July 12, 2026, Sunday
२०८३ असार २८

बझाङ जीप दुर्घटनाका गम्भीर ६ जनामध्ये ४ घाइतेलाई हेलिकोप्टरबाट नेपालगन्ज पुर्‍याइयो

धनगढी : बझाङ जीप दुर्घटनाका ४ जना गम्भीर घाइतेलाई हेलिकोप्टरबाट नेपालगन्ज पुर्‍याइएको छ । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा शनिबार भएको बोलेरो जीप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनामध्ये चार जनालाई आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगन्ज पठाइएको हो । 

दुई जनालाई भने थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । अन्य चार जनालाई भने नेपालगन्जमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि उनीहरूलाई हवाई उद्धार गरिएको थियो।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य १३ जना घाइते भएका थिए। बुंगल नगरपालिकाबाट दुर्गाथली गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जीप शनिबार दिउँसो केदारस्यूँ गाउँपालिका–७ मा दुर्घटनामा परेको थियो।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका दुर्गाथली गाउँपालिका–६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता तथा केदारस्यूँ गाउँपालिका–७ का देवबहादुर धामीसहित ६ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

दुर्घटनालगत्तै घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल बझाङ पुर्‍याइएको थियो।उद्धारका लागि शनिबार नै नेपाली सेनाको हेलिकोप्टर बझाङ पुगे पनि प्रतिकूल मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न सकेको थिएन। 

हेलिकोप्टर सदरमुकाम चैनपुरमा अवतरण गरेपछि घाइतेलाई एम्बुलेन्समार्फत राति जिल्ला अस्पताल पुर्‍याइएको थियो। त्यसपछि आइतबार पालैपालो दुई–दुई जनाका दरले हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको प्रहरी जनाएको छ।