April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब : संसदबाट पारित बजेट मन्त्रालयले कटौती गर्न सक्दैन- अर्थमन्त्री

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सिलिङ १८ खर्ब रुपैयाँ तोकिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी वर्ष यो सीमाभित्र रहेर बजेट आउने जानकारी गराएका हुन्।

शुक्रबार मन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको बताए । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले बजेट सिलिङ निर्धारण गरेको हो। पत्रकार सम्मेलनमा मन्त्री महतले चालू आर्थिक वर्षको बजेट कटौती नभएको बताए। उनले संसदले पारित गरेको बजेट अर्थमन्त्रालयले कटौती गर्न नसक्ने भन्दै बजेट कटौती नभएको प्रष्ट पारे।

यसअघि डा. महतले अर्धवार्षिक समीक्षामार्फत चालू बजेट १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका थिए । अर्थमन्त्री डा.महतले खर्चको आकार घटाउने सवालमा प्रधानमनत्रीसँगको समन्वयमै भएको जिकिर गरे । 

‘बजेटको विषयमा सिस्टम भित्र घनिभूत छलफल हुन्छ । प्रधानमन्त्रीसँग, अर्थमन्त्रालयभित्र स्वच्छ वृहत् छलफल हुन्छ । प्रधानमन्त्री आफ्नो विचार राख्नुहुन्छ र हामीले पनि आफ्नो भनाइहरू राख्छौँ । यसै बजेटको सिलिङ वा आकार घटाउने भन्ने हुँदैन’ अर्थमन्त्रीले महतले भने, ‘अहिले बजेट खर्चको अनुमान घटाउँदा प्रधानमन्त्रीसँग वृहत् छलफल भएको छ । विषयलाई अतिरञ्जित गरिदिनु भएन ।’ 

बजेट कार्यान्वयनका सवालमा राष्ट्रिय योजना आयोगले दिएको सुझावलाई समेत अर्थ मन्त्रालयले विशेष अध्ययन र मनन् गर्ने गरेको अर्थमन्त्री महतले बताए । उनले बजेट कटौती नगरेको पनि बताए । ‘बजेट कटौती गरेको होइन, जति बढी खर्च गर्न कोसिस गर्छौँ र राजश्व पनि त्यति नै उठाउने प्रयास गर्छौ’, महतले भने, ‘संसदले पारित गरेको विषय हामीले कटाउन सक्दैनौँ ।’

चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको अर्थमन्त्रीले बताएका थिए ।