सुदूरपश्चिम प्रदेशमा जडीबुटी: न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडीबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो”, नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदन २०८१ मा भनिएको छ, “यसरी एक वर्षमा निर्यात भएको जडीबुटीको औसत मूल्यलाई आधार मान्ने हो भने पनि सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा रु एक अर्ब २४ करोडको जडीबुटी निकासी गर्न सकिने सम्भावना देखिन्छ ।”
सम्भावनाको यो तथ्याङ्क प्रदेशका नीति निर्माता र राजनीतिक नेतृत्वका लागि नयाँ होइन, तर सङ्घीयता कार्यान्वयन भएको करिब नौ वर्ष पुग्दा पनि प्रदेशमा न आयुर्वेद औषधि उत्पादन उद्योग स्थापना भएको छ, न जडीबुटी प्रशोधन केन्द्र । यहाँसम्मकी जडीबुटी प्रशोधन र औषधि उत्पादनका लागि आवश्यक बृहत् सम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन ।
आयुर्वेद क्षेत्रका जानकारहरूले भाषण, दस्ताबेज र नीति बहसमा यहाँका अधिकांश नेता तथा जनप्रतिनिधिले सम्भावनाको कुरा गरे पनि अवसर आएको बेला कार्यान्वयनमा चासो नदेखाएको आरोप लगाउँदै आएका छन् । आफूहरूले सम्भावनाको उपयोग कसरी गर्ने भनेर सुझाउँदै आए पनि हालसम्म त्यसको सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।
सरकारी आँकडामै सुदूरपश्चिमको बझाङ जिल्लाबाट मात्रै करिब १७ लाख ५५ हजार ३१५ किलो, डोटीबाट आठ लाख ६५ हजार ५००, दार्चुलाबाट सात लाख ७४ हजार ५४, अछामबाट छ लाख ८७ हजार ३००, बाजुराबाट छ लाख छ हजार १९८, डडेलधुराबाट पाँच लाख ८४ हजार किलो, कैलालीबाट पाँच लाख ८४ हजार, बैतडीमा तीन लाख ४७ हजार ७७० र कञ्चनपुरबाट ७० हजार किलो जडीबुटी सङ्कलनको सम्भावना देखाइएको छ । यद्यपि, यसको नियमित अद्यावधिक भइरहेको छैन ।
“प्रदेशका जङ्गलमा जडीबुटी छ, बजारमा माग छ र प्रदेशभित्रै औषधिको खपत पनि ठुलो छ भन्नेमा सबै जानकार छौँ । तथापि, जडीबुटीलाई औषधिको बट्टामा रूपान्तरण गर्ने उद्योग भने अझै प्रदेशको प्राथमिकतामा परेको छैन”, यस क्षेत्रका व्यवसायीहरूले विगतदेखि नै भन्दै आएका छन् ।
प्रदेशका हिमाली जिल्लाबाट सङ्कलित यार्सागुम्बा, पाँचऔँले, कुटकी, चिराइतो, सुगन्धवाल र जटामसीदेखि तराईका कुरिलो, सर्पगन्धा, क्यामोमाइल, मेन्था, तेजपात र लेमनग्राससम्मका जडीबुटी बाहिरिन्छन् । ती जडीबुटी प्रशोधन भएर औषधि बनेपछि भने महँगो मूल्यमा पुनः प्रदेशमा भित्रिने गरेका छन् । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीका निमित्त प्रमुख डा ओमप्रकाश कलौनी प्रदेशमा आवश्यक सानो परिणामको आयुर्वेद औषधि पनि अन्यत्रबाट किन्नुपर्ने अवस्था अन्त्य हुन नसकेको बताउँछन् । यसको अन्त्यका लागि अन्य प्रदेशमा जस्तै सुदूरपश्चिममा औषधि उत्पादन उद्योग सञ्चालन गरिनुपर्ने उनको जोड छ ।
सुदूरपश्चिमका नौ जिल्लामा रहेका प्रादेशिक आयुर्वेद चिकित्सालय, महाकाली आयुर्वेद औषधालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय नागरिक आरोग्य केन्द्र, निजी क्लिनिक र फार्मेसीको मागअनुसार वार्षिक करोडौँ रकमको आयुर्वेदिक औषधि खपत हुनसक्ने अनुमान रहेकाले आन्तरिक खपतका लागि पनि प्रदेशमै उद्योग स्थापना आवश्यक रहेको छ ।
“हाम्रै प्रदेशमा सम्भव भएका औषधि पनि बाहिरबाट ल्याउनु परिरहेको छ । त्यसमा करिब रु २५ करोडभन्दा बढी बाहिरिइरहेको छ । कच्चा जडीबुटी बाहिर पठाउने र त्यही जडीबुटीबाट बनेका चूर्ण, वटी तथा अन्य औषधि खरिद गरेर ल्याउने चक्र वर्षौँदेखि दोहोरिँदै आएको छ । थारै लगानीमा यसलाई बदल्न सकिन्छ । त्यसका लागि नेतृत्वको इच्छाशक्तिको खाँचो छ”, निमित्त प्रमुख डा कलौनीले भने ।
