April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेताहरु जुंगाको लडाइमा, कार्यकर्तालाई खेतीपाती र चाडपर्वको पिरलो

नेपाली कांग्रेस डोटीवृत्तमा यतिबेला चुनावी चहलपहलको माहोल छ । अक्सर आमचुनावमा नतात्ने नेताहरूलाई समेत यतिबेला चुनावी सरगर्मीले छोएको छ । वर्षौसम्म कार्यकर्तासँग टाढा रहने, चिनजान समेत गर्न झर्को मान्ने नेताहरू अहिले कार्यकर्ताकहाँ पुगेर हितैषी भाव दर्शाउन तल्लीन छन् ।

निर्वाचनबाहेक वर्षौसम्म जिल्लामा मुहार नदेखाउने, गाउँमा पस्न हिच्किचाउने, पैत्रिक भूमिमा घर–गाँजरो समेत बाँकी नराखेका नेताहरू काठमाडौं र धनगढीदेखि महंगा गाडी र स्रोतसाधन लिएर गाउँघर पसेर सोझासिधा कार्यकर्तामा भुलभुलैया सिर्जना गर्न व्यस्त छन् ।

नेताहरू यसरी कार्यकर्तामाझ पुगेर आफ्नो बढाइचढाइ गर्दै कार्यकर्तामा कृत्रिम अपनत्वको भाव जगाउने ध्याउन्नमा लाग्नुको एउटै उद्देश्य हो–कांग्रेसको महासमिति सदस्य निर्वाचन । नेपाली कांग्रेस केन्द्रीय समितिले आगामी मंसिरमा महासमिति बैठक (नीति महाधिवेशन) को आह्वान गरेको छ । जसमा देशभरका प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/जिल्ला अधिवेशनबाट निर्वाचित महासमिति सदस्यहरू पार्षदका रूपमा सहभागि हुने व्यवस्था छ ।

डोटी कांग्रेसभित्र १३ औँ महाधिवेशनताकासम्म सर्वसम्मत महासमिति सदस्य चयन गर्ने परिपाटी थियो । जुन झण्डै दुईवर्षअघि सम्पन्न १४ औँ महाधिवेशनमा भंग भएको छ । निर्वाचित महाधिवेशन प्रतिनिधिबिच सहमति नजुटेपछि महासमिति सदस्य चुनिन सकेनन् । कांग्रेस विधानमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि नै महासमिति सदस्य निर्वाचनका मतदाता रहने व्यवस्था छ । तर सहमति जुटाउने नाममा जिल्ला अधिवेशन हुँदा महासमिति सदस्यका लागि निर्वाचन भएको थिएन ।

यता तत्कालै निर्वाचन नगरेर पूर्वपरिपाटीअनुसार जिल्ला कार्यसमितिले सर्वसम्मत चयनका लागि प्रयास गरिरहेको थियो । जिल्ला सभापति नरेन्द्रबहादुर सिँह महासमिति सदस्य चयनका लागि चारपटक सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरूलाई पार्टी कार्यालयमा बोलाएर औपचारिक सहमतिका लागि छलफल समेत गरेको बताउँछन् । तर सर्वसम्मतका लागि कोहीपनि सहमत भएनन् । चौथो बैठकले भने सबै महाधिवेशन प्रतिनिधिहरूले सभापति सिँहको अध्यक्षतामा बसेको बैठकले जिल्ला कार्यसमितिलाई नै महासमिति सदस्य चयन गर्ने जिम्मेवारी दिएको थियो । जिल्ला कार्यसमितिको निर्णय सबै महाधिवेशन प्रतिनिधिले मान्ने भनेर लिखित रूपमै प्रतिबद्धता जनाएका थिए ।

‘त्यसपछि हामीले जिल्ला कार्यसमितिमा छलफल चलायौँ । हामी छलफल सुरु नगर्दै महाधिवेशन प्रतिनिधिहरू एकपछि अर्कोगरी आफूलाई चयन नगरे ठिन नहुने भन्दै दबाब दिनथाले,’ सभापति सिँहले भने, ‘सबैजसो महाधिवेशन प्रतिनिधि आफ्नो लिखित प्रतिबद्धताविपरित दबाब दिनथालेपछि कार्यसमितिका साथिहरूले पनि जोखिम नलिने भन्ने निष्कर्ष निकालेपछि चुनावमै जानुपरेको हो ।’

