July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

भारतले इङ्ल्यान्डलाई दियो जितका लागि १७२ रनको चुनौती

काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई जितका लागि १७२ रनको लक्ष्य दिएको छ । गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको हो ।

भारतका कप्तान तथा ओपनर ब्याटर रोहितले ५७ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । जारी विश्वकपमा रोहितको यो तेस्रो अर्धशतक हो । उनले यसअघि सुपर–८ को अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध ९२ रन बनाएका थिए ।

इंग्ल्यान्डविरुद्ध भारत ४०–२ को अवस्थामा हुँदा रोहितले तेस्रो विकेटका लागि सूर्यकुमार यादवसँग ७३ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए । अर्धशतक बनाउन तीन रनले चुकेका सूर्यले ३६ बलमा चार चौका र दुई छक्कासहित ४७ रन थपे ।

यसबाहेक, हार्दिक पन्ड्याले २३ र रविन्द्र जडेजाले १७ रन जोडे । भारतका अर्का ओपनर विराट कोहली भने आज पनि चल्न सकेनन् । नौ बलमा नौ रन बनाएर आउट हुनुअघि विराटले एउटामात्र छक्का प्रहार गरे । यसअघि सुपर–८ को अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पनि विराट ‘डक’ भएका थिए ।

इंग्ल्यान्डविरुद्ध भारतका शिवम दुवे ‘गोल्डेन डक’ भए । ऋषब पन्तले चार रन थप्दा अक्षर पटेलले १० रन थपे । अर्शदीप सिंह एक रनमा अविजित रहे ।

इंग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले समान एक विकेट हात पारे ।

वर्षाले प्रभावित बनेको खेल निर्धारित समयभन्दा करिब एक घण्टापछि सुरु भएको थियो । त्यसपछि पनि भारतले आठ ओभरमा ६५ रन बनाउँदा पानी परेपछि खेल पुनः डेढ घण्टा रोकिएको थियो ।

प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रुपमा सेमिफाइनल आएका हुन् ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।