कांग्रेस महाधिवेशनमा सुदूरपश्चिमका सभापतिसहित ६५ जनाभन्दा बढी आकांक्षी

धनगढी: नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशन शुक्रबार उद्घाटन भई शनिबार मनोनयन दर्ताको कार्यक्रम छ ।
आशन्न महाधिवेशबाट कांग्रेसको विधानअनुसार जसमा एकजना सभापति दुई÷दुई जना उपसभापति र महामन्त्री, ८ जना सहमहामन्त्री निर्वाचित गर्नेछ । सहमहामन्त्रीहरुमा खसआर्य, जनजाती, महिला, मधेशी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक÷एकजना निर्वाचित हुनेछन् ।
यस्तै केन्द्रीय सदस्यमा खुलातर्फ ३५ जना, प्रदेश भूगोलतर्फ सात प्रदेशबाट एकमहिला सहित तिनजनाका दरले २१ ज्ना, खसआर्य तर्फ ६ महिला सहित १३ जना, आदिवासी जनजातीतर्फ ७ महिलासहित १५ जना, मधेसीतर्फ ४ महिलासहित ९ जना, दलितर्फ ४ महिला सहित ९ जना, थारुतर्फ २ महिलासहित ४ जना, मुस्लीमतर्फ एक महिलासहित तिनजना, पिछडिएको क्षेत्रबाट एकजना, अल्पसख्यकतर्फ एकजना र अपाङ्गता भएकातर्फ एकजना गरि एक सय ३४ जना निर्वाचित हुनेछन् ।
यि पदहरुमध्ये उपसभापतिबाहेकका लगभग सबैजसो पदहरुमा सुदूपश्चिमका नेताहरुले आकांक्षा देखाएका छन् । केन्द्रीय सदस्य पदमा भने निकै ठुलो संख्यामा आकांक्षीहरुको भीड देखिएको छ ।
सभापतिमा देउवा
कांग्रेस सभापति एबं पाँच पटक प्रधानमन्त्री भईसकेका शेरबहादुर देउवा डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ रुवाखोलाका स्थायी बासिन्दा हुन् । उनी यसपटक पनि सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
महामन्त्रीमा एनपी साउँद र लेखक लेखक
केन्द्रीय राजनीतिमा सभापति देउवाका विश्वासपात्र रहेका केन्द्रीय सदस्यद्वय एनपी साउँद र रमेश लेखक कञ्चनपुरका स्थायी बासिन्दा हुन् । दुबैजना कञ्चनपुरबाटै संसदीय निर्वाचन लड्दै आएका छन् । केन्द्रीय राजनीतिमा देउवानिकट रहेपनि जिल्ला राजनीतिमा दुबैजना फरक समुह चलाउछन । यसपटक दुबैले केन्द्रीय समितिमा एउटै पद महामन्त्रीमा दाबी गरिरहेका छन् । यद्यपी निर्वाचन लड्न दुबैले देउवाकै ईशारा कुर्नुपर्छ ।
सहमहामन्त्रीमा तिनजना
समावेशी प्रतिनिधित्वका आधारमा यसपटक सहमहामन्त्रीको निर्वाचन हुदैछ । जसमा सुदूरपश्चिमबाट हालसम्म तिनजनाले आकांक्षा प्रस्तुत गरिरहेका छन् । बाजुराबाट प्रतिनिधीत्व गर्ने केन्द्रीय सदस्य बद्री पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा दाबी गरिरहेका छन् ।
यस्तै दार्चुलाबाट प्रतिनिधीत्व गर्ने पूर्व पार्टी प्रवक्ता समेत रहेका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुले पनि सहमहामन्त्रीमा नै आकांक्षा देखाईरहेको निकटस्थहरु बताउछन । यद्यपी उनले कुन कोटामा लड्ने भनेर मुख खोलेर उम्मेदवारी घोषणा भने गरिसकेका छैनन् । दुबैजना संस्थापन इतर(पौडेल) समुह निकट नेता हुन् ।
यस्तै उपसभापति रहेका विजयकुमार गच्छदार समुहका नेता पूर्वमन्त्री रामजनम चौधरीले थारु कोटाबाट सहमहामन्त्रीमा दाबी गरिरहेका छन् ।
केन्द्रीय सदस्यमा संस्थापनलाई भार थेग्नै नसक्नु
केन्द्रीय सदस्य पदमा सुदूरपश्चिमका झण्डै साठीजनाभन्दा बढी आकांक्षी देखिएका छन् । त्यसमा झण्डै ५० जना संस्थापन पक्षका छन् । उनीहरुको व्यवस्थापन संस्थापन पक्षलाई थेग्न नसक्नु बनेको छ ।
