December 7, 2025, Sunday
२०८२ मंसिर २१

विराटनगर किंग्ससँग अपराजित सुदूरपश्चिम रोयल्स स्तब्ध

काठमाडौँ : साम हेजलेट र फाफ डु प्लेसिसले ७ ओभरमै ९७ रन जोडेपछि विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर १ मा स्थान पक्का गरेको छ ।

शनिबार टस जितेपछि ब्याटिङ निम्तो पाएको सुदूरपश्चिमले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४७ रन बनाएको थियो । अंक तालिकामा काठमान्डु गोर्खाजलाई उछिन्न विराटनगरले यो लक्ष्य १३.४ ओभरमा पूरा गरिसक्नुपर्ने थियो । विराटनगरले ११.५ ओभरमै १ सय ५० रन बनायो ।

सुदूरपश्चिम १२ अंकसहित यसअघि नै क्वालिफायर १ मा पुगिसकेको थियो । विराटनगर र काठमान्डुको समान १० अंक भए पनि सुदूरपश्चिममाथि सानदार विजय हात पारेपछि विराटनगरले नेट रनरेटमा क्वालिफायर तय गरेको हो । सुदूरपश्चिम र विराटनगरले फाइनलमा स्थान पाउन मंगलबार क्वालिफायर १ मा खेल्नेछ । काठमान्डुले बुधबार लुम्बिनी लायन्ससँग प्लेअफमा खेल्नेछ ।

विराटनगरले १० ओभरमै २ विकेट गुमाई १ सय २६ रन बनाएर आफ्नो उद्देश्य प्रस्ट पारेको थियो । विराटनगरले पहिलो ६ ओभरमा ८७ रन जोड्यो । पावर प्लेमा एनपीएलकै यो उच्च स्कोर हो । पोखरा एभेन्जर्सले गत वर्ष लुम्बिनी लायन्सविरुद्ध पहिलो ६ ओभरमा ८० रन जोडेको थियो ।

दायाँहाते ब्याटर डु प्लेसिस १९ बलमा ५० रन बनाए र त्यसको अर्को बलमा आउट भए । एनपीएलमा यो दोस्रो कम बलमा बनेको अर्धशतकको कीर्तिमान हो । गत वर्ष जनकपुर बोल्ट्सका जिम्मी निसमले चितवन राइनोजविरुद्ध १८ बलमा अर्धशतक बनाएका थिए । यसै प्रतियोतिगामा काठमान्डुका भीम सार्कीले पोखराविरुद्ध र सुदूरपश्चिमका हरमित सिंहले काठमान्डुविरुद्ध १९ बलमा अर्धशतक बनाएका थिए ।

डु प्लेसिसले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा ४ चौका र एक छक्का प्रहार गरे । उनले कुल ५ चौका र ४ छक्का प्रहार गरे । देब्रेहाते हेजलेटले २७ बल खेल्दै ५१ रन बनाए । उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

मार्टिन गप्टिल ३ छक्का प्रहार गरी ९ बलमा २२ र बसिर अहमद ८ रनमा आउट भए । प्रतिश जिसीले अविनाश बोहरालाई लगातार दुई छक्का प्रहार गरेपछि विराटनगरले १२ ओभरभित्र लक्ष्य पूरा गरेको थियो । प्रतिश ३ बलमा १३ र लोकेश बम ४ बलमा ३ रन बनाई अविजित रहे । सुदूरपश्चिमका अविनाश र हरमितले १–१ विकेट लिए ।

यसअघि आरिफ शेख र इशान पाण्डेले ७२ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४७ रन बनाएको थियो । आरिफ र इशानले ५० बलमा ठोस साझेदारी गरेपछि सुदूरपश्चिम कठिन चुनौती तेर्स्याउन सफल भएको हो । ओपनरद्वय विनोद भण्डारी १३ बल खेल्दै ३ चौकासहित १५ र जस ब्राउन २५ बलमा १ चौका र २ छक्कासहित २४ रन बनाई आउट भएपछि आरिफ र इशानले तेस्रो विकेटमा महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

इशानले ३५ बलमा ३८ रन बनाए । उनले २–२ चौका र छक्का प्रहार गरे । आरिफ ४५ रन बनाई अविजित रहे । उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे । हरमित सिंह पहिलो बलमै आउट भएपछि आएका कप्तान दीपेन्द्रसिंहले ११ बल खेल्दै २ छक्कासहित १९ रन बनाए ।

दीपक बोहरा ३ बलमा ३ रन बनाई आउट भए । विराटनगरबाट सन्दीपले ३ विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चे । अन्तिम ओभरमात्र बलिङ गराएका प्रतिश जिसीले ४ रन खर्चेर २ विकेट लिए । बसिर अहमदको नाममा १ विकेट रह्यो ।

शतकीय साझेदारीमा पोखरालाई सफलता

एडम रोसिङ्टन र अर्जुन कुमालले शतकीय साझेदारी गरेपछि पोखरा एभेन्जर्सले शनिबार दोस्रो निरस खेलमा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ ।

