धनगढीमा पाटेबाघको पाइला भेटिएपछि वन क्षेत्र आसपास सतर्क रहन आग्रह

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा जंगली च्याउ टिप्न गएका कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको केही दिनपछि धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित वन क्षेत्रमा समेत पाटेबाघको पाइला भेटिएको छ।
डिभिजन वन कार्यालय धनगढीको नेतृत्वमा सोमबार गरिएको अनुगमनका क्रममा धनगढी–१७ स्थित सिद्धबाबा सामुदायिक वन तथा भारताल साझेदारी वन क्षेत्रको कोर क्षेत्रमा बाघका पाइला भेटिएका हुन्। बाघको पाइला भेटिएपछि वन कार्यालयले आसपासका सामुदायिक वनका उपभोक्ता समूह र स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
वन कार्यालयका अनुसार भारताल साझेदारी वन क्षेत्रसँग जोडिएका धनगढी उपमहानगरपालिकाका वडा नं. १४, १५, १६, १७ र १८ तथा कैलारी गाउँपालिकाका वडा नं. ६ र ९ का वडा अध्यक्षलाई समेत बाघको गतिविधिबारे जानकारी गराइएको छ।
वन कार्यालयले बिहान–बेलुका एक्लै वन क्षेत्रमा नजान तथा वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दालाई रातिको समयमा समेत विशेष चनाखो रहन आग्रह गरेको छ।
बाघको निगरानी तथा अनुगमनका लागि धनगढी–१७ का कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर गिरी, सिद्धबाबा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतराम चौधरी, केदार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भरत सिराडी, शिवगंगा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हर्षराज राना तथा भारताल साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष यादवप्रसाद भण्डारीसहित उपभोक्ता समूहका पदाधिकारी र स्थानीयको टोली परिचालन भएको छ।
अनुगमन तथा निगरानीमा राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) का प्राविधिकहरू ललिता जोशी, देवराज जोशी र ओम चौधरीसहितको टोलीसमेत संलग्न रहेको जनाइएको छ।
वन अधिकारीहरूका अनुसार कैलालीको बसन्ता क्षेत्रमा हरेक वर्ष बाघ आउने र त्यही क्षेत्रमा डमरु हुर्काउने गरेको पाइन्छ। यस वर्ष पनि बाघ दुईवटा डमरुसहित बसन्ता क्षेत्रमा आएको र पछिल्लो समय सामुदायिक वन क्षेत्रतर्फ समेत आफ्नो क्षेत्र विस्तार गरेको हुनसक्ने उनीहरूको भनाइ छ।
डिभिजन वन कार्यालय धनगढीका वन अधिकृत रामअवतार चौधरीका अनुसार बसन्ता संरक्षित वन क्षेत्र अतिक्रमणको चपेटामा पर्दै जाँदा वन्यजन्तुको बासस्थानमा समेत असर परेको छ। सामुदायिक वन क्षेत्रमा वन संरक्षण प्रभावकारी हुँदै गएपछि बाघले त्यस्ता क्षेत्रमा डमरु हुर्काउन थालेको हुनसक्ने उनले बताए।

‘बाघले आफ्नो सुरक्षाका लागि आफ्नो क्षेत्रभित्र अरूलाई प्रवेश गर्न नदिन सक्छ,’ चौधरीले भने, ‘त्यसैले वन क्षेत्रमा जाँदा स्थानीयले विशेष सावधानी अपनाउन आवश्यक छ।’
यसअघि गत शुक्रबार गौरीगंगा–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा जंगली च्याउ टिप्न गएका कृष्ण चौधरीलाई बाघले आक्रमण गरेको थियो। आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि वन कार्यालयले बाघको खोजी तथा गतिविधि निगरानी गर्नुका साथै आसपासका स्थानीयलाई सतर्क गराउँदै आएको जनाएको छ।
वन संरक्षणकर्मी ओमप्रकाश सापकोटाले भने सामुदायिक वन क्षेत्रमा बाघको उपस्थितिलाई सम्बन्धित निकायले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। मानवीय क्षति भएको घटनापछि घटनास्थलको अनुगमन, पीडित परिवारप्रति संवेदना तथा राहतका विषयमा समेत पर्याप्त ध्यान नदिइएको उनको गुनासो छ।
‘सामुदायिक वनमा बाघ आएर मान्छेको ज्यान गइसकेको अवस्थामा पनि सम्बन्धित सरोकारवाला निकायले घटनालाई गम्भीर रूपमा लिनुपर्छ,’ सापकोटाले भने।
उनले वन तथा वन्यजन्तु संरक्षणभन्दा वन पैदावारको उपयोगमा बढी ध्यान केन्द्रित भएको आरोप लगाउँदै वन मन्त्रालय, प्रदेश वन निर्देशनालय र डिभिजन वन कार्यालयले काठ उत्पादन तथा उपयोगसँगै वन्यजन्तुको बासस्थान संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई समेत प्राथमिकता दिनुपर्ने बताए।
धनगढी–१७ सहित आसपासका वन क्षेत्रमा बाघको पाइला भेटिएपछि स्थानीय बासिन्दामा त्रास बढेको छ। वन कार्यालयले बाघको गतिविधि निरन्तर निगरानीमा राखेको जनाएको छ भने स्थानीयलाई वन क्षेत्रमा प्रवेश गर्दा तथा बिहान–बेलुका आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।



लेखकको सम्वन्धमा