April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा वर्षासँगै आएको बाढीपहिरोमा परी १३ जनाको मृत्यु, बेमौसी झरी हुनुको कारण के हो ?

धनगढी, कार्तिक २ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा वर्षासँगै आएको बाढीपहिरोमा परी १३ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा २४ घण्टा नबित्दै बिभिन्न जिल्लाका फरक-फरक घटनामा १३ जनाको बाढीपहिरोका कारण ज्यान गएको हो ।

पछिल्लो दुई दिनदेखि देशभर पानी परेको छ । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ अधिकृत(एसएसपी) बिक्रम चन्दका अनुसार पहिरोमा परेर सबैभन्दा बढी डोटीमा आठ जनाको ज्यान गएको छ ।  बैतडीमा तीन र डडेल्धुरामा दुई जनाको ज्यान गएको छ । डोटीमा ज्यान गुमाउनेमा एकै परिवारका चार जना छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका – ४ का  ४२ वर्षीय शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक र १६ वर्षीय रविन विकको मृत्यु भएको हो । उनीहरुको पहिरोमा च्यापिएर मृत्यु भएको हो ।

यस्तै डोटीकै सायल गाउँपालिका –६ खातिवाडाको घरमा सुतिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोमा परेर स्थानीय दिलबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुन्जेडा र ११ वर्षीय छोरा आशिस कुन्जेडाको मृत्यु भएको छ ।

डोटीकै शिखर नगरपालिका–११ कि ३५ वर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको छ । यस्तै गरेर पहिरोमा परेर जोरायल गाउँपालिका–३ का ६३ वर्षीय जोगी सार्कीको मृत्यु भएको छ ।

डडेल्धुराको गन्यापधुरा गाँउपालिका– १ भात्काडामा सन्ध्या फेन्सी स्टोर पसल गरेर बस्ने ३२ वर्षीय विष्णुप्रसाद अवस्थीको घरमाथिबाट पहिरो खस्दा उनको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए ।

सोमबार राति १२ः३० बजे तिर घरमाथिबाट खसेको पहिरोमा च्यापएिर मृत्यु भएको मृतकका आफन्तले भोजराज जोशीले बताए । घरपछाडि रहेको भान्साबाट पानी सहितको लेदो भित्र पस्नथालेपछि पन्छाउने क्रममा टिनको छानामाथिबाट पहिरो खसेको थियो ।

मृतकका श्रीमती र छोराछोरीको भने स्थानीयले उद्धार गरेको जनाइएको छ । डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ । घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै गरेर बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदका अनुसार वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की , २४ वर्षीय भानु पार्की र तीन वर्षीय सोम पार्की छन् ।

बझाङमा चार परिवार सम्पर्कविहीन

बझाङमा तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको पहिरोका कारण चार घरपरिवार सम्पर्कविहीन भएको छ । थलारा गाउँपालिका-४ को डिख्लामा मंगलबार बिहान पहिरो जाँदा चार परिवारका सदस्य सम्पर्कविहीन भएको स्थानीय शिक्षक मदन साउदले बताए ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, बझाङले भने घटनाबारे पुष्टि गरेको छैन । गाउँपालिकाका प्रशासकीय अधिकृत पदमबहादुर ओलीले भने, ‘गाउँमा अहिले टेलिफोन सम्पर्कविच्छेद भएको छ, एनसेलमा मात्रै बेलाबेला सम्पर्क हुन्छ ।’

बझाङ सदरमुकाममा रहेका सञ्चारकर्मी मकरराज धामीका अनुसार वर्षाका कारण पहिरो गएको भनिएको क्षेत्रमा जान सम्भव छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी पुरुषोत्तम कँडेलले पनि घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताए ।

महाकालीमा फसेका ५ जनाको उद्धार

कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको मंगलबार साँझ हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको जाकारी दिए । उनका अनुसार नदीमा फसेका मसेट्टीका ४५ वर्षीया दीर्घमती खड्का, ३५ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, ९ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक बाढीबाट बच्न रुखमा चढेर बसेका थिए ।

