July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

आइसिसी टी-२० विश्वकप : समूह चरणको एक खेल बाँकी छँदै भारत र वेस्ट इण्डिज अन्तिम आठमा

काठमाडौँ । भारत र वेस्ट इण्डिज आइसिसी टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छन्।हिजो साझ र आज विहान भएको खेलमा न्युजिल्याण्डलाई वेस्ट इण्डिजले र अमेरिकालाई भारतले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।

बिहीबार बिहान न्युजिल्याण्डलाई पराजित गर्दै समूह चरणको एक खेल बाँकी छँदै वेस्ट इण्डिजले आफ्नो विजयी यात्रा जारी राख्दै सुपर ८ मा स्थान पक्का परेको हो । न्युजिल्यान्डको भने अर्को चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

वेस्ट इण्डिजले लगातार तेस्रो जित निकाल्ने क्रममा न्युजिल्याण्ड १३ रनले पराजित भयो। वेस्ट इण्डिजले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो।

त्यस क्रममा ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए। उनले ३३ बलमा ३ चौका र २ छक्का हाने। मिचेल सान्टनर १२ बलमा ३ छक्का प्रहार गरी २१ रन बनाएर नट आउट रहे। अन्य ब्याटरले सन्तोषपूर्ण प्रदर्शन गर्न सकेनन्।

कप्तान केन विलियमसन १ रनमै आउट हुँदा ओपनर डेभन कनवे ५ रनमा, ट्रेन्ट बोल्ट ७ रनमा, रचिन रविन्द्र १० रनमा, ड्यारिल मिचेल १२ रनमा, जेम्स निशम १० रनमा आउट भए।

ओपनर फिन एलेनले २३ बलमा ३ चौका र १ छक्का हानेर २६ रन जोडे। बलिङतर्फ अल्जारी जोशेफले ४, गुणकेश मोतीले ३ तथा अकिल हुसेन र आन्द्रे रसेलले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले ९ विकेट गुमाएर १४९ रन बनाएको हो। त्यस क्रममा सर्फेन रथफोर्ड ६८ रन बनाएर नट आउट रहे। उनले ३९ बलमा २ चौका र ६ छक्का प्रहार गरे।

अन्य ब्याटरहरू सस्तोमै आउट भएका थिए। ब्रान्डन किङ ९ रनमा, जोनसन चार्ल्स र रोस्टन चेस शून्यमा, अल्जारी जोशेफ ६ रनमा र कप्तान रोवमन पवेल एक रनमा आउट भए।

निकोलस पुरनले १२ बलमा ३ चौका हानेर १७ रन बनाए। अकिल होसेनले १५, आन्द्रे रसेलले १४ र रोमारियो शेफर्डले १३ रन जोडे।

बलिङतर्फ ट्रेन्ट बोल्टले ३, टिम साउथी र लोकी फर्गुशनले २/२ तथा जेम्स निशम र मिचेल सान्टनरले १/१ विकेट लिए।

समूह ‘बी’मा ६ अंकसहित शीर्षस्थानमा उक्लिएको वेस्ट इण्डिजले अब अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ। अफगानिस्तान ४ अंकसहित दोस्रो स्थानमा छ। उसले अब वेस्ट इण्डिज र पपुवा न्युगिनीसँग खेल्नेछ।

न्युजिल्याण्डले अब युगान्डा र पपुवा न्युगिनीसँग खेल्न बाँकी छ। पहिलो खेल अफगानिस्तानसँग हारेको न्युजिल्याण्ड अंकबिहीन हुँदै पुछारमा छ। वेस्ट इण्डिजबाहेकका टिमको खेलबाट अन्तिम आठमा जाने अर्को टिमको टुंगो लाग्नेछ।

त्यसैगरी गएराति आयोजक अमेरिकालाई पराजित गर्दै भारतले समूह चरणको अन्तिम खेल बाँकी छँदै अन्तिम आठमा स्थान पक्का गरेको छ।समूह चरणमा लगातार तेस्रो खेल जित्ने क्रमम बुधबार राति भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो।

न्युयोर्कमा घरेलु टिमले दिएको १११ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर १८.२ ओभरमा पार गर्‍यो। भारतका लागि सूर्यकुमार यादवले अर्धशतक प्रहार गरे। उनी ४९ बलमा २ चौका र २ छक्का प्रहार गरी ५० रन बनाउँदै नट आउट रहे।

शिबम दुबे पनि ३५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडेर नट आउट रहे। त्यसअघि रिशभ पन्तले २० बलमा १ चौका र १ छक्का प्रहार गरी १८ रनको योगदान गरे।

ओपनर विराट कोहली पहिलो बलमै आउट भएका थिए भने कप्तानसमेत रहेका अर्का ओपनर रोहित शर्मा ६ बल खेलेर ३ रन बनाउँदै आउट हुन पुगेका थिए।

बलिङतर्फ अमेरिकाका शौरभ नेत्रवल्करले २ तथा अली खानले १ विकेट लिए। पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएर ११० रनको योगफल तयार गरेको थियो।

त्यस क्रममा नितिश कुमारले २४ बल खेलेर २ चौका र १ छक्का प्रहार गरी बनाएको २७ रन सर्वाधिक रह्यो। ओपनर स्टेभेन टेलरले ३० बलमा २ छक्का प्रहार गरी २५ रन बनाए।

कोरे एन्डरसनले १५, कप्तान आरोन जोन्सले ११, हर्मित सिंहले १० रन जोडे। बलिङतर्फ भारतका अर्शदीप सिंहले चार विकेट लिए। हार्दिक पाण्ड्याले २ तथा अक्षर पटेलले १ विकेट लिए।

भारतले अन्तिम आठमा स्थान पक्का गर्दा अमेरिका ३ खेल खेल्दै ४ अंक जोडेर समूहको दोस्रो स्थानमा  छ।

शीर्ष दुईमा रहने टोली अन्तिम आठमा प्रवेश गर्नेछन्। पाकिस्तान र क्यानडा २ खेलमा पराजित हुँदै २/२ अंकका साथ तेस्रो र चौथो स्थानमा छ। २ खेल मात्रै खेलेको आयरल्याण्ड अंकबिहीन हुँदै पुछारमा छ।

भारतले अन्तिम खेल क्यानडासँग, अमेरिकाले आयरल्याण्डसँग र पाकिस्तानले पनि आयरल्याण्डसँग खेल्नेछ। अन्तिम आठमा पुग्ने अर्को टिमको निर्धारण बाँकी खेलबाट हुनेछ।