विमान दुर्घटनाको नालीबेली : ७० दुर्घटना, ९ सय ६४ जनाको मृत्यु

काठमाडौं । नेपालमा हवाई उडानको इतिहास धेरै लामो छैन । आजभन्दा ७५ वर्ष अगाडि काठमाडौंमा पहिलो पटक विमान अवतरण भएको पाइन्छ । विसं २००६ वैशाख ११, अर्थात सन् १९४९ को अप्रिल २३ मा काठमाडौंको गौचरणस्थित घाँसे मैदानमा पहिलोपटक जहाज अवतरण भएको थियो ।

विमान चारसिटे ‘बोनान्जा बिच एयर क्राफ्ट’लाई भारतीय पाइलट दलिपसिंह मजेठियाले नेपाली भूमिमा अवतरण गराएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोही विमानलाई नेपालमा भएको पहिलो उडान मान्ने गरेको छ ।

पाइलट मजेठिया नेपालका लागि तत्कालीन भारतीय राजदूत सरदार सुरजितसिंह मजेठियाका भतिजा थिए । तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबराको अनुरोधमा उक्त विमान काठमाडौंमा अवतरण भएको थियो ।

त्यसयता नेपाली भूमिमा हवाईमार्गको सञ्जाल बढ्दै गएको छ । तर, करिब ७ दशकको यस अवधिमा स्वदेशी तथा विदेशी कम्पनीका ७० वटा विमानहरु विभिन्न समयमा दुर्घटनामा परेका छन् ।

नेपाली भूमिमा भएको पहिलो विमान दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो भने पछिल्लो विमान दुर्घटना (साउन ९) मा १८ जनाले ज्यान गुमाएका छन् ।

पहिलो विमान दुर्घटना
काठमाडौंमा पहिलो विमान अवतरण भएको ६ वर्षपछि नेपाली भूमिमा पहिलो पटक विमान दुर्घटना भएको थियो । नेपाली भूमिमा पहिलो दुर्घटना हुने विमान विदेशमा दर्ता भएको विमान कम्पनीको थियो ।

विसं २०१२ भदौ १४ (सन् १९५५ अगस्ट २०) मा भारतीय विमान कम्पनीको भीटी–एजेड–एक्स कलसाइन भएको कालिंगा एयरको जहाज बाराको सिमरामा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको अभिलेखमा देखिन्छ ।

नेपाली विमान दुर्घटना
नेपाली भूमिमा विदेशी विमान दुर्घटना भएको ५ वर्षपछि स्वदेशी विमान दुर्घटनामा परेको थियो । विसं २०१७ कात्तिक २० (सन् १९६० नोभेम्बर ५) मा तत्कालीन शाही नेपाली वायुसेवा निगमको नाइन–एन–एएडी कलसाइन भएको जहाज रुपन्देहीको भैरहवामा दुर्घटनामा परेको थियो ।

नागरिक उड्डयन प्राधिकरणको अभिलेखअनुसार उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । भैरहवामा दुर्घटनामा परेको नाइन–एन–एएडी कलसाइनको नेपाली राष्ट्रिय ध्वजाबाहक विमान मल्टी इन्जिन (डबल इन्जिन) वाला विमान थियो ।

नेपालमा २०३१ चैत १८ मा पहिलो पटक एकल इन्जिन (सिंगल इन्जिन) वाला विमान दुर्घटनामा परेको इतिहास छ । त्यो पनि नेपाली राष्ट्रिय ध्वजाबाहक विमान नै थियो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार तत्कालीन शाही नेपाली वायुसेवा निगमको नाइन–एन–एएजेड कलसाइन भएको सो विमान काठमाडौंको बौद्धमा दुर्घटनाग्रस्त भएको हो । उक्त दुर्घटनामा परी ५ जनाको मृत्यु भएको थियो ।

नेपाली विमान विदेशी भूमिमा दुर्घटना

नेपाली विमानको इतिहासमा राष्ट्रिय ध्वजावाहक विमान विदेशी भूमिमा पनि दुर्घटनामा परेको छ । २०२६ माघ १२ मा तत्कालीन शाही नेपाली वायुसेना निगमको जहाज भारतको नयाँदिल्लीमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको थियो ।

नेपालबाट विभिन्न मुलुकहरुमा अन्तराष्ट्रिय उडानहरु हुँदै आएका छन् । तर, अन्य मुलुकमा नेपालले विमान दुर्घटनाका दुःखदायी क्षण भोग्नुपरेको छैन ।

