सुदूरपश्चिम प्रदेशमा ग्याँस अभाव छैन, भण्डारणले बढायो बजारको चाप

धनगढी । नेपालमा एलपी ग्याँसको आपूर्ति पर्याप्त रहेको सरकारी दाबीका बीच कैलालीमा भने उपभोक्ताले सहज रूपमा ग्याँस पाउन सकेका छैनन्। केही डिलरमा भरिएका सिलिण्डर भेटिए पनि अधिकांश बिक्री केन्द्रमा खाली सिलिण्डर मात्रै भेटिन थालेपछि उपभोक्ता ग्याँस खोज्दै भौँतारिनुपर्ने अवस्था आएको छ।
नेपाल आयल निगमले विगतको तुलनामा ग्याँसको आपूर्ति बढेको दाबी गरेको छ। तर बजारमा देखिएको चापले आपूर्ति मात्र पर्याप्त भएर उपभोक्ताको आवश्यकता सम्बोधन नहुने देखाएको छ। बढ्दो माग, आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्ने प्रवृत्ति र कैलालीबाट अन्यत्र ग्याँस पठाउने क्रमले स्थानीय बजारमा ग्याँसको थप दबाब सिर्जना भएको व्यवसायीहरूको भनाइ छ।
बजारमा ग्याँस अभावको गुनासो बढेपछि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय कैलाली, नेपाल आयल निगम र नेपाल प्रहरीसहितको टोलीले सोमबार धनगढी बजारका विभिन्न ग्याँस डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा केही डिलरमा भरिएका सिलिण्डर भेटिए पनि अधिकांश बिक्री केन्द्रमा खाली सिलिण्डर मात्रै भेटिएको थियो। टोलीले ग्याँसको आपूर्ति, मौज्दात तथा बिक्री वितरणको अवस्थाबारे बिक्रेतासँग जानकारी लिएको थियो। अनुगमन समितिका अनुसार बिक्रेताले कृत्रिम अभाव सिर्जना गर्न ग्याँस लुकाएर राखेको ठोस प्रमाण भने भेटिएको छैन।
माग बढ्दा डिलरमा चाप
ग्याँस आपूर्तिकर्ता जीवन ऐडीका अनुसार उद्योगबाट विगतकै अनुपातमा ग्याँस आइरहेको छ। तर पछिल्लो समय ग्राहकको संख्या अस्वाभाविक रूपमा बढ्दा डिलरमा चाप परेको हो।
उनका अनुसार विगतमा निश्चित क्षेत्रका उपभोक्ता मात्रै ग्याँस खरिद गर्न आउने गरेकामा अहिले धनगढीका विभिन्न क्षेत्रसँगै आसपासका ठाउँबाट समेत उपभोक्ता ग्याँस लिन आउन थालेका छन्। ग्राहकको संख्या झण्डै दोब्बरजस्तो भएपछि नियमित आपूर्ति हुँदाहुँदै पनि सबैलाई तत्काल ग्याँस उपलब्ध गराउन कठिन भएको उनको भनाइ छ।
ऐडीका अनुसार बजारमा देखिएको चापको अर्को कारण केही उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर घरमै भण्डारण गर्नु हो। कतिपय ठूला घरपरिवार तथा आर्थिक रूपमा सक्षम उपभोक्ताले तीनदेखि पाँच वटासम्म सिलिण्डर राख्ने गरेका कारण एक वा दुईवटा मात्रै सिलिण्डर प्रयोग गर्ने विद्यार्थी, डेरावाल तथा न्यून आय भएका परिवार समस्यामा परेको उनले बताए।
“उद्योगबाट विगतकै अनुपातमा ग्याँस आइरहेको छ। तर ग्राहकको संख्या धेरै बढेको छ। केहीले चार–पाँच वटासम्म सिलिण्डर भण्डारण गर्दा एउटा सिलिण्डर मात्रै राख्ने उपभोक्ता समस्यामा परेका छन्,” ऐडीले भने।
कैलालीबाट काठमाडौंसम्म पठाइँदै
अर्का ग्याँस आपूर्तिकर्ता धुर्वे ओझाका अनुसार कैलालीमा खरिद गरिएका ग्याँस सिलिण्डर काठमाडौंसम्म पठाउने क्रमसमेत बढेको छ। उनका अनुसार केही व्यक्तिले स्थानीय बजारबाट ग्याँस खरिद गरी अन्यत्र पठाउने गरेका कारण कैलालीमा माग थप बढेको हो।
