कोरोनापछि बढ्दो मानव तस्करी

नयाँदिल्ली । रुसले युक्रेनमाथि आक्रमण गरेर दुई देशबीच द्वन्द्व सुरु भएको वर्ष दिन हुन लागेको छ । गत फागुनमा रुसले गरेको हमलापछि न युद्ध थामिएको छ, न त लगातार उस्तै संघर्ष छ । युद्ध प्रारम्भ हुनासाथ सबैजसो देशले आफ्ना नागरिकलाई युक्रेनबाट निकालेका थिए ।

नेपालले पनि आफ्ना नागरिकलाई फिर्ता गर्न हरसम्भव प्रयास गरेको थियो । यसबीच युक्रेनको परिस्थिति थप तनावपूर्ण बनिरहेको छ । तर, त्यही युद्धग्रस्त युक्रेनमा नेपाली युवा पुनः पठाउन थालिएको छ । युरोप पुग्ने सपना बोकेकाहरू मानव तस्करको जालोमा परेर युक्रेन पुग्दै छन् ।

काठमाडौंका जगदीश र सुनिता (परिवर्तित नाम) त्यस्तैमध्येका हुन् । ‘हामीलाई पोर्चुगल लग्ने भनेर दिल्ली बोलाइयो, दिल्लीमा युक्रेनको भिसा दिए,’ जगदीशले भने, ‘एक रात युक्रेनमा राखेर युरोप पुर्‍याउने भनेका छन् ।’ अलग–अलग ठाउँका दुवै जना एउटै दलालको चंगुलबाट दिल्ली आएका हुन् ।

दुवै जना पोर्चुगल जाने भनेर काठमाडौंबाट उडेका थिए । काठमाडौंबाट आएको दुई महिनापछि दिल्लीमा दलालले युक्रेनको भिसा थमाएपछि भने दुवै जना झसंग भए । जगदीशले बताएअनुसार अरू युवाले पनि युक्रेनको भिसा पाएका छन् । दलालले युक्रेनको बाटो युरोप छिराउन सकिने अहिले सबैभन्दा सहज रुट रहेको विश्वास दिलाएपछि आफूहरू तयार भएको उनले बताए । ‘प्रक्रिया मिलाउँदै छौं, आज उडाउने, भोलि उडाउने भन्दाभन्दै दिल्लीको पहाडगन्जस्थित होटलमा बसेको महिनौं भइसक्यो,’ उनले भने, ‘लगातार दबाब दिएपछि दिल्लीबाट हामीलाई मुम्बई पुर्‍याइयो । त्यहाँबाट बहराइन उडाउने तयारी थियो तर कर्मचारीको ड्युटी फेरिएर सेटिङ नमिलेको भन्दै हामीलाई एयरपोर्टबाटै फर्काइयो ।’

भारतबाट खाडी मुलुक पुग्न वा ती देशको ट्रान्जिट प्रयोग गर्न दिल्लीस्थित नेपाली दूतावासको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) चाहिन्छ । बहराइन पुर्‍याउनुपर्ने भएपछि ‘एनओसी’ अनिवार्य थियो । त्यस्तै केही विषयको सेटिङ नमिलेकाले दलालले त्यो दिनको उडान रद्द गराएको हुन सक्छ तर एक साता बस्दा पनि मुम्बईबाट उडाएनन् । ‘पर्खन मात्रै भनियो, न आत्तिनुस्, उडाउँछु भन्दाभन्दै फेरि दिल्ली फिर्ता पठाइदिए । यतै बस्न भनेका छन्,’ उनले भने, ‘कति पर्खिनु ? लाखौं रुपैयाँ दलाललाई बुझाइसकियो । होटलको खर्च थपिएको थपियै छ । गुनासो गर्दा जे मन लाग्छ गर्नुस् भन्दै उद्धव नामको एजेन्टले हाम्रो फोन नै ब्लक गरिदिए ।’

