February 27, 2026, Friday
२०८२ फाल्गुन १६

दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र दोधारा-चाँदनी सुख्खा बन्दरगाह सरकारको प्राथमिकतामा: अर्थमन्त्री

धनगढी : कैलालीको धनगढीमा आजबाट सुदूरपश्चिम महोत्सव सुरु भएको छ । ‘पर्यटन, संस्कृति, उद्योग र व्यापार–समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नारासहित धनगढीमा आजबाट सुदूरपश्चिम महोत्सव सुरु भएको हो ।

धनगढी उपमहानगरपालिका–१ स्थित पशुपति टोलमा दिउँसो २ बजे सुरु भएको महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले सुदूरपश्चिमको समृद्धिसँग जोडिएका ठूला आयोजना निर्माण र सञ्चालनका विषयमा वर्तमान सरकार सकारात्मक रहेको बताएका छन्।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवमा अर्थमन्त्री खनालले सरकारको मुख्य प्राथमिकता आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु भए पनि त्यससँगै सम्भव भएका विकास निर्माणका कामलाई पनि अघि बढाइने बताए।

“हाम्रो मुख्य काम निर्वाचन सफल बनाउन हो, त्यसबाहेक हाम्रो कार्यकालमा गर्न सकिने विकास निर्माणका काम पनि हुन्छन्,” अर्थमन्त्री खनालले भने, “दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माणलगायत योजना सरकारको प्राथमिकतामा छन्।”

अर्थमन्त्री खनालले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आफ्नो कार्यकालमै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। मन्त्री खनालले निर्माण सम्पन्न भएर पनि विश्वविद्यालय सञ्चालनमा नआउनु दुर्भाग्यपूर्ण भएको बताए।

विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नियुक्ति तथा प्रक्रिया तत्काल अघि बढाइने उनको भनाइ छ । ‘कार्यविधि नै परिवर्तन गरेर भए पनि विश्वविद्यालय चाँडो सञ्चालनमा ल्याउने प्रयास गर्छौं,’ उनले भने।

अर्थमन्त्री खनालले विश्वविद्यालय सञ्चालन शिक्षामन्त्रालयको क्षेत्राधिकारमा पर्ने भए पनि आफू त्यसबारे पन्छिन नसक्ने बताए । उनले भने,‘शिक्षामन्त्रीसँग नियमित सम्पर्कमा रही विश्वविद्यालयलाई सकेसम्म पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनेछु ।’

उनले सुदूरपश्चिममा ठूला आयोजना न्यून मात्रामा रहेको उल्लेख गर्दै, सम्पन्न योजनासमेत सरकारी उपेक्षाका कारण सञ्चालनमा आउन नसकेको टिप्पणी गरे। ‘यहाँको भूगोल, प्राकृतिक तथा सांस्कृतिक सम्पदा र जनसङ्ख्याअनुरूप विकासको गति तीव्र हुनुपर्ने हो तर सरकारले प्राथमिकता नदिँदा सुदूरपश्चिम पछाडि पर्‍यो,’ खनालले भने।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले प्रदेशको पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा विस्तारसँगै संस्कृति र कलाको प्रवर्द्धन नै महोत्सवको मुख्य लक्ष्य रहेको बताए। “समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्दै आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्ने उद्देश्य पनि महोत्सवले बोकेको छ,” अध्यक्ष ओझाले भने। २०७६३ सालमा २१ बुँदे मागपत्र बुझाएर सुदूरपश्चिम महोत्सव सुरु गरिएको स्मरण गराउँदै उनले १९ वर्ष बितिसक्दा पनि केही महत्वपूर्ण माग अझै पूरा हुन नसकेको गुनासो गरे

“सुदूरपश्चिमको समृद्धिका आधार निर्माणका लागि हामीले १९ वर्षदेखि निरन्तर सरकारी तहमा माग गर्दै आएका छौं,” उनले भने, “केही माग पूरा भए, केही कार्यान्वयनको चरणमा छन्, तर केही अत्यन्तै महत्वपूर्ण माग भने अझै उपेक्षित छन्। धनगढीमै स्थायी प्रदर्शनीस्थलसमेत बन्न सकेको छैन।” संघका अध्यक्ष ओझाले सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि लगानीमैत्री नीति, औद्योगिकरण, पर्यटन पूर्वाधार र ठूला परियोजनामा सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताए ।

ओझाले धनगढीमा अहिलेसम्म स्थायी प्रदर्शनी स्थल निर्माण हुन नसक्नु विकासको कमजोर उदाहरण भएको उल्लेख गरे। उनले कृषि, पर्यटन, जलस्रोत, जडिबुटी लगायत क्षेत्रमा अपार सम्भावना भए पनि लगानी भित्र्याउन आवश्यक नीतिगत र व्यवहारिक वातावरण नबनेको गुनासो गरे।

अध्यक्ष ओझाले २७ लाखभन्दा बढी सुदूरपश्चिमेली जनताको भावना र आकांक्षालाई सम्मान गर्दै प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र सन्तुलित विकासका लागि सबै तहका सरकारले ढिलाइ नगरी ठोस नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे।

देशकै ‘सबैभन्दा ठूलो पर्यटन पूर्वाधार’ सुदूरपश्चिममै

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशकै ‘सबैभन्दा ठूलो पर्यटन पूर्वाधार’ सुदूरपश्चिममै रहेको दाबी गरे।

लम्कीचुहा नगरपालिकामा निर्माण भइरहेको राजकाँडा–चिसापानी केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने जानकारी दिँदै उनले पर्यटन विकासमा यसले ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

‘सालिन आन्दोलन’ को रूपमा महोत्सवको सुरुवात

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले महोत्सवको सुरुवात २०६३ सालमा ‘सालिन आन्दोलन’ का रूपमा गरिएको बताए। “सुदूरपश्चिमको समृद्धिका आधार तयार गर्न सरकारसमक्ष माग राख्ने शान्त र सभ्य आन्दोलनका रूपमा हामीले महोत्सव सुरु गरेका थियौं,” सुदूरपश्चिम महोत्सवका संस्थापकसमेत रहेका हमालले भने, “यससँगै यहाँको कला, संस्कृति र स्थानीय उत्पादनलाई एउटै थलोमा ल्याएर उत्सवको रूपमा मनाउने अवधारणा पनि जोडिएको हो।”

प्रत्येक वर्ष महोत्सवको उद्घाटनमा प्रधानमन्त्री, मन्त्री वा प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाएर सुदूरपश्चिमका विकास योजनासम्बन्धी बुँदागत मागपत्र बुझाउने तथा ती मागका बुँदाजत्तिकै किलोको माला लगाउने परम्परा रहँदै आएको थियो। यस पटक भने अन्तरिम सरकारका मन्त्रीलाई माला नलगाउने निर्णय गरिएको आयोजकले जनाएको छ।

पुस २ गतेसम्म सञ्चालन, १५ करोड बराबरको कारोबारको अपेक्षा

“पर्यटन, संस्कृति, उद्योग र व्यापार – समृद्ध सुदूरपश्चिमको आधार” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ। महोत्सव आयोजनामा करिब तीन करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेका छन्। करिब सात लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान छ। 

महोत्सवस्थलमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल सामग्री, होटल तथा सूचना प्रविधिसम्बन्धी पाँच सयभन्दा बढी स्टलहरू राखिएका छन्।

महोत्सव अवलोकनका लागि विद्यार्थी तथा खेलाडीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ टिकटदर तोकिएको छ। ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।