ओझाले आफूले नियमित रूपमा ग्याँस बिक्री गरिरहेको भए पनि अभावको नाममा आवश्यकताभन्दा बढी ग्याँस भण्डारण गर्न खोज्ने ग्राहकलाई बिक्री नगर्ने गरेको बताए।
“म नियमित रूपमा ग्याँस बिक्री गरिरहेको छु। तर अभाव भयो भनेर भण्डारण गर्न ग्याँस लिन आउनेलाई बिक्री गर्दिनँ,” उनले भने।
यसले कैलालीमा देखिएको ग्याँसको चाप स्थानीय उपभोगको बढ्दो मागमा मात्रै सीमित नभई भण्डारण गर्ने प्रवृत्ति र अन्यत्र पठाउने क्रमसँग समेत जोडिएको देखाएको छ।
आपूर्ति बढेको निगमको दाबी
बजारमा ग्याँसको अभाव देखिए पनि नेपाल आयल निगमले भने आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ।
नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार विगतको तुलनामा यस वर्ष करिब २० प्रतिशत बढी ग्याँस आपूर्ति भएको छ। कार्यालयका अनुसार सुदूरपश्चिममा मासिक करिब एक लाख सिलिण्डर ग्याँस बिक्री हुने गरेकोमा यस वर्ष निर्धारित अवधिभन्दा पाँच दिन अगावै एक लाख २० हजार सिलिण्डर बिक्री भइसकेका छन्। थप ५० हजार सिलिण्डर ग्याँस आउने क्रममा रहेकाले तत्काल आपूर्ति संकट नहुने निगमको दाबी छ।
नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मनोहर डीसीका अनुसार भारतबाट ग्याँस सहज रूपमा आयात भइरहेको छ। आयात तथा आपूर्ति बढेको अवस्थामा समेत बजारमा चाप देखिनु उपभोक्ताको बढ्दो मागसँग सम्बन्धित रहेको उनको भनाइ छ।
“भारतबाट सहजै ग्याँस आयात भइरहेको छ। आपूर्तिमा कुनै समस्या छैन। उपभोक्ताले बढी ग्याँस लगेर भण्डारण नगर्नुहोस्, ढुक्क भएर बस्दा हुन्छ,” उनले भने।
अनुगमनमा कृत्रिम अभाव भेटिएन
बजारमा अभावको गुनासो बढेपछि गरिएको अनुगमनले ग्याँस बिक्रेताले कृत्रिम अभाव सिर्जना गरेको पुष्टि भने गरेन। केही बिक्री केन्द्रमा भरिएका सिलिण्डर भेटिए पनि अधिकांश स्थानमा खाली सिलिण्डर मात्रै भेटिनुले मागअनुसार तत्काल बिक्री गर्न कठिन भइरहेको अवस्था देखाएको अनुगमन समितिको निष्कर्ष छ।
सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले ग्याँसको वास्तविक अवस्था बुझ्न दिनभर बजार अनुगमन गरिएको बताए। “कतै समस्या छ कि भनेर हामीले दिनभर व्यापक अनुगमन गरेका थियौँ। तर त्यस्तो समस्या भेटिएन। अब उपभोक्ता नै सचेत बन्नुपर्ने देखियो। आवश्यकताभन्दा बढी ग्याँस भण्डारण नगरे मात्रै यो समस्या समाधान हुन्छ,” खत्रीले भने।
समस्या आपूर्तिमा मात्रै छैन
सुदूरपश्चिम प्रदेशमा देखिएको ग्याँसको चापले समस्या वास्तवमै आपूर्तिको हो कि उपभोक्ताको व्यवहार र वितरण प्रणालीको हो भन्ने महत्वपूर्ण प्रश्न उठाएको छ ।
आपूर्ति बढेको सरकारी तथ्यांक र बजारमा देखिएको अभावको अनुभूतिबीचको विरोधाभासले ग्याँस व्यवस्थापनमा वितरण प्रणाली र उपभोक्ताको व्यवहार पनि उत्तिकै महत्वपूर्ण रहेको देखाउँछ।
एउटै परिवारले आवश्यकताभन्दा धेरै सिलिण्डर थुपार्दा बजारमा तत्काल उपलब्ध सिलिण्डरको संख्या घट्छ। त्यसैबीच अभावको हल्ला फैलिँदा थप उपभोक्ता पनि भविष्यको डरले ग्याँस भण्डारण गर्