जगदीश र सुनिताले १०/१० लाख रुपैयाँ एजेन्टलाई बुझाएको बताएका छन् । सुरुमा ७ लाखकै कुरा थियो, पछि महँगो भएर पैसा थप्न लगाएको उनीहरूले बताए । मुम्बई, बहराइन, टर्की हुँदै मोल्दोभाको रुट बताएर पछि युक्रेनको भिसा दिएको थियो । उनीहरूलाई युक्रेनबाट हंगेरी हुँदै सेन्जन लाने बताइएको थियो ।

दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले युवालाई युक्रेन पुर्‍याएर त्यहाँबाट शरणार्थीका रूपमा युरोप पुर्‍याउने लोभ दलालहरूले देखाएको बताए । ‘रोजगारीको खोजीमा रहेका युवायुवती जस्तोसुकै रिस्क उठाउन तयार देखिएका छन् । युक्रेन पुग्नु नै जोखिम छ, फेरि त्यहाँ पुगेर बाहिरिनु कम जोखिमको कुरा होइन,’ उनले भने, ‘दलालहरूले राम्रो जीवनको सपना देखाएर युवालाई फसाएको पाइन्छ ।’

दलालको जालमा परेका जगदीश र सुनिताले घरमा आफूहरू पोर्चुगल पुगिसकेको बताएकाले दूतावासमा घटनाको लिखित जानकारी पनि दिन चाहेनन् । दूतावास परिसरमा भेटिएका उनीहरूको आग्रह थियो, ‘घरकाले हामी गन्तव्यमा पुगिसकेको बुझेका छन् । यता हाम्रो अवस्था बेहाल छ । सकभर दलालमाथि दबाब बढाएर उड्ने प्रयत्न गर्छौं । हाम्रो नाम, ठेगाना खुल्ने गरी केही पनि नलेखिदिनु होला ।’ आफूजस्तै दर्जनौं युवा युक्रेन भएर युरोप जाने आसमा दिल्लीका होटलहरूमा रहेको जगदीशले बताए ।

धनकुटाका पाँच युवाले युरोपेली देश पोल्यान्ड जान आफूहरू दिल्ली आएको तर दलालबाट ठगिएको जानकारी गत साता दूतावासलाई गराएका छन् । पाँच जनाबाट दलालले २२ लाख ५० हजार रुपैयाँ लिए पनि नपठाएको उनीहरूको आरोप छ । पोल्यान्ड प्रवेश गराउन पनि पहिला उनीहरू सबैलाई सीमा जोडिएको युक्रेन नै पुर्‍याउने दलालको तयारी थियो । तर, लामो समयसम्म नउडाएपछि उनीहरूले ठगिएको महसुस गरे । ‘मजनुका टिलाको होटलमा बसेको एक महिना नाघिसक्यो । उडाउँछु भन्छ, उडाउँदैन । मेरै लहैलहैमा लागेर अन्य चार आफन्त पनि दलालको चंगुलमा पर्नुभएको छ,’ उनले भने, ‘फेसबुकबाट लामो कुराकानी र पोल्यान्डमा राम्रो रोजगारी पाइन्छ भन्ने विश्वास दिलाएकाले पटक–पटक पैसा बुझायौं ।’

अझ डकुमेन्ट तयार भएपछि मात्रै पैसा दिनु भनेकाले विश्वास बढेको उनले बताए । ‘डुकुमेन्ट हात लागेपछि नै पैसा दिएको हो, पछि थाहा भयो, डुकुमेन्ट नै नक्कली रहेछ,’ उनले भने, ‘मेरै कारणले पैसा फसाएका आफन्तजन मसँग पैसा फिर्ता मागिरहेका छन्, अर्कोतिर मेरो आफ्नै ५ लाख फसेको छ । अब युरोप हुने भएन, सिंगापुर पठाइदिन्छु भनेको छ । विश्वास त छैन तर उपाय नै केही भएन ।’ तस्करले थोरै–थोरै रकम नेपालका विभिन्न व्यक्तिका नाममा रहेका खातामा पठाउन लगाउने र ठूलो रकम नगदै लिने गरेका छन् । प्रमाणको नाममा नेपाली खातामा पैसा बुझाएको भौचर उनीहरूसँग छ । दिल्लीमा उड्ने लोभमा पर्खिंदै गर्दा अब बिहान–बेलुका खान पनि माग्नुपर्ने स्थिति बनेको बताए ।

