नगर कार्यालयमै फोहोर फाल्ने मेयर भएको पाँचवर्षमा पनि भएन फोहोरको ‘दीगो व्यवस्थापन’

दिपायल: ७ बर्षअघि २०७२ चैत २ गते सिलगढीका महिलाहरुको ठुलो हुल दिपायल सिलगढी नगरपालिकाको कार्यालय भित्र पस्यो । उनीहरुको पिठ्यूमा डोकैडोका थिए भने, ती डोकाभरी फोहोरै–फोहोर !
त्यो हुल नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत राजबहादुर शाहीको कार्यकक्ष प्रवेश गर्यो । ‘ढ्याम्म’ एकडोको फोहोर उनको टेबलमा खन्यायो । त्यसपछि धमाधम उनको कार्यकक्षभरी बाँकी डोकाहरु खन्याउदै फोहोर छर्नथाल्यो ।

तत्कालीन कार्यकारी अधिकृत राजबहादुुर शाही (शरीरमा परेको फोहोर टक्टक्याउदैँ) र उनको टेबलमा फालिएको फोहोर । तस्बिरः भूमिराज जोशी ।
फोहोरको डोको बोकेर नगरपालिकाको कार्यालय प्रवेश गर्दै गरेकी एक वृद्ध महिला । तस्बिरः भूमिराज जोशी ।
नगरपालिकाको कार्यालय यत्रतत्र फालिएको फोहोर । तस्बिरः भूमिराज जोशी ।


त्यत्तिले पुगेन् । त्यो हुलले कार्यकारी अधिकृत शाहीको कार्यकक्षमात्र नभई लेखा शाखा, प्रशासन शाखा, कार्यक्रम अधिकृतको कार्यकक्ष र सभाहलमा समेत फोहोरको डंगुर खन्यायो ।
८० जनाभन्दा बढीको संख्यामा आएका महिलाहरुको त्यो भीडको अगुवाई गरेकी थिईन, तत्कालीन सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय कोषाध्यक्ष-मञ्जु मलासीले !

फोहोर फाल्ने कामको नेतृत्व गरेकी हालकी मेयर मञ्जु मलासी ।

बजारको फोहोर व्यवस्थापन नगरेको, आफ्नो सामुदायिक वन क्षेत्रमा फालेर दुर्गन्धित बनाएको र ल्याण्डफिल्ड साईट निर्माणमा नगरपालिकाले तदारुकता नदेखाएको भन्दै विरोधस्वरुप मलासी नेतृत्वको टोलीले नगरपालिकाको कार्यालयमा फोहोर फालेका थिए ।
त्यो घटनाको दुईवर्ष नपुग्दै २०७४ मा स्थानीय तह निर्वाचन भयो । त्यो निर्वाचनमा सरसफाईको जवरजस्त अजेण्डा उठाएर ‘अनौठो’ प्रदर्शनको नेतृत्व गरेकी मलासी संयोगले नगरप्रमुख निर्वाचित हुन पुगिन् ।
सरसफाईको अजेण्डामा त्यत्रो ‘स्टण्ट’ गरेकी मलासीबाट सफासुग्घर नगरको अपेक्षा स्वाभाविक थियो । नगरबासीले उनीबाट अरु केही काम नभएपनि सरसफाईका क्षेत्रमा ‘क्रान्तिकारी’ छलाङ प्राप्त हुने अपेक्षा राखेका थिए ।
‘अरु केही नभएनी दुर्गन्धित फोहोर व्यवस्थापनका लागि त्यत्रो क्रान्ति गरेको व्यक्ती नगरप्रमुख भएपछि नगर सरसफाईका क्षेत्रमा क्रान्तिकारी सुधार आउने अपेक्षा राखेका थियौ,’ दिपायलका व्यवसायी एबं होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीपकबहादुर खड्का भन्छन्,‘जुन स्वाभाविक थियो । उहाँको यसमा पहिलो प्राथमिकता हुन्छ भन्ने बुझेका थियौ ।’
उनी निर्वाचित भएर आएको पनि पाँचवर्ष पुग्नलाग्यो । तर जनअपेक्षाअनुसार फोहोरमैला व्यवस्थापनमा सिन्को भाँच्ने काम नभएकोे गुनासो सुनिन थालेको छ ।
पीपल्ला, राजपुर, दिपायल, सिलगढी लगायतका बजारमा फोहोरका ठुल्ठुला डंगुरहरु सरेआम देख्न पाईन्छ । गर्मी मौसमका दिनहरुमा पुरै बजार दुर्गन्धित हुन्छन् । नाक छोपेर हिडिरहेका मानिस भेटिन्छन् । ‘उहाँले नै हिजो ल्याण्डफिल्ड साईटको माग गर्नुभएको थियो,’ दिपायलका युवा रोशन कठायत भन्छन्,‘त्यो निर्माणको कुरा त कहाँ हो कहाँ, बजारमा सामान्य फोहोर फाल्ने कन्टेनरसम्म राख्नु भएको छैन् ।’
नगरबासीहरुका अनुसार फोहोर उठाउने ट्याक्टरसमेत नियमित आउदैन् । ‘दिनहुँ त कल्पनै नगरौँ, चार–पाँच दिनमा एक पटक आउछ,’ दिपायलका व्यवसायी खड्क बिक्रम शाही भन्छन्,‘कुनैकुनै बेला हप्तौँ लाग्छ ।’

