूरीको पुल निर्माणलाई असम्भव भन्दै ठट्टा गरेको स्मरण गर्दै उनले सरकारी बजेट, नेपाली प्राविधिक र निर्माणकर्ताको सहयोगमा पुल निर्माण गर्न सफल भएको उल्लेख गरे।

लेखकका अनुसार उक्त पुल निर्माणले नेपालमा लामा झोलुंगे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा समेत सहयोग पुर्‍याएको थियो। त्यसैले पुललाई आवागमनको साधनका रूपमा मात्र नभई नेपालको प्राविधिक क्षमता र ऐतिहासिक उपलब्धिसँग जोडिएको सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने उनले बताए।

पुल भत्किएपछि यसको पुनर्निर्माणसँगै भविष्यमा यस्ता संरचनाको नियमित निरीक्षण र मर्मतसम्भारको व्यवस्था आवश्यक रहेको लेखकको भनाइ छ। ऐतिहासिक महत्त्व बोकेको पुलको संरक्षणमा ढिलाइ नगरी सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिएका छन्।