आईसीसी विश्व क्रिकेट लिग २ : नेपालले अमेरिकासँग खेल्दै, पहिला ब्याटिङ गर्ने

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुने खेलमा नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालविरुद्ध अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । जारी शृंखलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ ।
पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।
नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ । अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ र लिग २ मा दबदबा कायमै राखेको छ ।
लिग २ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।



प्रतिकृया दिनुहोस्