July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

नेपालमा पहिलो पटक ‘देउडा आइडल’ को आयोजना हुँदै

धनगढी । नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले ‘देउडा आइडल’ को आयोजना हुने लागेको हो ।

देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुन लागेको जानकारी दिएको हो । मिडिया पार्टनरको रुपमा रहेको टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले भने, ‘यो कार्यक्रम ४/५ वर्षको प्रयास पछि हुन गइरहेको छ। यो कार्यक्रम एकदम सफल हुन्छ भनेर मैले पूर्ण विश्वास लिएको छु।’

देउडा सांस्कृतिक मञ्चले सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन देउडा आइडलको आयोजना गर्न लागेको हो । उनले भने ‘यो पहिलो कार्यक्रमले सुदूरपश्चिमको भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरुलाई सो कार्यक्रममा सहभागी गराइनेछ। कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रुपमा चयन गरिएको छ।

कार्यक्रम काठमाण्डौँमा हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत् सार्वजनिक हुने बताईएको छ ।