प्राथमिकतामा नपरेको आरोप
नगरक्षेत्रमा फोहोरमैला व्यवस्थापनको पहिलो पूर्वाधार हो–ल्याण्डफिल्ड साईट ! तर, ल्याण्डफिल्ड साईट निर्माण र सञ्चालनमा नगरप्रमुख मलासीले कहिल्यै चासो नदेखाएको उनकै नगरकार्यपालिकाका सदस्य आरोप लगाउछन् । ‘दिपायल क्षेत्र र सिलगढी क्षेत्रको फोहोर मैला व्यवस्थापनका लागि दुबै ठाउँमा ल्याण्डफिल्ड सञ्चालनका लागि हामीले पटक–पटक मुद्दा उठायौँ,’ दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष विरेन्द्र शाह भन्छन्,‘तर, उहाँले कहिल्यै सुन्नुभएन् । बहुमतका आडमा यि अजेण्डा दबाईराख्नुभयो ।’
उसो त ल्याण्डफिल्ड साईट सञ्चालनको बिषय स्थानीय तह निर्वाचनपछि मात्र आएको विषय होइन । यसबारे नगरपालिकाले यसअघि नै विभिन्न प्रयासहरु गरिसकेको छ ।
नगरपालिकाले सिलगढीको फोहोर व्यवस्थावनका लागि ल्याण्डफिल्ड साइट निर्माण गर्न २०६७ सालमा मेयर मलासीको घरनजिकै जमिन किनेको थियो । साविकको वडा नम्बर १ मा १ चार रोपनी ५ आना दुई पैसा ३ दाम जमिन ८ लाख ६४ हजारमा खरिद भएको नगरपालिकास्रोत बताउँछ ।
तर त्यो जमिनमो ल्याण्डफिल्ड साइड निर्माण गर्न स्थानीयले अवरोध गरेको नगरपालिकास्रोतले बतायो । यहाँ निर्माण गर्न मेयर निर्वाचित भएर आएपछि मलासीले नै बेवास्ता गरिन् । स्वयम् मलासी नै आफ्नो घर नजिक भएकाले त्यहाँ ल्याण्डफिल्ड निर्माण गर्न नदिनेमा रहेको स्रोतले बतायो ।
यद्यपी पछिल्लो समय धेरै दवाव परेपछि नगरप्रमुख मलासीले प्रदेश सरकारसँग समपुरक अनुदान माग गरेर त्यहाँ सानो ल्याण्डफिण्ड साइट निर्माण गराएकी छन् । तर, त्यसलाई पूर्ण रूपमा सञ्चालन भने गरिएको छैन्् । सिलगढी बजारकै सबै फोहोर त्यहाँ फालिदैन् ।
त्यसपछि अर्को ठाउँमा ल्याण्डफिल्ड साइट निर्माणका लागि स्थानीय तह निर्वाचनअघि नै नगरपालिकाले पहल गरेको थियो । जसका लागि हालको वडा नम्बर à¥