‘कच्चापदार्थ, बजार र उत्पादन सम्भावना’
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदनअनुसार सन् २०१८ मा रु एक अर्ब ४४ करोड अमेरिकी डलर बराबरको जडीबुटी आयात भएको थियो । जडीबुटीको यो बजारलाई एकातिर नेपालले उपयोग गर्न सक्ने अवस्था विद्यमान छ भने अर्कातिर मूल्ययोगसहित नेपाली जडीबुटीको वस्तु र बजार विविधीकरण गर्न सक्ने सम्भावना पनि छ । सुदूरपश्चिममा उपलब्ध जडीबुटीलाई दिगो व्यवस्थापनको विधिबाट सङ्कलन गरी यस क्षेत्रलाई नेपालकै आयआर्जनको क्षेत्रका रूपमा विकास गर्न सकिने केन्द्रको निष्कर्ष छ ।
हाल प्रदेशमा एक प्रादेशिक आयुर्वेद चिकित्सालय, सात जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एउटा आयुर्वेद औषधालय (महाकाली), ३३ वटा पालिकास्तरीय आयुर्वेद औषधालय र ५५ नागरिक आरोग्य सेवा केन्द्र (पालिका स्तरीय)ले अनुमानित करिब रु सात करोडको आयुर्वेदिक औषधि बाहिरबाट ल्याउनु परिरहेको प्रादेशिक चिकित्सालयले जनाएको छ ।
जडीबुटीमा सम्भावना मात्रै नभई उत्पादनको अभ्याससमेत सफल भइसकेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयले आर्थिक वर्ष २०८२/८३ मा करिब रु ३२ लाख बराबरका ३१ प्रकारका जडीबुटीजन्य कच्चा पदार्थ खरिद गरी त्यसबाट रु एक करोडभन्दा बढी बजार मूल्यका औषधि उत्पादन गरेको जनाएको छ ।
निमित्त प्रमुख डा कलौनीका अनुसार चिकित्सालयले निःशुल्क वितरणका लागि ३५ प्रकारका अत्यावश्यक औषधिसहित करिब रु एक करोड १६ लाखका औषधि खरिद गरेको छ भने सशुल्क फार्मेसीबाट करिब रु एक करोडका औषधि बिक्री गरेको छ । “एउटा प्रादेशिक अस्पतालमै वार्षिक सवा दुई करोड रुपैयाँको औषधि खपत हुन्छ । बाँकी संस्थाहरूमा पनि त्यस्तै माग छ । राज्यले सुरुमा थोरै लगानी गरेमा आन्तरिक खपतका लागि औषधि उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण हामीले पेस गरिसकेका छौँ”, उनले भने।
यहाँ पाइने जडीबुटीलाई कच्चा पदार्थका रूपमा बिक्री गर्नुभन्दा प्रशोधन गरी औषधि तथा हर्बल उत्पादन बनाउन सके उल्लेख्य मूल्य अभिवृद्धि गर्न सकिने जानकारहरू बताउँछन् । चिराइतो प्रशोधन गर्दा ३।५ देखि ४।५ गुणा, टिमुरबाट चारदेखि छ गुणा, तेजपात तथा दालचिनीबाट पाँचदेखि आठ गुणा र अमलाबाट १० गुणाभन्दा बढी मूल्य अभिवृद्धि गर्न सकिन्छ । पाषाण भेदबाट छदेखि नौ गुणा, रिट्ठाबाट पाँचदेखि आठ गुणा, क्यामोमाइल तथा मेन्थाबाट १० देखि २० गुणा र गुर्जोबाट आठदेखि १२ गुणासम्म मूल्य बढाउन सकिने सम्भावना छ ।
किसानले प्रतिकिलो रु ४०–६५ मा बेच्ने ताजा अमलाबाट च्यवनप्राश, त्रिफला चूर्ण तथा क्याप्सुल बनाउन सकिन्छ । त्यस्तै, प्रतिकिलो रु २५–४० मा बिक्री हुने काँचो गुर्जोबाट बन्ने गुर्जो सत्त्वको मूल्य प्रतिकिलो रु चार हजारसम्म पुग्ने गरेको आयुर्वेद औषधि व्यवसायी ठक्कर बोगटी भनाइ छ ।
योजना छ, अब लगानी आवश्यक
सुदूरपश्चिममा जडीबुटीको सम्भावना छ, तर त्यसलाई उत्पादन, सङ्कलन, प्रशोधन, औषधि निर्माण, गुणस्तर प्रमाणीकरण र बजार व्यवस्थापनसँग जोडेर एउटै मूल्य शृङ्खला निर्माण हुन सकेको छैन । “सुदूरपश्चिमका बाटो–बाटोमा जडीबुटी छ, तर घाँस त हो नि भनेर हेला गर्ने नागरिक छौँ । यसको महत्त्व बुझाउन सरकारको पनि पर्याप्त ध्यान छैन”, व्यवसायी बोगटीले भने, “पहिले केन्द्रलाई सरापेर बस्à