प्रदेशको भुगोलतर्फको दुईजना पुरुषको कोटामा संस्थापन तर्फबाट दार्चुलाका विक्रम धामी, बैतडीका केशब बहादुर चन्द र हरिमोहन भण्डारी, अछामका गोविन्द शाह र कमल बहादुर शाही, बझाङका नरेशबहादुर सिँह, पृथ्वी बहादुर सिँह र विष्णु ऐडी, डोटीका पूर्व मन्त्री भक्त बहादुर बलायर, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाही र पदमराज जोशी, डडेल्धुराका गोविन्द बोहरा र रघुवर भट्ट, कञ्चनपुरका पुष्करराज ओझा र यज्ञराज जोशी, कैलालीका डा. रणबहादुर रावलले दाबी गरिहेका छन् । यस्तै संस्थापन इतर पक्षबाट कैलालीका कमल शाह, डोटीका भरतबहादुर खड्का, अछामका बलबहादुर कुँवर र टीकाराम खनाल, कञ्चनपुरका दिवानसिँह विष्ट, बझाङका जगतप्रसाद जोशी लगायतकाले दाबी गरिरहेका छन् । यस्तै सिटौला समुहबाट बाजुराका जनकराज गिरि र बझाङका ईश्वर मल्ल पनि सोही कोटाबाट केन्द्रीय सदस्यमा दाबी गरिरहेका छन् ।
यस्तै प्रदेश भुगोल अन्तर्गतको महिला कोटामा संस्थापन तर्फका अछामकी अम्बि कुमारी थापा, बाजुराकी विद्या तिमिल्सिना, कञ्चनपुरकी रमिता शाही देउवा, कैलाली उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्ट र बझाङकी शान्ति बोहरा पुजाराले आकांक्षा देखाईरहेका छन् । यस्तै इतर पक्षबाट बझाङकी चन्द्रा जोशीले दाबी गरिरहेकी छन् ।
यस्तै खुला पुरुषतर्फको केन्द्रीय सदस्यमा सस्थापन पक्षका डडेल्धुराका नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिँह महर, कैलालीका मोहनसिँह राठौर, बैतडीका उत्तरबहादुर विष्टले दाबी गरिरहेका छन् ।
यस्तै खुला महिलामा सभापति देउवापत्नि डडेल्धुराकी डा. आरजु राणा देउवा, डोटीकी प्रसिस महरा, कञ्चनपुरकी मधु भारती र शारदा चन्द ठकुरीले दाबी गरिरेहेकी छन् ।
यस्तै खसआर्य पुरुषतर्फ संस्थापन पक्षका डोटीका युवानेता हर्कबहादुर देउवा, डडेल्धुराका जनकराज कलौनी, बझाङका चेतराज बजाल, कैलालीका विजय स्वाँरले दाबी गरिरहदा खसआर्य महिलातर्फ कैलालीकी शिवा थापाले दाबी गरेकी छन् ।
यस्तै दलित पुरुष तर्फ संस्थापन पक्षबाट डोटीका कुमारसिँह टेलर, कैलालीका प्रदेश सभा सदस्य टेकबहादुर रैका, धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, रमेश ताम्राकार र देवेन्द्र नेपाली, अछामका डम्बर बहादुर सुनार, डडेल्धुराका नरभान कामी र बाजुराका महा नेपालीले दाबी गरिरहेका छन । यस्तै संस्थापन ईतर समुहबाट सांसद समेत रहेका बझाङका प्रकाश रसाईली, अछामका कमल बिक र दार्चुलाका गोवर्धन कोलीले दाबी गरिहेका छन् ।
यस्तै दलित महिला तर्फ संस्थापन पक्षका कैलालीकी ललिता सुनार र अछामकी रुपा आउजीले दाबी गरिरहेकी छन ।
यस्तै संस्थापन पक्षबाट थारु पुरुषतर्फ कैलालीका यज्ञराज चौधरी र थारु महिलातर्फ कैलालीका टिका चौधरी, जीवन राना र कञ्चनपुरकी गिता चौधरीले दाबी गरिरहेकी छन् ।
यस्तै पिछडिएको क्षेत्रबाट संस्थापन पक्षका अछामका जिल्ला सभापति भरत कुमार स्वाँर र बझाङका अर्जुनजंगबहादुर सिँहले दाबी गरिरहेका छन् ।
जनजाती महिलामा संस्थापनकी कैलालीकी गौरी लामाले आकांक्षा प्रस्तुत गरिरहेकी छन भने अपाङ्ग तर्फ संस्थापनकै डोटी जिल्लाका रामचन्द्र राणा र कैलालीका गोपाल देउवाले आकांक्षा प्रस्तुत गरिरहेका छन् ।
झण्डै डेढ दशकदेखी सुदूरपश्चिममा बसेर पत्रकारिता गरिरहेका अरूण बम खोजमूलक पत्रकारितामा विशेष दखल राख्छन् । हाल ईरैवार डटकमका कार्यकारी सम्पादक पनि छन् ।





लेखकको सम्वन्धमा