कतिपय महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिको नेतृत्वले सबै महाधिवेशन प्रतिनिधिबाट हस्ताक्षरसहितको प्रतिबद्धता लिइसक्दा पनि निर्णय गर्न नसक्नु लाचारी एवं कमजोरी रहेको बताउँछन् । ‘जिल्ला कार्यसमितिकै लाचारी र अकर्मण्यताका कारण अहिले आएर निर्वाचनमा जानु परेको छ । यसले सबैलाई अनावश्यक दुःख र व्ययभार थोपरेको छ,’ एक महाधिवेशन प्रतिनिधिले भने ।

कांग्रेसको विधानअनुसार महासमिति सदस्यको उम्मेदवारीको योग्यता महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको हुनुपर्छ । प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र भएकाले डोटीमा १४ औँ महाधिवेशनबाट २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । जसमध्ये ११ जना महासमिति सदस्यमा चुनिने छन् । ११ जनामा ५ जना खुल्लाबाट, २ जना खुुल्ला महिला, २ जना खसआर्य पुरुष, १ जना खसआर्य महिला र एकजना दलित निर्वाचित हुनेछन् । यसका लागि बुधबार मनोनयन दर्ता भइसकेको छ । जसमा अल्पसंख्यकमा महाधिवेशन प्रतिनिधि निर्वाचत रामचन्द्र राणाबाहेकका सबै महाधिवेशन प्रतिनिधिहरूले आ–आफू निर्वाचित क्लस्टरमा मनोनयन दर्ता गराएका छन् । दलित महिला क्लस्टरबाट महाधिवेशन प्रतिनिधि जितेकी संविधानसभा सदस्य कल्पना सोबले दलित तर्फको क्लस्टरमा उम्मेदवारी दर्ता गराएकी छन् ।

गुटको आडमा व्यक्तिगत स्वार्थ

१४ औँ महाधिवेशनको २ वर्षपछि महासमिति सदस्य निर्वाचन गर्नुपर्ने स्थिती सिर्जना हुनुमा धेरैले गुटबिच प्रतिष्ठाको लडाइलाई कारक मानेका छन् । स्थापन पक्षको बलियो जिल्ला मानिएपनि १४ औँ महाधिवेशनमा इतर पक्षले पनि ८ जना महाधिवेशन प्रतिनिधि जितेको थियो । यस्तै केही संस्थापन पक्षबाट जितेका नेतापनि इतर पक्षमा झुकाव राख्दै आएका छन् ।

यसरी हौसिएको इतर पक्ष सर्वसम्मतको प्रयास गर्दा दुई पक्षबिचको भागबण्डामा आफूलाई कम पर्ने देखिएपछि सहमत भएन । यस्तै पूर्वमन्त्री वीरबहादुर बलायर कैलाली–५ झरेपछि अहिले संस्थापन पक्ष डोटीमा झण्डै नेतृत्वबिहीनताको अवस्थामा छ । यस्तोमा तितरबितर भएका कार्यकर्ता आफ्नो पक्षमा मतदान गर्नसक्ने इतर पक्षको बुझाइ छ । उता महासमिति सदस्यका लागि निर्वाचनसम्मुख पुग्नुको यो एउटा मात्रै कारण भएको एकजना नेता बताउँछन् । अर्को कारण गुटभित्रै पनि महाधिवेशन प्रतिनिधिहरूले एकअर्काको अस्तित्व स्वीकार नगर्नु मुख्य कारण हो ।

‘सर्वसम्मत हुँदा गुटभित्र पनि एकले अर्कोलाई छाड्नुपर्छ । यहाँ त अहिले न संस्थापन न इतर कसैले पनि एकअर्कालाई छाड्ने स्थिती देखिएन,’ ती नेताले भने, ‘व्यक्तिगत स्वार्थ र लालच हाबी भएर अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा निर्वाचनसम्मुख पुगेको छ ।’

जानकारहरूका अनुसार भागबण्डा भए महासमितिका ११ सीटमा संस्थापन पक्ष धेरै लचिलो भए संस्थापन ६ र इतरल ५ सीट भागबण्डा हुनसक्थ्यो । यसैमा पनि दुबै समूहका महत्वाकांक्षी नेताहरूको व्यवस्थापन कठिन हुने देखियो । खुल्लातर्फका ५ सीटमा इतर पक्षले २ सीट पाउनसक्थ्यो । जसमा पूर्व जिल्ला सभापति यज्ञराज पाठक, पूर्व सांसद भरतबहादुर खड्का, पूर्वमहासमिति सदस्य दिलबहादुर बम र पदमराज जोशीबिच नै मिल्ने स्थिती देखिएन ।