कैलालीको ठूलीगाडमा आएको बाढीमा दम्पती फसेका छन् । डोटी र कैलालीको सिमाना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका-४ को खिमडीमा दम्पती फसेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेको जानकारी दिए । उनीहरुको उद्दारका लागि हेलिकप्टर धनगढी पुगेपनि प्रतिकुल मौसमका कारण सम्भव भएन ।

यस्तै टीकापुरमा कर्णाली नदी गाउँ पसेको छ । टीकापुर नगरपालिका-५ को साइपुरमा नदी टतीय क्षेत्रमा पसेको बताउँदै प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

चार राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण गण्डकी र सुदूरपश्चिम प्रदेशका चार वटा राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्ऽले सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेशको बेनी-मुस्ताङ राजमार्ग अवरुद्ध भएको छ ।

म्याग्दीको बेनी गाउँपालिका-४ घुमाउनीभिरमा वर्षाका कारण सडक हिलाम्य हुँदा मंगलबारदेखि राजमार्ग अवरुद्ध भएको केन्ऽले जनाएको छ । यस्तै सुदूरपश्चिमको कैलालीको चुरे गाउँपालिका-५ भासुभिरमा पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा पहिरो खसेका कारण सोमबारदेखि उक्त राजमार्ग अवरुद्ध भएको हो ।

यस्तै डोटीको जोरायल गाउँपालिका-१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग सोमबारदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यस्तै अछामको चौपाटी गाउँपालिका-६ दुनीभावरमा खसेको पहिरोले चौखुटे अछाम बाजुरा सडक खण्ड सोमबारदेखि अवरुद्ध भएको छ ।

बाढीका कारण बझाङको केदारस्यूँ गाउँपालिका-१ नाडीगौडास्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

उद्धार र रातहमा खटिने गृहमन्त्रीको निर्देशन

गृह मन्त्रालयले तीन दिनदेखि परेको अविरल वर्षाका कारण १९ जिल्ला प्रभावित बनेको बताएको छ । वर्षाका कारण कालीकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत लगायतका १९ जिल्ला प्रभावित बनेको मन्त्रालयले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय तह लगायतको सहयोगमा करिब ५ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय जिल्लाहरुमा सञ्चार सम्पर्क, विद्युत सेवा, सडक अवरोध भएका कारण उद्दारमा कठिनाइ भएको मन्त्रालयले बताएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्रभावित नागरिकको उद्धारका लागि सबै सुरक्षा निकायहरुलाई संयुक्त प्रयास जारी राख्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको बैठकले राहत तथा उद्धारका लागि अन्य आवश्यक सामग्रीहरु समयमै उपलब्ध गराउन सकिने गरी व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

बेमौसी झरी हुनुको कारण के हो ?

देशको अधिकांश भूभागमा मंगलबार सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश १ को केही स्थानमा भने भारी वर्ष भएको महाशाखाले जनाएको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्युन चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा बेमौसमी झरी भएको हो ।

यही प्रभावका कारण मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा केही स्थानहरुमा हलकादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानहरु, बागमती प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको उनले बताइन् । उनका अनुसार प्रदेश १ तथा गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबारदेखि क्रमिक सुधार हुने

मौसम विद् सजिना शाक्यका अनुसार सेप्टेम्बर र अक्टोबर सुख्खा हुने सिजन हो । तर यसअघिका वर्षमा पनि यस्तो खालको वर्षा हुने गरेको उनी बताउँछन् ।

शाक्यले भनिन्, ‘सन् २००९ अक्टोबर ९ तारिखका दिन दिपायलमा २५०.४५ मिलिलिटर वर्षा भएको थियो । तर अहिले धनगढीमा २११ मिलिलिटर वर्षा मापन भएको छ । बुधबारसम्म वर्षा हुने सम्भावना छ । बिहीबारदेखि भने मौसममा क्रमिक सुधार हुँदै जानेछ ।’