टस जितेपछि ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो । रोसिङ्टन र अर्जुनको प्रयासमा पोखराले २ बलअघि लक्ष्य पूरा गरेर पाँचौं स्थान पक्का गरेको हो । प्रतियोगितामा सर्वाधिक ३ सय २३ रन बनाइसकेका रोसिङ्टन ६५ रनमा आउट भए । ४८ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरेका उनी १५ औं ओभरमा आउट भए । कप्तान कुशल भुर्तेल १० बल खेल्दै ४ रनमा आउट भए ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेका अर्जुन ५३ बलमा ४३ रन बनाई अविजित रहे । उनले २ चौका र १ छक्का प्रहार गरे । जेसन रोय ८ बलमा ६ रन बनाई अविजित रहे । चितवनका सैफ जैब र रिजन ढकालले १–१ विकेट लिएका थिए । यी दुवै टोली यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेका थिए । पोखराले ७ खेलमा तेस्रो विजय हात पार्दै प्रतियोगिता अन्त्य गरेको हो । बलियो टोलीमा देखिएको चितवनले पाँचौं पराजय भोगेको छ । गत सिजन चौथो भएको चितवन आइतबार लिग चरणको अन्तिम खेलपछि सातौं हुने भएको छ ।

यसअघि ७ रन बनाउँदा ३ विकेट गुमाइसकेपछि चितवन पूरा इनिङ्स दबिएर खेलेको थियो । अर्जुन साउद र रवि बोपारा १–१ तथा डेविड मलान ५ रनमै आउट भए । जैबले १८ बल खेल्दै १ छक्कासहित १७ रन बनाए । देव खनालले सर्वाधिक ३५ रन बनाए । उनले ४१ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे । कप्तान कुशल मल्लले २३ बलमा २३ रन बनाए ।

उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । युगान्डाका खेलाडी अल्पेस रामजानीले २२ बलमा ३३ रन बनाएपछि मात्र चितवनले १ सय रन पार गरेको थियो । पहिलो खेल खेलिरहेका उनले २२ बलमा १ चौका र २ छक्का प्रहार गरे । कमलसिंह ऐरी ३ बलमा २ रन बनाई अविजित रहे । आफ्नै बलिङका क्रममा घाइते भएका धनन्जय लक्षणले आफ्नो बलिङ कोटा पूरा गर्न सकेनन् । उनले ३.२ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । विपिन खत्री, किरण ठगुन्ना र प्रतियोगितामा पहिलो खेल खेलिरहेका रोहित चन्दनले १–१ विकेट लिए ।

स्पष्ट मानसिकतामा खेल्यौं : फाफ डु

सुदूरपश्चिमविरुद्धको खेलमा हामी स्पष्ट मानसिकतासहित आएका थियौं, हारे पनि हामीले प्लेअफ खेल्ने निश्चित थियो । टस जितेपछि चाहिएको हिसाबमा रन पछ्याउने रणनीति भयो । १ सय ४८ रनको लक्ष्यलाई योजना बनाएर उत्रिएका थियौं । सुरुको १० ओभरको एउटा योजना थियो, त्यसपछि अर्को ।

मैले लामो समय क्रिकेट खेले पनि यस्तो स्थितिमा द्विविधा हुनसक्छ । त्यसैले हामीले स्पष्ट बनाउनुपरेको हो । हामी सुरुदेखि नै चाँडो खेल सक्ने उद्देश्यले खेलेका थियौं । सोहीअनुरुप दाहिने हाते र देव्रेहाते ब्याटर मिलाएर ओपनिङमा उतारेका हौं, त्यो पनि काम लाग्यो ।

यहाँ दर्शक उत्कृष्ट छन् । संगीतले पनि दर्शकलाई राम्रै तानेको देखियो । नेपाल जस्तो सुन्दर देशमा आएर खेल्न पाउनु मेरा लागि भाग्य हो । हामीले पहिले ब्याटिङ गरेको भए ठूलो लक्ष्य तयार पार्ने योजना थियो । तर यस्तो स्थितिमा दोस्रो इनिङ्समा ब्याटिङ गर्न सजिलो हुन्छ । सुदूरपश्चिम जस्तो टोलीसँग जित निकाल्नुले हाम्रो टिम पनि राम्रो छ भन्ने प्रस्ट पारेको छ ।

कुनै पनि देशका लागि यस्तो लिग अत्यावश्यक हुन्छ । विदेशी खेलाडीसँग खेल्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । यसले घरेलु खेलाडीको अनुभव बढाउँछ । म आफैं पनि नेपाली खेलाडीबाट प्रभावित छु । नेपाली खेलाडी फिल्डिङमा निकै फास्ट छन् । नेपाली खेलाडीको उचाइ केही सानो भए पनि ठूलो छक्का प्रहार गर्छन् ।