नेपालमा विदेशी विमान दुर्घटना
विदेशी विमान कम्पनीहरुद्वारा सञ्चालित विमानमध्ये हालसम्म १० वटा विमानहरु नेपाली भूमिमा दुर्घटनाग्रस्त भएका छन् । जसमध्ये पछिल्लो दुर्घटना हो– २०७५ वैशाख ७ (सन २०१८ अप्रिल २०) मा भएको मलेसियन विमान दुर्घटना ।

मलेसियन कम्पनी मालिन्दो (मालिन्डो) एयरको नाइन–एम–एलएनजे कलसाइन भएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा मानवीय क्षति भने भएन ।

मलेसियाको क्वालालम्पुरतर्फ उडान भर्ने क्रममा विमान चिप्लिएर रनवेबाट झण्डै ४० मिटर पर घाँसे मैदानमा पुगेको थियो । विमानमा चालक दलसहित १३९ जना थिए ।

नेपाली भूमिमा विदेशी विमान दुर्घटना हुँदा सबैभन्दा ठूलो क्षति भएको घटना भट्टेडाँडा विमान दुर्घटना हो । २०४९ असोज १२ (सन १९९२ सेप्टेम्बर २८) मा भट्टेडाँडामा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । एपी–बीसीपी कलसाइन भएको सो विमान दुर्घटनामा १६७ जनाको मृत्यु भएको थियो ।

त्यसअघि सोही वर्ष २०४९ साउन १६ (सन १९९२ जुलाई ३१) मा थाई एयरवेजको विमान पनि नेपालमै दुर्घटनामा परेको थियो । थाई एयरवेजको एचएस–टीआईडी कलसाइन भएको विमान ग्यांगफेदीमा दुर्घटनाग्रस्त हुँदा ११३ जनाको मृत्यु भएको थियो ।

७५ वर्षको इतिहास : ७० विमान दुर्घटना, ९६४ जनाको मृत्यु

नेपालमा विमानको ७५ वर्षे इतिहासमा बुधबार (साउन ९) भएको विमान गरी हालसम्म ७० वटा विमानहरु दुर्घटनामा परिसकेका छन् । जसमा नेपाली र विदेशी कम्पनीबाट सञ्चालित विमानहरु पर्छन् ।

अहिलेसम्म विभिन्न जिल्लामा भएका ७० वटा विमान दुर्घटनामा परेर ९६४ जना स्वदेशी र विदेशी नागरिकले ज्यान गुमाउनुपरेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार स्वदेशी विमान (सिंगल र डबल इन्जिनका) दुर्घटनामा ५०१ र विदेशी विमान दुर्घटनामा ३७१ जनाको मृत्यु भएको पाइन्छ ।

नेपाली राष्ट्रिय ध्वजाबाहक र निजी कम्पनीहरुले सञ्चालन गरेका डबल इन्जिनयुक्त विमानहरुमध्ये हालसम्म ५१ र सिंगल इन्जिनयुक्त विमानमध्ये ९ वटा विमानहरु दुर्घटनामा परिसकेका छन् । जसमध्ये डबल इन्जिनयुक्त विमान दुर्घटनामा ४६९ र सिंगल इन्जिनयुक्त विमान दुर्घटनामा ४७ जनाको मृत्यु भएको देखिन्छ ।

पछिल्लो विमान दुर्घटना

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधबार निजी विमान कम्पनी सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । नाइन–एन–एएमई कलसाइन भएको विमान पोखराका लागि उडान भर्ने क्रममा दुर्घटनामा परेको हो ।

उक्त विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने विमानका चालक (क्याप्टेन) मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनको उपचार भइरहेको छ ।

प्राधिकरणका अनुसार विमानमा सवार अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकारको दुर्घटनमा परी मृत्यु भएको हो ।

यस्तै नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) र को–पाइलट एस. कटुवालको पनि मृत्यु भएको छ ।

यसअघि २०७९ माघ १ (सन २०२३ जनवरी १५) मा कास्कीको पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । काठमाडौंबाट पोखराका लागि उडान भरेको नाइन–एन–एएनसी कलसाइनयुक्त विमान पोखराको सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा परी ७२ जनाको मृत्यु भएको थियो । नेपाली विमान कम्पनीले सञ्चालन गरेको डबल इन्जिनयुक्त विमान दुर्घà