सभापति कप फुटबल : सहिद गेटमा सभापति कपको ट्रफी अनावरण

काठमाडौं । राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत ट्रफी अनावरण गरिएको छ। सभापति कपको ट्रफी अनावरण निर्देशन समितिका संयोजक एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतले गरेका हुन् ।
नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा सहिद दिवसको अवसर पारेर उक्त कार्यक्रममा विभिन्न खेलकुद तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आयोजक टोलीका पदाधिकारी प्रशिक्षक तथा खेल प्रेमीहरूको उल्लेख्य उपस्थिति थियो। महाधिवेशन निर्देशन समितिका पदाधिकारीहरूले सहिद दिवसको सन्दर्भमा राष्ट्रका लागि बलिदान दिने सहिदहरूको सम्झनामा सहिद गेटबाट ट्रफी अनावरण गर्न उचित लागेको बताएका थिए।
माघ १० गतेदेखि सुरु भएको सभापति कप फुटबल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ। सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको फाइनल खेलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश -बागमती_ आमनेसामने हुने छन्।
सभापति कप फुटबल प्रतियोगिता सबैभन्दा ठूलो पुरस्कार राशि भएको नकआउट फुटबल प्रतियोगिता हो।
यस प्रतियोगितामा विभिन्न ‘ए’ डिभिजन क्लबहरू सहित उत्कृष्ट खेलाडीहरूको सहभागिता रहँदै आएको छ। यस संस्करणमा पनि प्रतिष्ठित टिमहरू बिच कडा प्रतिस्पर्धा देखिएको छ।




प्रतिकृया दिनुहोस्