पूर्वी युरोपेली देश लिथुआनिया र युरोपको दक्षिणपूर्वी देश सर्बिया पठाइदिने भन्दै नक्कली भिसा लगाएर पैसा लिई दलाल सम्पर्कविहीन भएका घटना पनि देखिएका छन् । माघ ३ मा स्याङ्जाका ५ जनाले दूतावासलाई दिएको जानकारीअनुसार उनीहरूले प्रतिव्यक्ति ६ देखि ७ लाखका दरले दलाललाई बुझाएका रहेछन् ।

दूतावासका काउन्सिलर एसएसपी चतुर्वेदी युरोपियन देशहरू माल्दोभा, माल्टा, बोलिभिया, युक्रेन, हंगेरी, सर्बिया, पोल्यान्ड छिर्ने र त्यहाँबाट युरोपकै ठूला देश वा क्यानडा, अमेरिका छिर्ने लोभमा नेपालका युवायुवती दलालको फन्दामा पर्न थालेको बताउँछन् । अवैध तरिकाले विदेश पुगेको र राम्रै गरिरहेको कुनै एउटा सफल व्यक्तिलाई देखाएर दलालहरूले प्रलोभनको जालो फैलाउने गरेका छन् ।

‘ऋण लिएर, जग्गा बेचबिखन गरेर वा अभिभावकलाई दबाबमा पारेर युवाले लाखौं रुपैयाँ दलाललाई बुझाइरहेका छन्,’ उनले भने, ‘धेरै देशको दूतावास दिल्लीमा छ । वैधानिक तरिकाले जान पनि भिसाका लागि यहाँ आउनुपर्ने बाध्यता छ । त्यो स्थितिमा दलालहरूले दिल्ली बोलाउने नै भए, यहाँ आएपछि एकपछि अर्को प्रक्रिया भन्दै नेपाली युवा दलालको चंगुलमा फसेको देखिन्छ ।’ मानव तस्करीमा संलग्न दलालहरू पनि नेपाली नागरिक नै छन् तर उनीहरूको वास्तविक नाम, ठेगानासमेत पीडितसँग छैन । उनीहरूले दिएको मोबाइल नम्बर पनि पछि सम्पर्कविहीन भेटिन्छ ।

खाडीमा महिलाको तस्करी

नेपाल सरकारले महिलाहरू असुरक्षित भएको भन्दै खाडी मुलुकमा कामदारका रूपमा महिलालाई जान रोक लगाएको छ । नेपालबाट सिधा खाडी मुलुक उड्न नपाएपछि महिलाहरू भारत आएर ती देशमा पुग्ने क्रम बढेको छ । खाडी मुलुक साउदी अरेबिया, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन, बहराइन, इराक, लिबिया र लेबनानसहितका ९ वटा देशमा महिला कामदार पठाउन नेपालबाट रोक लगाइएको छ । भारतबाट ती देशमा वा ती देशका विमानस्थलमा ट्रान्जिट भएर तेस्रो देशमा जानुपर्ने हरेक नेपालीले दूतावासबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने अनिवार्य छ ।

‘एनओसी’ लिएका व्यक्तिले मात्रै खाडी मुलुकका लागि विमानस्थलको अध्यागमनबाट प्रवेश पाउँछन् । मानव तस्करहरूले खाडीमा कामदारको माग र नेपाली समाजमा व्याप्त गरिबीबीच खेल्ने मौका पाएका छन् । तस्करले विभिन्न उपायहरू अवलम्बन गरेर महिलालाई खाडी मुलुक पुर्‍याइरहेका छन् । विशेष गरी घुम्न जाने उद्देश्य देखाएर त्यस्ता ‘एनओà¤