उता संस्थापन पक्षमा पूर्व जिल्ला उपसभापति रामप्रसाद उपाध्याय, पूर्व महासमिति सदस्य लोकेन्द्रबहादुर शाही, शिखर नगरपालिकाका पूर्वमेयर सीताराम जोशी, महाधिवेशनमा सर्वाधित मत पाएका जितबहादुर खड्का, युवा नेताहरू पुष्पकुमार शाही र हर्कबहादुर देउवालाई मिलाउनै समस्या भयो ।

यस्तै महिलातर्फ पनि त्यस्तै पेचिलो छ । जसमा भागबण्डा भए इतर समूहकी पार्वती चन्दलाई सहज देखिएपनि संस्थापनमा धौलीदेवी रावल, मायादेवी कुँवर र प्रसिस महरालाई मिलाउन निकै कठिन देखियो ।

खसआर्य पुरुषतर्फ पूर्वमन्त्री भक्तबबहादुर बलायर र जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण सिँहलाई पूर्व विद्यार्थी नेताहरू बिजयराज ओझा र सोपानसिँह बोहरा छाड्न तयार देखिएनन्, भने महिलातर्फ संस्थापन पक्षमै प्रतिमा शाही र पूर्व महासमिति सदस्य मिनादेवी विष्ट र इतर समूहकी हरिमाया भट्टबिचमा सहमति जुट्नसक्ने स्थिती देखिएन ।

दलिततर्फ पनि पुराना नेता कुमारसिँह टेलरलाई इतर समूहबाट संविधानसभा सदस्य कल्पना सोब चुनौती बन्दा सहमति नजुटेपछि दलित संघका जिल्ला अध्यक्ष समेत रहेका लालबहादुर बिक तेस्रो प्रतिस्पर्धीका रूपमा मैदानमा उत्रिएका छन् ।

मतदाता कामकाजमै व्यस्त

मंसिरको महासमिति बैठकमा जिल्लाको सहभागिता सुनिश्चित गर्न हतार हतार महासमिति सदस्य निर्वाचन तोक्दा नेताहरूबिच जुंगाको लडाइ चलिरहेको छ । कार्यकर्तावृत्तमा भने रत्तिभर उत्साह छैन । कार्यकर्ताहरू एकातिर बर्खेबाली समेट्ने चटारोमा रहँदा अर्कातिर पितृपक्षमा व्यस्त छन् । नजिकिदै गरेका दसैँ, तिहारको चिन्ता पनि उस्तै छ । यस्तोमा केहीदिनअघि जोरायल गाउँपालिका–३ का वडाध्यक्ष नविन ओझा चिन्ता अलग छ । ‘खै मेरो त वडाका १५ जना क्षेत्रीय प्रतिनिधिमध्ये ३ जना भारत छन्, २ जना एमालेमा गइसके,’ उनको चिन्ता छ,‘बाँकी १० जनामध्ये ५ जनाको घरमा श्राध्य छ रे ?’

यस्तोमा धेरै कममात्रै मतदाता निर्वाचनमा सहभागि हुनसक्ने आँकलन जिल्ला कार्यसमितिको छ । ‘धेरै प्रयास गर्दा पनि सहमति जुटेन । मंसिरको महासमिति बैठकमा जिल्लाको सहभागिता कायम गराउन पनि अहिले निर्वाचन गर्नैपर्ने भयो,’ जिल्ला उपसभापति नारायण जोशी भन्छन्, ‘यस्तोमा खेतीपाती, चाडपर्व लगायतका महत्वपूर्ण कामले मतदाता नै कम उपस्थित हुन्छन् कि भन्ने चिन्ता छ ।’ डोटीको महासमिति सदस्य निर्वाचनमा करिब ११ सय मतदाता छन् । राजपुर स्थित सेती सभाहलमा निर्वाचन हुने तय गरिएको छ ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय रहेका बम प्रेस स्वतन्त्रता, पत्रकार हकहित, सूचनाको हक अभियान, सुशासन प्रबद्र्धन र लोकतन्त्रका पक्षमा निरन्तर सक्रिय अभियान्ता हुन् । उनी रैबार मिडिया प्रा.ली.का अध्यक्ष तथा प्रवन्ध निर्देशक पनि हुन् ।